धेरै पढेको भनेर सानो तिनो काम गर्न नखोज्ने युवाको पंक्तिमा आफू नपर्ने एमएड पहिलो वर्षमा अध्ययनरत राजकुमारी चौधरी बताउँछिन् । आफूलाई मजदुरी गर्न लाज नलाग्ने उनले बताइन् ।
खेमा बस्नेत

राज कुमारी चाैधरी
सधैँको जस्तै विदाको समयमा उनी विहान ११ बजे ठेकदारले भनेको ठाउँमा पुग्छिन् । उनको हातमा कहिले बेल्चा हुन्छ त कहिले घर बनाउने मसला ओसार्ने काम गर्छिन् । यही मजदुरी गर्दै उनले आफ्नो उच्च शिक्षालाई अघि बढाएकी छन् । राजकुमारीलाई ५ वर्षदेखि कापीकलम र क्याम्पसमा तिर्ने शुल्कका लागि बुवाआमासँग खर्च माग्नु परेको छैन ।
विदाको समयमा घर बनाउने ठाउँमा वालुवा चाल्ने, इट्टा बोक्नेलगायतका काम गरेर उनले पढाई खर्च जुटाउँदै आएकी छन् । उनी भन्छिन् ‘म मेरो पढाई खर्चका लागि मजदुरी गर्छु,२०६७ सालवाट आफ्नो खर्चका लागि मजदुरी गर्ने थालेकी हुँ ।’
धेरै पढेको भनेर सानो तिनो काम गर्न नखोज्ने युवाको पंक्तिमा आफू नपर्ने उनले बताइन् । ‘मलाई मजदुरी गर्न कुनै लाज लाग्दैन,अरु काम गर्दा समयमा पैसा नदिने तथा विरामी पर्दा समेत विदा नदिने हुन्छ, तर यो काममा आफ्नो खुसीले काम गर्न पाईन्छ । ’
राजकुमारी भन्छिन् ‘आफूजस्ता पढेका थुप्रै युवायुवतीले रोजगारको अवसर पाएका छैनौं, शिक्षा अनुसार रोजगारको व्यवस्था सरकारले गर्नुपर्छ ।’ तर, काम गरेपनि यो क्षेत्रपनि विभेदवाट अछुतो भने हुन नसकेको उनको भनाइ छ । उनले मजदुरी सुरु गर्दा दैनिक डेढ सय रुपैयाँ थियो । अहिले चारसय रुपैयाँ कमाउँछिन्, तर आफूसँगै काम गर्ने पुरुषको ज्याला भने सातसय रुपैयाँ रहेको उनी वताउँछिन् ।
उनले सुरुमा मजदुरी गर्दा जुन काम गर्थिन् आज पनि त्यही काममा छिन्, तर उनीसँगै काम सुरु गरेका पुरुष साथी अहिले मिस्त्री भएका छन्, अनि उनीहरूको ज्याला पनि बढेको छ । ‘मलाई पुरुषले गर्ने मिस्त्री काम गर्न त आउँछ, तर ठेकेदारले घर निमार्ण गर्ने मसला मात्रै ओसार्न लगाउँछन्’ उनले गुनासो गरिन् ।
समान मेहनतमा समान ज्यालामा हुनुपर्ने उनको भनाइ छ । ‘बालुवा गिट्टी ओसार्ने जस्तो गाह्रो काम महिलाले गर्नुपर्छ,तर ज्याला भने महिलाको नै कम हुन्छ’ उनले भनिन् ।
Comment Here!