व्यवसाय रोज्दै महिला


प्रकाशित मिति :2016-05-24 15:17:39

निरज सापकोटा
रामेछाप– ‘पहिला श्रीमान् केही काम नगर्ने म पनि घरमै बस्ने अनि दिन झगडा गरेरै बित्थ्यो ।’ झगडा नगरेर शान्त भए टिभी हेरेर समय वित्थ्यो रमा भण्डारीको । सधै यसरी जीवन चलाउन नसक्ने भएपछि उनले मासु पसल गर्ने विचार गरीन । उनले ऋण काढेर मदन आश्रित चोकमा मासु पसल सुरु गरिन । ‘अहिले राम्रै भएको छ ।’ उनले खुशि हुँदै भनिन ।

पसल थाले पछि उनको जीवनले अर्कै मोड लिएको छ । पहिला काम नभएका श्रीमान/ श्रीमतीलाई अहिले कामले भ्याई नभ्याई छ । ‘काम नभएपछि झगडा हुने त रहेछ नि । काम भए पछि कताको झगडा गर्ने फुर्सद हुनु’ उनले भनिन् ।

Exif_JPEG_420

महिलाले मारकाट गरेको हेर्न पनि हुँदैन भन्ने मान्यता बोकेको समाजमा महिलाहरुले पनि मासु पसल राखि मासु काट्ने र बेच्ने काम गरी मनग्गे आम्दानी गर्न थालेका छन् ।  रामेछापको सदरमुकाम मन्थलीमा मासु पसलको संख्या बढेसँगै महिला व्यवसायी पनि थपिएका छन् । व्यवसाय गर्न थाले पछि महिलाहरुको जीन्दगीको बाटो फेरिएको छ ।

‘सुरु सुरुमा मासु काट्ने काम अप्ठेरो लाग्थ्यो, पुरुषहरुले गर्ने काम महिलाले गर्न लागीछे भन्छन् की भन्ने पनि लाग्थ्यो । भनेको ठाउँमा हात पर्दैनथ्यो, काम गर्दा हात र छाती दुख्ने समस्या पनि भयो तर अहिले त दुख्दैन, बानी परिसकें’– उनले अगाडी थपिन् । नर्सरीमा पढ्ने छोरो फुल्याउँदै मासु काट्दै ग्राहकको चित्त बुझाउन तल्लिन उनले भनिन् – ‘आखिर जे पर्यो त्यही गर्ने भइएको छ ।’

अरुले जे भने पनि आफूले राम्रै काम गरेको जस्तो लाग्छ उनलाई । छोरालाई  नीजि विद्यालयमा पढाएकी छिन् । यति मात्र होइन घरका सासू ससुरा बिरामी पर्दा पनि केही भरथेग पनि यही पेसाबाट भएको छ ।

उनको यस काममा पतिले पनि सघाएका छन् । उनका पति रमेशले जिउँदो कुखुरा ल्याउन र काट्न सहयोग गरेको उनले बताइन । श्रीमानको एउटा हात छैन तर पनि उहाँले सहयोग गर्नभएको छ । ‘कुखुरा काट्न र जिउँदो कुखुरा ल्याउन सहयोग गर्नुहुन्छ । उनको महिनामा १५ देखि २० हजार सम्म आम्दानी हुन्छ ।

मन्थली बजारमा उनी एक जना मात्र एक्लो महिला मासु व्यवसायी भने होइनन् । देवकोटा चोकमा मासु पसल गर्ने आर.एस. कोल्ड स्टोरकी प्रोपाईटर ३० वर्षीया लक्ष्मी श्रेष्ठले ३ वर्ष होटल व्यवसाय गरिन् । अहिले २ वर्षदेखि मासु पसल गर्दै आएकी छिन् । तपाईंलाई यो पेशा किन मनप¥यो त भन्ने प्रश्न गरेपछि उनले आफ्नो विगत कोट्याइन् । भनिन् ‘पहिला होटल गर्दा रात अबेरसम्म पनि भाँडा माझ्नुपर्ने, अबेलासम्म ग्राहकका लागि बसिदिनुपर्ने, होटलमा आउने सेवाग्राहीको नानाथरी कुरा सुन्नुपर्ने, राम्रो नराम्रो सबै झेल्नपर्ने, अझ बेलुका अबेरसम्म बस्ने ग्राहकले प्रयोग गर्ने शब्द त सह्य नै हुँदैनथे । तर अहिले यस पेशामा लागेपछि त्यो अवस्थाबाट मुक्ती मिलेको छ ।’

उनले अहिले बाहिरबाट कुखुरा ल्याएर मासु बेच्ने गरेको बताइन् । श्रीमान् जिउँदो कुखुरा काटेर तयार पारिदिएपछि उनी मासु काटेर बेच्छिन् । पसलकै कमाईबाट उनले १ छोरा र १ छोरीलाई नीजि विद्यालयमा पढाएकी छिन् । यसका साथै यही व्यवसायबाट उनले आफ्नो घर पनि चलाएकी छिन् । श्रेष्ठले भनिन् –‘मासिक २० देखि २५ हजार कमाई त भइ नै हाल्छ । यति पनि नभए घर कसरी चलाउनु ?’

मन्थलीकै अर्को मासु पसलकी प्रोपाइटर हुन् कल्याणी बस्नेत । उनको कल्याणी मासु पसलमा बिहान बेलुका भ्याई नभ्याई हुन्छ । घरमा बस्दा घाँस, दाउरा गर्न साह्रै गाह्रो भएपछि उनले मासु पसल खोल्ने बिचार गरीन् । श्रीमान् सरकारी जागिर गर्ने हुनाले कुखुरा काट्ने काम पनि उनी आफैं गर्छिन् ।

विगत ४ वर्ष देखि मासु पसल चलाइरहेकी कल्याणीलाई दिनको सुरुवात हुने बित्तिकै सबेरै आगो बाल्ने पानी तताउने, कुखुरा काट्ने भुत्ल्याउने र मासु बेच्ने हतारोले छोपिहाल्छ । ‘पसलको सबै काम आफैंले गर्नुपर्छ ।  ज्यादै चटारो हुन्छ । श्रिमानले पसल हेर्न त्यति भ्याउनुहुन्न’, उनले भनिन्, ‘धेरै खटेर काम गरेर आम्दानी पनि राम्रै हुँदा खुसी लाग्छ । राम्रो लाउन र मिठो खान यसै व्यवसायले पुगेको छ । मासिक २५ देखि ३० हजार कमाई हुन्छ’, उनले भनिन् ।

विगतमा पुरुषहरुले मात्र गर्दै आएको यस पेशामा महिलाहरु आउनु सकारात्मक पक्ष हो । स्थानीय सञ्चारकर्मी नवराज पथिक भन्छन् – ‘महिला कमजोर हुन्छन्, यस्तो काम महिलाहरुले गर्न सक्दैनन् भन्ने सामाजिक मान्यता अहिले पनि छ । तर यी महिलाहरुले यसलाई यकातिर तोडेका छन् भने अर्काेतिर राम्रो कमाई पनि गर्न लागेका छन् ।’

यस कुराले महिलाहरु हरेक काम गर्न सक्छन् र परिवारलाई सहयोग गर्छन भन्ने प्रमाणित गरेको छ । महिलाई दया हैन अवसरको जरुरी छ भन्ने कुराको यो नमुना बनेको छ । रोजगारीमा महिलालाई यसरी अवसर दिँदै लैजान सके आर्थिक रुपमा सक्षम र समाजको मूलधारमा आउन महिलालाई सहयोग गर्ने देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: