सावित्री गौतम
आजका नेपाली महिलाले सम्बन्धविच्छेदलाई सहज रुपमा लिन थालेका छन् — तथ्यांकहरुले यसो भन्छन् । आर्थिक वर्ष २०७०/७१ मा कास्की जिल्ला अदालतमा वैवाहिक सम्बन्धविच्छेदका ४१७ मुद्धा दर्ता भएका थिए । आर्थिक वर्ष २०७१÷७२ सकिन डेढमहीना बाँकी छँदा अहिलेसम्ममा दर्ता भएका मुद्धाको संख्या ५१९ छ । अर्थात सम्बन्धविच्छेदका मुद्धाको संख्या अघिल्लो आर्थिक वर्षको भन्दा १०२ ले बढी छ । देशैभरिको खोज्ने हो भने यो तथ्यांक हजारौंमा हुन सक्ला । उता सामाजिक टिप्पणीहरु चाहिं यस्ता सुनिन्छन् — आजका नेपाली महिलाले जन्मौंसम्मको पवित्र बन्धन मानिने विवाहको मर्यादा र पवित्रता कायम राख्नै छोडे । उनीहरु बढी स्वच्छन्द बने । विवाहको अनुशासन पालना गर्न नसक्ने भए, त्यसैले स—साना असमझदारी हुँदैमा ख्यालख्यालमै सम्बन्धविच्छेद जस्तो ठूूलो निर्णय गर्न थाले । अझ कतिपयले त सम्बन्धविच्छेदलाई ‘पैसा कुम्ल्याउने सजिलो उपाय’ पनि बनाउन थाले आदि । अधिवक्ता शोभा पराजुली पौडेलका अनुसार अंशसहित वा अंशरहित सम्बन्धविच्छेदका लागि अदालतमा आइपुगेका मुद्धामध्ये मेलमिलापमा टुंगिएका मुद्धाको संख्या न्यून हुन्छ ।
नेपाली समाजमा अझैपनि छोरीको विहे आमाबाबुको लागि ठूलो सामाजिक र आर्थिक जिम्मेवारी हो । कतिपय परिवार छोरीको विहेमा घरखेत समेत बेच्छन् भने कतिपयलाई विहेमा लागेको ऋण तिर्न वर्षौं लाग्छ । यस्तोमा परिवारलाई थप मानसिक चोट नपरोस भनेर नै कैयौं विवाहित महिलाले पतिको घरमा कुटपिट वा हिंसा सहेर बसेका उदाहरण छन् । आजपनि समाजमा सम्बन्धविच्छेद गरेकी महिलालाई ‘लोग्ने स्याहार्न नसकेकी’ भन्ने बिल्ला लगाइने र पारिवारिक विखण्डन ल्याएको आरोपसमेत लगाइने प्रचलन कायमै छ । यी आरोपबाट बच्नकै लागि पनि अधिकांश महिला सकेसम्म लोग्नेसंग कानूनी रुपमा छुट्टिन चाहँदैनन् । वैवाहिक सम्बन्ध तोडेकी छोरीका आमाबाबुले समेत अनेकौं सामाजिक लान्छना र अवहेलना भोग्नुपरेका उदाहरण पनि छन् । कतिपय महिलाले समयमै कानूनी उपाय नअपनाउ“दा उनीहरुको हत्या भएका घटनासमेत छन् । शोधकर्ता तथा प्राध्यापक रामचन्द्र बरालका अनुसार विवाहअघिको स्वस्थ पहिचान(नलुकाइएको जानकारी) र हार्दिक सम्मति, त्यस्तै विवाहपछिको सन्तुलित यौनिकता र सह अस्तित्वपूर्ण मर्यादाको अभावमा वैवाहिक जीवन असन्तुलित बन्न पुग्छ । यस्तोमा कुनै जोडीले सम्बन्धविच्छेदको कानूनी बाटो अपनाउ“छन्, कुनैका दम्पतिमध्ये एकले गृहस्थ जीवन त्यागेर सन्यास लिन पुग्छन भने कैयौंले आत्महत्या समेत गर्न पुग्छन् ।
आफू मारिने नै अवस्था आइपुगुन्जेलसम्म पनि महिलाले सम्बन्धविच्छेदका लागि कानूनी पहल नगर्ने प्रचलन भएको हाम्रो समाजमा हालका दिनहरुमा सम्बन्धविच्छेदका घटना किन बढ्दो क्रममा छन् ? ‘उनीहरुले विवाह नामक संस्थाको मर्यादा कायम राख्न छोड्नु’ नै यसको कारण हो त ? ‘होइन’ अधिवक्ता पराजुली भन्छिन् ‘आजका नेपाली महिला तुलनात्मक रुपमा आत्मनिर्भर छन् र उनीहरुमा अधिकारमुखी चेतना बढ्दै गएको छ । सम्बन्धविच्छेद महिलाको आत्मसम्मान र स्वाभिमानसंग पनि जोडिएको छ ।’ पराजुलीकै विचारसंग नजीक छिन् लेखक आन्विका गिरी । गिरी भन्छिन् ‘अहिलेका महिला पढ्दै छन्, बुझ्दै छन् र आफ्नो स्वतन्त्र अस्तित्वको पहिचान गर्दै छन् । जबकि समाज अझै पनि उनीहरुलाई पहिलाकै जस्तैँ परनिर्भर अवस्थामा हेर्न चाहन्छ । यो विरोधाभाषको फलस्वरुप विद्रोह जन्मिन्छ । कमाउने पनि भइसकेकाले आजका महिला आफ्नो आर्थिक भार स्वाभिमानपूर्वक आफैं थाम्न सक्छन् । उनीहरु ‘यसलाई छोडे मलाई कसले कमाएर खुवाउला’ भन्ने त्रासपूर्ण अवस्थाबाट मुक्त पनि छन् । यो आर्थिक स्वतन्त्रताले नै उनीहरुलाई निर्णय गर्ने क्षमता दिएको छ जसले गर्दा उनीहरु असमझदारीपूर्ण वैवाहिक सम्बन्ध अन्त्य गर्न हिचकिचाउँदैनन् ।
गिरीको विचारमा यति हुँदाहुँदै अझैपनि नेपाली समाजमा एउटी महिला अदालतसम्म पुग्नु उनका लागि आफैंमा ठूलो जोखिम हो । किनकी त्यहाँ पुग्नुअघि उनलाई परिवार, साथीभाइ र नातेदारले सयौंपटक ‘सम्बन्धविच्छेद नगर्नु’ भनेर सम्झाइसकेका हुन्छन् । कतिपयलाई ‘सम्झाउँदा पनि नमानेर’ सम्बन्धविच्छेद गरेको भन्दै पछि परिवार वा आफन्तले साथ दिंदैनन् । अर्कोतिर समाजले दिने ‘डिभोर्सी’ को ट्यागका कारण हुने मानसिक तनाव अलग्गै हुन्छ । यी सबैका वावजूद ‘अब यो मान्छेसंग बस्दिन’ भन्नेजस्तो अन्तिम निर्णय गरेर अदालतसम्म पुग्ने काम उनीहरुले ख्यालख्यालमा गरेका हुँदैनन् । गिरीका अनुसार जबसम्म महिलाको स्वतन्त्र अस्तित्वलाई स्वीकारेर सम्मानपूर्ण व्यवहार गरिंदैन सम्बन्धविच्छेदको दर घट्नेभन्दा बरु बढ्ने संभावना छ ।
पैसाकै लागि विवाह गर्ने र मोटो रकम कुम्ल्याएर श्रीमान छोडिदिने भनेर महिलाहरुलाई लागेको आरोप चाहिं कत्तिको सत्य हो त ? अधिवक्ता पराजुलीका अनुसार पाँच प्रतिशत वा त्योभन्दा पनि कम यस्ता कुरा कहिलेकाहीं सुन्नमा आउ“छन् । सिंगो समाजको जुनसुकै क्षेत्रमा पनि एकदुइजनाले बेइमानी गरि नै हाल्छन् । सम्बन्धविच्छेदको सन्दर्भमा पनि त्यही भएको हुन सक्छ । नत्र ९५ प्रतिशत महिलाले सा“चिकै हिंसा वा असमझदारीकै कारण सम्बन्धविच्छेदको निर्णय लिएका छन् । खासमा कोही महिला अंशसहितको सम्बन्धविच्छेद चाहन्छन् जसले पूर्वपतिको तर्फबाट जग्गाजमीन जस्ता अचल सम्पति पाउँछन् । कोहीले भने जग्गाजमीनकै मूल्यको हाराहारीमा चल सम्पत्ति नै लिन्छन् जसलाई ‘मोटो रकम’को उपाधि दिइन्छ ।
हिजोसम्म नेपाली समाजमा अकल्पनीय जस्तो मानिने सम्बन्धविच्छेद आज परिचित शब्द बनेको छ । असहज सम्बन्धको नियमितताले पतिपत्नी दुबैलाई फाइदा हुँदैन भन्ने धारणालाई समाजले विस्तारै स्वीकारे पनि यससंग जोडिएर आउने व्यक्तिगत लान्छना वा मानसिक तनावप्रतिकोे डर भने कायम नै छ । एकल अभिभावकले छोराछोरीको पालनपोषण राम्ररी गर्न सक्दैनन् भन्ने मान्यता पनि उत्तिकै बलियो छ । उसोभए नेपाली समाजमा सम्बन्धविच्छेद सधैंभरि यसरी ‘ट्याबु’ नै बनिरहला त ? प्राध्यापक बराल आफ्नो शोधपत्रमा पतिपत्नीबीचको सम्बन्ध अन्त्यलाई ‘सम्बन्धविच्छेद’ नभनी ‘विवाहविच्छेद’ नाम दिएको बताउँदै भन्छन् ‘हाम्रो समाजमा जोडीको सम्बन्ध टुटेपनि नातागोतासंगको सम्बन्ध त्यति सजिलै टुटेको देखिंदैन । साथसाथै छोराछोरीका कारण पनि पूर्वदम्पति कुनै न कुनै रुपमा सम्बन्धमा रहिरहन्छन्, त्यसैले यो ‘विवाहविच्छेद’ मात्रै हो ।’ आन्विका गिरी भन्छिन्, ‘आर्थिक रुपमा स्वतन्त्र आमा वा बाबुले ‘सिंगल प्यारेन्ट’को जिम्मेवारी सहजै निर्वाह गर्न सक्छन्, यो हल्ला गरिएजस्तो ‘ठूलो चुनौती’ होइन । अधिवक्ता शोभा पराजुली पौडेल भन्छिन्, ‘आजको समयमा वैवाहिक सम्बन्धलाई पार्टनरसिपको रुपमा हेरिनुपर्छ । सम्बन्धविच्छेद नहुनु राम्रो तर भइहालेमा पनि दुइ पार्टनरबीच साझेदारीकोे संभावना नरहेकाले अलग भएको भनेर सहज तरीकाले व्याख्या गरिनुपर्छ ।
email- [email protected]
Comment Here!