बैदेशिक रोजगारीमा जाने महिलाको समस्या सम्बोधन गर्न ‘र्यापीड रेस्पोन्स टिम’
महिला खबर

अाभा श्रेष्ठ कर्ण
सहसचिव, रोजगार समन्वय तथा श्रम सम्बन्ध महाशाखा
काठमाडौं । सरकारले बैदेशिक रोजगारमा जाने महिलाको पेसागत र व्यक्तिगत सुरक्षालाई सम्बोधन गर्न र्यापीड रेस्पोन्स टिम गठन गरेको छ। श्रम मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णको संयोजकत्वमा गठन भएको यो टिमले वैदेशिक रोजगारमा जाने महिलामाथि शोषण र ठगीमा परेकोलगायतका समस्या आउने क्रम बढेकाले यस्तो समस्यालाई तुरन्तै सम्बोधन गर्ने छ।
वैदेशिक रोजगारमा जाने महिलाको संख्या बढेसँगै उनीहरूमाथि जोखिम पनि उत्तिकै बढेकाले यसलाई न्युनिकरण गर्न टिम गठन गरिएको टीमका संयोजक तथा सहसचिव आभा श्रेष्ठ कर्णले बताउनुभयो।
उहाँले भन्नुभयो ‘बैदेशिक रोजगारीमा जाने महिलालाई एउटा काम भनेर अर्कै काममा लगाउने, तलव थोरै दिने जस्ता उजुरी पर्ने क्रम बढे, यो पनि महिलाको बेचविखन हो र यसको अनुगमन र नियन्त्रण गर्न यो टिम गठन गरिएको हो।’
आर्थिक वर्ष २०६४/६५ मा वेदेशिक रोजगारीका लागि जाने महिालाको संख्या ४ हजार थियो भने २०७२/ ७३ मा यो संख्या बढेर १६ हजार भन्दा बढी पुगेको छ।
यो टिमले बैदेशिक रोजगारीमा जानुअघि ठगिने सम्भावना छ कि छैन भनेर म्यान पावर कम्पनीलाई सोध्ने र उनीहरूको अनुगमन पनि गर्ने छ। टीमले यस क्षेत्रमा काम गर्ने नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्ने जानकारी पनि उहाँले दिनुभयो। वैदेशिक रोजगारीमा जाने महिलालाई आपत परेमा सम्पर्क गर्न कल सेण्टर स्थापना गर्ने सोचाइमा रहेको कर्णको भनाइ छ। तर, यसको तयारी भने नभएको उहाँले बताउनुभयो।
सोमवार गठन भएको यो टिमलाई स्थाइ संयन्त्रका रुपमा स्थापित गर्न श्रम ऐन संशोधन गर्न लागिएको छ। स्थाइ सयन्त्रका रुपमा स्थापित भएपछि वैदेशिक रोजगारीबाट ठगिएर फर्किएका महिलालाई स्वदेश मै तालिम दिइ आत्म निर्भर बनाउने वा सुरक्षित रोजगारीका लागि तालिम दिने, उनीहरूलाई समाजमा पुर्नस्थापना गर्न सघाउने र वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई समाजले हेर्ने नकारात्मक दृष्टिकोणविरुद्ध अहिले भईरहेको सामाजिक सचेतना अभियानलाई अझै सशक्त बनाउन सकिने टीमका संयोजक आभा श्रेष्ठ कर्ण बताउनुहुन्छ।
वैदेशिक रोजगार ऐन, नियमावली, सम्बन्धित कार्यविधि तथा निर्देशिकाको उद्देश्य प्राप्तिमा सघाउ पुर्याउने प्रयासस्वरुप श्रम तथा रोजगार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार यो टीम गठन गरिएको हो।
टीमका सदस्यमा रोजगार प्रवद्र्धन बोर्डका निर्देशक निर्मला थापा, वैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टराई, श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत पार्वती शर्मा र सनमाया रम्तेल हुनुहुन्छ।
Comment Here!