दुर्गा देवकोटा
कैलाली। नवजीवन एकता समाज टीकापुरले एचआइभी संक्रमितका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । समाजले संक्रमितका बालबालिकाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीलाई आवश्यक पर्ने झोला, कापी, किताव, जमेट्री बक्स, टिफीन बक्स लगायतका सामग्री वितरण गरेको हो ।
समाजले जिल्ला विकास समिति कैलालीको सहयोगमा विपन्न परिवार छनौट गरेर ३० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीले स्थानीय निकायले संक्रमित र संक्रमितका बालबालिकाको स्वास्थ्य, शिक्षामा लगानी गर्न सकेमा उनीहरु समाजमा दरिलो भएर आउन सक्ने बताउनुभयो । उहांले भन्नुभयो–‘एचआइभी संक्रमित बालबालिका धेरैको अभिभावक छैनन् । अधिकांश बुवा गुमाएका छन् । त्यसकारण पनि उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले सहयोग आवश्यक छ ।’ अध्यक्ष भण्डारीले संक्रमितका बालबालिकाको उपचारमा पनि त्यत्तिकै समस्या भएकोले स्वास्थ्य संस्थाले उपचारमा रगत जस्ता अत्यावश्यक कुरामा सहुलीयत दिन सके उनीहरुलाई ठूलो राहत हुने बताउंदै भन्नुभयो–‘संक्रमित र उनीहरुका बालबालिकालाई सबैले सहयोग गरौं ।’
कार्यक्रममा टीकापुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख देवीप्रसाद आचार्यले संक्रमित र उनीहरुका बालबालिकाको सहयोगका लागि टीकापुर नगरपालिकाले रेडक्रससंग समन्वय गरेर उपचार कोष खडा गरिदिएको जानकारी दिनुभयो । उहांले उपचार कोषमा करिव दुई लाख रुपैया जम्मा भइसकेको बताउंदै त्यो रकमको ब्याजबाट उठेको रकम उपचारमा खर्च गरिने बताउनुभयो । आचार्यले भन्नुभयो–‘उपचार कोषमा नगरपालिकाले बर्षेनी रकम थप गर्नेछ । त्यसलाई १० लाखसम्म पुर्याउने योजना छ ।’ आचार्यले संक्रमितका बालबालिकालाई उपलब्ध गराइएको शैक्षिक सामग्रीको सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।
नवजीवन एकता समाज संक्रमितहरुको संगठित संस्था हो । यसले संक्रमितका समस्या, संक्रमितको अधिकार, उपचार, उनीहरुका बालबालिकाको शैक्षिक विकासका क्षेत्रमा काम गर्दै आएको छ । समाजले संक्रमितका बालबालिकाको शैक्षिक विकासका लागि टीकापुरका तीन वटा होटलमा दान पेटिका समेत राखेको छ । जसबाट उठेको रकम बालबालिकाको शिक्षामा खर्च गर्ने गरेको छ । समाजले संक्रमितका बालबालिकालाई विद्यालयले निशुल्क शिक्षा दिनुपर्ने माग गर्दै आएको छ ।
Comment Here!