सर्मिला बुढाथोकी
दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित चरिघ्याङमा सडक विस्तार गर्नका लागि नाला खन्दै गर्दा भेटिएकी दोलखा पवटीकी सावित्रा बुढाथोकीले चरिकोटमा बसेर मजदुरी गर्न लागेको ३ वर्ष भयो । सावित्रासँगै उनका श्रीमान् रामकृष्ण बुढाथोकी पनि एउटै काम गर्छन् । एकै प्रकृतिको कामको लागि एउटै समयमा आएर सँगै काम गर्ने उनीहरू दुईले पाउने पारिश्रमिक भने फरक छ ।
काम उस्तै भएपनि पुरुषलाई दिने ज्याला र महिलालाई दिने ज्यालादरमा भिन्नता छ । सावित्रा भन्छिन् –‘गाँउदेखि सहरसम्म पुरुष र महिलालाई दिईने ज्यालादरमा विभेद छ । खै हामीले पनि पुरुषले भन्दा कम काम गरेको जस्तो त लाग्दैन, तर ज्याला मा विभेद छ ।’
८ वर्षदेखि मजदुरी गर्दै आएका ओखलढुङगाका मानबहादुर कार्की महिला र पुरुषलाई समान ज्याला दिनुपर्ने बताउँछन् । ‘हामी सँगसँगै काम गछौर्, आउने जाने समय र कामको प्रकृति पनि उस्तै हो, काम बराबर भएपछि दामपनि बराबर हुनुपर्ने हो, तर यो प्रचनल लागु हुन सकेन,’ कार्की भन्छन् ।
दैनिक ४० रुपैयाँदेखि मजदुरी गर्न शुरु गरेकी जफेकी सुमित्रा पोखेरलको अनुभवमा खेतवारीमा काम गर्दा पनि महिलालाई ४० रुपैयाँ दिँदा पुरुषलाई ७० रुपैयाँ दिने गरिन्थ्यो । खन्ने कामै गरेपनि महिलालाई ज्याला कम नै हुने गथ्र्यो । महिला अधिकारको कुरा निक्कै उठिरहेको र समय पनि फेरिएको अहिलेको अवस्थामा समेत बरावर ज्याला हुन नसेकोमा सुमित्राले गुनासो गरिन् ।
सरकारले भने लिङ्गको आधारमा ज्यालामा विभेद गरेको छैन । हरेक जिल्लामा ज्याला दर निर्धारणका लागि जिल्ला दर रेट निर्धारण समिति रहने र त्यसले आर्थिक वर्षको सुरुवातमा एक वर्षको लागि ज्याला दर निर्धारण गर्ने जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर नारायण शिवाकोटी बताउँछन् । प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिको सदस्य सचिवमा जिल्ला प्राविधिक कार्यालयको प्रमुख रहने व्यवस्था छ । दोलखा जिल्लामा समितिले यो वर्षको लागि दक्ष कामदारको दैनिक ६ सय ४० र अदक्ष कामदारको ४ सय ५५ रुपैयाँ ज्याला निर्धारण गरेको इन्जिनियर शिवाकोटीले बताए ।
Comment Here!