महिला खबर
पर्सा । दाईजोमा जग्गा नदिएको निहुमा विवाह गर्न नमानेका बेहुलाका बुवालाई बुधवार जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
पर्साको लखनपुरका बेहुलीका पिता मथुरा साह कानुले दिएको निवेदनका आधारमा प्रहरीले पर्साको महुवनका गणेश साहलाई पक्राउ गरेको हो ।
दाइजोमा जग्गा नदिएको भन्दै बेहुला हरिशंकर साहका बुबा गणेश साहले वैशाख १७ का लागि तय गरिएको विवाह गर्न नमानेको भन्दै बेहुलीका पिता मथुरा साहले दिएको उजुरीको आधारमा बेहुलाका पितालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जनाकारी दिनुभयो ।
उहाँले दाइजो लिनु र दिनु दुवै अपराध रहेकाले दाइजोकै निहुमा विवाह गर्न नमानेका गणेश साहमाथि सामाजिक व्यवहार सुधार ऐनअन्तर्गत मुद्दा चलाउने बताउनुभयो ।
बेहुला हरिशङकर भने फरार रहेको र उनको खोजी भइरहेको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । बेहुलीका बुबा मथुरा साहले दाइजोवापतको ५० हजार रुपैयाँ बेहुला पक्षलाई पहिले नै दिएको र दिन वचन दिएको तीन कठ्ठा जग्गा बैंकमा धितो भएका कारण समयमा दिन नसकेपछि विवाह भाँडिएको थियो ।
Comment Here!