महिला खबर
म्याग्दी । नवदम्पतीलाई परिवार नियोजनका साधनका बारेमा परामर्श दिन म्याग्दीमा घरदैलो अभियान सुरु भएको छ । अनिच्छित गर्भ रहनबाट बचाउन परिवार नियोजन सञ्चार अभियानले घरदैलो अभियान सुरु गरेको हो ।
अनिच्छित गर्भाधान हुनबाट रोक्न, जन्मान्तर कायम राख्न, २० वर्षअघि बच्चा जन्माउने दरमा कमी ल्याउन र गर्भपतन गराउनुपर्ने अवस्था आउन नदिन परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि गर्ने उद्देश्यले नवदम्पतीलाई परामर्श दिन थालिएको उक्त अभियानले जनाएको छ ।
बेनी नगरपालिकाको सबै वडालगायत ९ वटा गाविसका नवविवाहित दम्पतीलाई महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी र स्थानीय सहजकर्ताले परामर्श दिन थालेका छन् ।
नवदम्पतीलाई उनीहरूको घरमै पुगेर अस्थायी र स्थायी परिवार नियोजनका साधनको फाइदा, प्रयोग गर्नुपर्ने कारण, जन्मान्तरलगायतका विषयमा जानकारी गराउने गरिएको छ । यसका साथै गाविसभरका नवदम्पतीलाई भेला गराएर स्वास्थ्यकर्मीमार्फत परामर्श, जानकारीमूलक सन्देश र परिवार नियोजनका साधन उपहार दिने गरिएको छ ।
नवविवाहित दम्पती, २९ वर्षसम्मका विवाहित जोडी, सिमान्तकृत समुदाय र आप्रवासी तथा उनीहरूका परिवारलाई लक्षित गरेर सञ्चालित अभियानले परिवार नियोजनको अस्थायी र स्थायी साधनको प्रयोगमा वृद्धि गराई गर्भपतन गराउने दरमा कमी ल्याउने उद्देश्य राखेको छ ।
म्याग्दीमा गर्भपतन गराउने दर अस्वाभाविक रुपमा बढेकाले त्यसलाई नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधारीले बताउनुभयो । गत आर्थिक वर्षमा म्याग्दीमा ९३५ जनाले गर्भपतन गराएको तथ्याङ्क छ ।
Comment Here!