दुर्गा देवकोटा
टीकापुर। मुक्त कमैया महिलाले पहिचानको माग गर्दै टीकापुरमा जागरण सभा गरेका छन् । सरकारको उदासिनताका कारण कमैया महिलाको पहिचान हुन नसकेको भन्दै जागरण अभियान शुरु गरेको बताएका छन् । अभियानमा संलग्न सहभागी मुक्त कमैया महिलाले विभेदमा परेका कमैयाहरुले अहिलेसम्म पनि सम्पत्तीमा अधिकार जमाउन नसकेको बताए ।
उनीहरुले पुरुष कमैया, कम्लहरीहरुको पहिचान भएपनि आफूहरुको पहिचान नभएकोले अधिकारका लागि जागरण अभियान शुरु गर्न बाध्य भएको बताएका छन् । कार्यक्रममा बोल्दै सहभागी फूलमति चौधरीले सरकारले कमैया, कम्लहरी महिलालाई मुक्त गरेपनि आफै अन्यायमा पारेको आरोप लगाइन् । उनले भनिन ‘सरकारले कसैलाई २, कसैलाई ५, कठ्ठाका दरले जमिन दियो, तर श्रीमानको नाममा । खै महिलालाई ?’
मुक्त कमैया समाज कैलालीका सदस्य मिना कठरियाले कमैया महिलाहरु मुक्त भएपनि अझै समस्यामा रहेको बताउनुभयो । उनले सरकारले मुक्त कमैयाका बालबालिकालाई निशुल्क शिक्षा दिने भनेपनि कार्यान्वयनमा समस्या रहेको बताइन । सरकारले घोषणा गरेको निशुल्क शिक्षाले केवल राम्रो सुन्नको लागि मात्र भएको भन्दै उनले–‘विद्यालयमा शुल्क लिइदैन तर भर्ना लिइन्छ । कापीकिताब, भर्ना, ड्रेसको खर्च कसरी जुटाउने ?’
अझै पनि मुक्त कमैया, कमलहरीको छोराछोरी आर्थिक अवस्थाका कारण विद्यालयमा जान नसकेको उनीहरुको भनाई छ । मुक्त कमैया महिला समाजका केन्द्रीय कोषाध्यक्ष केवलपति चौधरीले १६ बर्षसम्म मुक्त भएपनि पहिचान हुन नसक्दा थप समस्यामा परेको बताए । उनले कमैया महिलालाई पनि परिचय पत्र र सुविधाको दिनुपर्ने पहिचान नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।कमैया महिला जागरण समाज कैलालीका अध्यक्ष दिलरानी चौधरीले २०५७ सालमा बन्धन हटेपनि समस्या नहटेको बताइन् । उनले स्थानीय निकायले कमैया महिलाका लागि बजेटको व्यवस्था गर्न आवश्यक रहेको औल्याएकी छन् ।
नेपाली कांगे्रसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले महिलाको पहिचानको मागमा आफूहरु सधै सहयोगीको भूमिकामा रहने बताए । उनले कमैया महिला र पुरुष दुबैको पहिचान हुन जरुरी रहेको बताए । कार्यक्रममा मुक्त कमैया समाज कैलालीका अध्यक्ष जितबहादुर चौधरीले कमैया महिलालाई सशक्त बनाउन स्थानीय निकाय, राजनीतिक दल र समुदाय सबैको सकारात्मक सहयोग हुनुपर्ने बताए । कमैया महिला जागरण समाज कैलालीले बिहिबार टीकापुरबाट शुरु गरेको जागरण सभा जेठ १८ गते धनगढीमा समापन गर्ने जनाएको छ ।
Comment Here!