रमला सिंगक
ताप्लेजुुङ। जिल्ला स्थित हाङपाङ गाविसकी एक महिलाले १३ वर्ष पछि न्याय पाएकी छिन् । २०५९ सालमा एकाएक बेपत्ता भएका उनका श्रीमान दिलवहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेपछि कल्पना रसाईलीले श्रीमतीको दर्जा पाएकी छिन् भने उनका छोरा युवराज आङ्बुहाङ लिम्बूले आफ्नो बुबा पाएका हुन् । युवराजले १३ वर्षपछि जन्मदर्ताको प्रमाणपत्र समेत पाएका छन् ।
कल्पनालाई गर्भवती बनाएर बेपत्ता वनेका लिम्बू अर्की श्रीमतीवाट जन्मिएका दुई छोरीको जन्मदर्ता गर्न ताप्लेजुङ आएको समयमा पक्राउ परेका थिए । उनी २०५९ साउनमा वेपत्ता भएकोे एक महिना भित्र रसाईलीले छोरा जन्माएकी थिईन् । दलितको छोरीलाई श्रीमती स्वीकार गर्दा समाजमा अपमानित साथै बहिष्कृत हुने डरले दिलबहादुर भागेकाले १३ बर्ष सम्म रसाईली र उनको छोराले समाजले गर्ने विभिन्न हिंसा र बारम्बार लगाउने लाञ्छना सहदै आएको कल्पनाले बताईन् ।

कल्पना रसाईली छोरा युवराजका साथ १३ वर्षपछि दिलबहादुर आङ्बुहाङका साथमा
लुकीछिपी छोरीहरुको जन्मदर्ता गर्न जिल्ला आएको थाहा पाएपछि लिम्बूकी जेठी श्रीमती कल्पना र उनका माइती पक्षले प्रहरी साथै अदालतमा खबर गरेपछि उनी पक्राउ परेका थिए । पक्राउ परेका लिम्बू उपर जेठी श्रीमती कल्पना रसाईलीले दुई वर्षअघि जिल्ला अदालत ताप्लेजुङमा अंश मुद्दा दायर गरेकी थिइन ।
मुद्दाको प्रतिवादी फेला परेपछि जिल्ला अदालतले दुवै पक्षलाई मेलमिलापमा सहजीकरण गर्न भन्दै जिल्लास्थित सामाजिक कानुनी सहायता केन्द्रलाई जिम्मा दिएको थियो ।
सहायता केन्द्रले दुवै पक्षसँग छलफल गरी उनीहरुबीच सहमति जुटाएको छ । केन्द्रको पहलमा भएको छलफलपछि दुई पक्षबीच सहमति गरेर नाता प्रमाणित, बिबाह दर्ता र जन्मदर्ता गर्ने कार्य भएको अधिवक्ता राम नेयोङले वताए ।
Comment Here!