महिलालाई टुक्कासँग नजोडौँ


प्रकाशित मिति :2016-05-22 14:28:04

हेन्सेन याख्या

Capture ‘महिलाले बच्चा जन्माएपछि गति छाडछन् । , उनीहरुको बच्चा अलि हुर्किएपछि फेरि वैंश आउँछ ।’ पुरुषले भनेको सुन्थे । मलाई किन यसो भन्छन भन्ने लाग्थ्यो, उतिबेला । यसको अर्थ आफै आमा भएपछि थाह भो । भनाईको अर्थ गहिरो रैछ लाग्छ आजभोली । पुरुषको असहयोगी भावनाका कारण यस्तो भएको हो । बच्चा जन्माएपछि हुर्काउने जिम्मेवारी महिलाको मात्रै हो भन्ने पुरुषको सोँचाईको उपज हो यो । घरको सम्पुर्ण काम महिलाको हो भनेर लडेको लोटा उठाउँदैनन् घरका पुरुष । भनाईको अर्थ भित्र महिलाको विवशता लुकेको छ ।

हरेक नारी त्यतिबेला मात्र आफूलाई पूर्ण ठान्छे जब आफू आमा बन्छे । म आफै  पनि बच्चाको आमा भएँ । आफूलाई पूर्ण बनेको अनुभूत त भयो नै सँगसँगै डुबानमा परेको अनुभूत भयो । मलाई लाग्छ अधिकांश महिलाहरुको लागि यो समय जीवनको खुशीको क्षण भएपनि संघर्षको पनि समय हो । आमा भएसँगै सम्हाल्नै गाह्रो हुने गरी आईलाग्ने जिम्मेवारी । न समयमा सुत्न पाउनु, न खान , न त हिँड्न नै । अस्तव्यस्त जीवन शैली । दिमागमा एउटै कुरा आउँछ । बच्चा कति बेला सुत्छ र यसो गरुँ , उसो गरुँ … । अझ जागिरे महिला हुनु र तिनको सहयोगी हात नहोस् … कल्पना पनि गर्न चाहन्न म त्यस्तो परिस्थितिको ।

बच्चा सानो हुँदा एउटी आमाको लागि संवेदनशिल समय हुन्छ । शारीरिक तथा मानसिक दुबै किसिमले । म आफू स्वयं पनि कामकाजी महिला भएको हुँदा म पनि शारीरिक तथा मानसिक दुबै किसिमले पिडित बन्नु परेको ती दिनहरुलाई सम्झन्छु बेलाबेला । सहयोगी हातको खाँचो परेको थियो ।  आफन्तहरुको आ–आफ्नै व्यस्तता । सहयोग माग्ने कुरै भएन । जहाँ समस्या त्यहाँ उपाय हुन्छ भनेको हो रहेछ । सौभाग्यवस नातामा कोही नपरेता पनि एकजना बहिनीको साथ पाएँ । ती बहिनी संग आजीवन ऋणी छु । तिनै बहिनीको विश्वास र भरोसामा नानी उनको साथ छोडेर अफिस त जान्थें । काम गरिरहँदा बच्चाको यादले घर आउन मन लाग्थ्यो । घर आयो अफिसको कामको याद हुन्थ्यो । बिहान भएपछि बच्चा कै हेरविचार खाना गर्दै अफिस जाने समय हुन्थ्यो । अफिसबाट थाकेर घर आइपुग्यो फेरि घरको काम , नानीको हेरविचार । आफूले बच्चालाई समय दिन नसकेपछि सहयोगी बहिनीको जिम्मा लगाएर हिँड्थे । जसले विवाह नै गरेकी थिइनन् ।

नानीलाई समयमा सुताउन, खुवाउन नसकेर दुवैको बिजोग । समय नमिलेपछि नानीले रातभरि सुत्न नदिने । बिहान जबरजस्ति उठेर घरको व्यवस्थापन गर्नुपर्ने । उही दैनिकी । आफ्नो लागि समय नहुने । दैनिक प्रयोग गर्ने सौन्दर्य सामाग्रीहरु सकिएको सम्म पत्तो नहुने । प्रयोग गर्ने बेलामा मात्र सकिएको थाह हुने । किन्न समय नहुने । बच्चा नहुर्किन्जेल कस्मेटिक प्रयोग गरिन ।  न कतै साथी समूहमा सामेल हुन नै पाएँ । अफिस गयो । नानी सम्हाल्यो त्यति । केही ब्यवहारिक कामको सिलसिलामा घर बाहिर निस्कदा पनि नानी सम्झेर घर फर्किन हतार । नानी नानी भन्दा भन्दै गयो जिन्दगानी भन्ने उख्खान संम्झिन्थे कहिलेकाहीँ । ‘बच्चा पाएपछि महिलाले गति छाड्छन्’ भन्ने भनाइको अर्थ बुझेँ । बास्तवमा गति छोड्छन् भन्ने शव्दले साह्रै अनर्थ बोकेको छ । यो भनाईमा । आमाले आफुलाई भन्दा सन्तानलाई महत्व दिनुको उपज हो यो ।

समय फेरि फर्केर आउँदो रहेछ । हरेक कुराको समय हुँदो रहेछ । ब्यवस्थित बनाउन सकिँदो रहेछ । बच्चा स्कुल जान थालेपछि समय व्यवस्थापन गर्न सजिलो अनुभव गरेँ । बच्चा हुर्कदै गएपछि आफ्नो लागि आफै गर्ने भएपछि फेरि आफुलाई स्वतन्त्र महशुस गरेँ । एउटी महिला आमा भएर पनि धेरै काम गर्न सक्छ । आजभोली उमेरले अलि फड्को मारेकोले होला ‘फरिया राम्रो हो की जोवन राम्रो हो… फरिया राम्रो कैसे हुन्थ्यो जोवन राम्रो हो… ।’ भन्ने गीतको भाव अर्थपूर्ण लागीरहेको छ ।

जोवन राम्रो बनाउनका लागि फरिया राम्रो लगाउन मन लाग्दो रहेछ । उमेरमा जो कोही सुन्दर हुन्छन् । उमेर बढ्दै जाँदा बाह्य सुन्दरता घट्दै जान्छ । यो स्वभाविक पनि हो । तर आफ्नो सुन्दरता कायम राख्न जोकोहीले चाहान्छन् । मलाई त्यस्तै लाग्छ । स्वास्थ्यकर हुन बढ्दो उमेरसँगै खानपान प्रति ध्यान पुर्‍याउनुपर्छ । सचेत हुनुपर्छ । महिला सचेत हुन्छन् । आफ्नो लागि मात्र नभएर परिवार कै लागि । महिला सचेत हुदाँ पनि फेरि नक्कल पारेको आरोप लाउँछन् तीनै जो ‘बच्चा पाएपछि गति छाड्छन्’ भन्ने पुरुष नै ।

महिला बच्चा हुर्किएपछि स्वतन्त्र हुने भएकैले सामाजिक कृयाकलापमा सकृय सहभागी हुन्छन् । हाम्रो समाजमा महिलालाई बुझ्ने प्रयास नगरी जथाभावी टुक्का जोडेर निरुत्साहित बनाउन खोजिन्छ । महिला अलि बढी सकृय हुन थाले ‘बच्चा हुर्किएपछि यीनीहरुको बैंश आउँछ ।’ भनेर उडाउँछन् । हाम्रो समाजमा महिलालाई निरुत्साहित गर्ने यस्ता अनगिन्ती भनाई, टुक्काहरु छन् । तर अब मानिसको मानसिकता विस्तारै परिवर्तन हुँदै गएकाले यस्ता भनाईलाई मनन गरेर बस्ने महिला कमै छन् । हरेक नारी शारीरिक तथा मानसिक रुपमा पुरुष समान हुन्छन् । बच्चा हुर्काएर बसेको नारीलाई रचनात्मक कार्यमा संलग्न गराउन परिवारका सदस्यहरुले प्रेरणा दिई नारीको वैंश आएको समय नभइ केही गर्न सक्ने उर्जाशील समयको रुपमा स्थापित गर्न मद्वत गर्नु आवश्यक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: