विदुर आचार्य

तस्विर: गलैचा वुन्दै गुन्सा – ५ की माया थिङ
(गुन्सा)सिन्धुपाल्चोक। जस्ता र काठले बनेको सानो अस्थाई टहरो । टहरोको अगाडी गलैचाको तान । तानको माथि तयार गर्नुपर्ने गलैचाको नक्सा हेर्दै तान वुनिरहेकी छिन, गुन्सा– ५ कि माया थिङ । भुकम्प पछि परिवार पाल्ने विकल्प हो यो उनको । झण्डै पच्चिस वर्ष पहिले कलिलै उमेरमा गाँउघरका दिदि बहिनीसँगै काठमाण्डौ गएर गलैचा वुन्न सिकेकी हुन् मायाले । लामो समय काठमाडौमा गलैँचा बुन्ने काम गरिन् । गलैँचा बुन्ने पेशा हुँदै व्यवहारमा भिजेकी मायाले केही आर्थिक संवृद्धि हाँसिल गरेर गाँउ फिरेकी हुन् । उनी र उनको श्रीमानको कमाईबाट गाँउमा पक्कि घर वन्यो र आफ्नै घरमा व्यवसाय गरी घर खर्च चलाउने र छोराछोरी पढाउने काम सजिलो भएको थियो ।
विनासकारी भुकम्पले मायाको घर ध्वस्त वनायो । भुकम्पले उनको घर मात्र ढलेन व्यवसाय चौपट वनायो । घर, व्यवसाय सवै तहसनहस भएपछि बालबालिकासहित उनको परिवार वारीको पाटामा जीवन निर्वाह गर्न वाध्य भयो । केही महिना त राहतका सामाग्रीले गुजारा चल्यो । तर सँधै सम्भव थिएन । तत्काल कुनै विकल्प नभएपछि उनी आफ्नो पुरानै पेशामा फर्किईन् । ‘बाँचेपछि जेनतेन निर्वाह त गर्नै पर्यो । आफ्नो भन्दा पनि छोराछोरीको आवश्यकता पुर्ती गर्नै पर्यो । त्यसैले यो पेशा चलाउदै आएकी छु ।’ उनी भन्छिन्, ‘राम्रो, सजिलो काम होईन, आम्दामी पनि खासै हुदैन । निर्वाह सम्म चलाउन पुग्छ त्यसैले वाह्र वर्ष पछि यो पेशामा फर्किएकी छु ।’ मायाले महिनामा दुई वटा सम्म गलैचा तयार गर्छिन् । दुई वटा गलैचा तयार गरेवापत उनले दश हजार जति पाउने गरेकी छिन् । ‘धेरै समय र श्रम लागानी हुन्छ, तर नाफा विचौलियाले खान्छन् ।’ श्रमको उचित मुल्य नपाएकोमा भन्छिन् ‘राज्य वलियो नभएसम्म श्रम गर्ने भोकै मर्ने चलन को अन्त्य हुदैन ।’
गुन्साकी माया मात्र होइन, भुकम्प पछि जीविकोपार्जनका लागि थाङ्पालधाप– ७ की सम्झना थापा पनि गलैचा वुन्छिन् । सानो होटलसँगै किराना व्यवसाय गरिरहेकी सम्झनालाई पनि भुकम्पले सडकको वास वनाईदियो । अहिले निर्वाहकै लागि सम्झनाले सानो किराना पसल सँगै गलैचा वुन्ने काम गरिरहेकी छिन् । ‘भुकम्पको लामो समय धेरै विकल्पको प्रतिक्षा गर्यौ, कुनै विकल्प नभेटेपछि आफुसँग भएकै सीप काम लाग्यो ।’ उनी भन्छिन्, ‘छोराछोरी हुर्काउन, पढाउन खर्च पुगेकै छ, अरु विकल्प नहुन्जेल यही पेशा गर्नै पर्यो ।’
माया र सम्झना मात्र होईन, भुकम्प पछि ग्रामिण भेगका अधिकांश महिलाहरुको अवस्था असामान्य छ । हातमा केही सीप भएकाले त दुखजिलो निर्वाह गरेका छन् भने अन्य कुनै सीप, क्षमता नभएका महिलाहरुलाई निर्वाह चलाउन मुस्किल छ । भुकम्प गएको यति लामो समय पछि महिलाहरु सहज निर्वाहको लागि विकल्पको खोजीमा छन् । सहज निर्वाहको वाटो र उचित सीपको अपेक्षामा ग्रामिण भेगका महिलाहरु छन् ।
Comment Here!