रमला सिंगक
सुनसरी। राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीमा कार्यरत कर्मचारी विरेन्द्रकुमार उरावले नरसिङ घर भएकी एक युवतीलाई शुक्रबार अपहरण गरेको आरोपमा उजुरी परेको छ । सिराहामा रहेको आफन्तको घरमा बस्दै आएकी युवतीलाई उरावले घरबाट बाहिर आएको मौका छोपेर अपहरण गरेको पिडितका परिवारको दावि छ ।
आगामी असार १३ गते विवाहको मिति तय भएर विवाहको तयारीमा लागिरहेको अवस्थामा नरसिंह– ९ बस्ने सञ्जय साहको सहयोगमा उरावले युवतीलाई अपहरण गरेको परिवारले जनाएको छ । युवतीले शुक्रबार १२ बजेर ९ मिनेटमा उनका मंगेतरलाई ‘मलाई बचाउनुस्’ भनेर फोन गरे लगत्तै युवतीको मोवाइल अफ भएको थियो । उराव र साहकै मिलेमतोमा अढाइ बर्ष अगाडि युवतीका दाजु रुपेशको अपहरण भएको थियो ।
हालसम्म पनि रुपेशको अवस्था परिवारले जान्न सकेको छैन । सो घटनाको मुद्धा अहिले पनि अदालतमा छ । उनीहरुले युवतीको परिवारलाई मानसिक यातना दिने र सम्पत्ती कब्जा गर्ने नियतले युवतीको अपहरण गरेको परिवारको दावी छ । परिवारले उराव र साहलाई खोजि, कारवाही गर्न र युवतीलाई खोजि गरेर ल्याइदिन भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार उजुरी दिएका छन् ।
Comment Here!