रमेश रावल
कालिकोट। जिल्लाको ग्रामिण इलाकाका महिलाहरू सीप सिकेर आत्मनिर्भर हुने क्रम बढेको छ। पुरुषहरु कामको खाजीमा बिदेश जान थालेपछि यहाँका महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्ने बाटोमा लागेका छन्।
जिल्लाको स्युनामा गाविसले लक्षित वर्गलाई छुट्टयाएको रकमबाट महिलाहरूले सिलाई कटाई सम्बन्धि तालिम लिइरहेका छन्। गाविसका दलित, महिला र अपाङ्ग संजालको नाममा आएको रकमबाट यसवर्ष गाविसका १० जना महिलालाई सिलाई कटाई तालिम दिइएको हो ।
बिगतमा लक्षित वर्गका लागि आउको रकम अन्य क्षेत्रमा खर्च गरेको देखाउने र बाँडेर खाने गरेपनि यसवर्ष भने सिलाई कटाई दिएर महिलालाई आत्मनिर्भर बनाउन लागेको दलित संजाल स्युनाका अध्यक्ष मन तिरुवाले बताए।
‘दलितका लागि लक्षित वर्गको रकम ५० हजार रुपैयाँ, अपाङ्गको ५० हजार र महिलाको ६० हजार रुपैयाँ गरी जम्मा १ लाख ६० हजार रुपैयाँ र घरेलु तथा साना उद्योग कार्यालय २ लाख रकममा महिलालाई सिलाई कटाई तालिम दिइएको जानकारी उनले दिए। उनले भने,–…साढे दुई महिना सिलाई कटाई तालिमले महिलालाई आत्मनिर्भर हुने बाटो खुल्नेछ।’
कुनै पनि संघसंस्थाले लक्षित वर्गलाई देखाएर आत्मनिर्भर बन्ने कार्यक्रम ल्याउनु भन्दा गोष्ठी र अर्न्तक्रियामा रकम खर्च गर्ने गरेकाले यस सिलाई कटाई तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्ने अनिता बमले बताइन्। ‘सिलाई कटाईको सीप सिकेर आत्मनिर्भर बन्ने तयारीमा छु’ उनले भनिन्,–’कति दिन पुरुषको भरमा पर्नु।’
त्यस्तै, स्युना गाविसका पछाडी पारिएका विपन्न गरिब १४ जना महिलालाई लघु उद्यम विकास कार्यक्रम(मेडेप)को आर्थिक सहयोगमा सादा नेपालले एक महिने सिलाई कटाई तालिम संचालन गरेको लघु उद्यम सहजकर्ता बेला तिरुवाले बताइन्। ‘मेडपले विभिन्न गाविसका महिला तथा पुरुषलाई उद्यम सम्बन्धी सीप सिकाउँदै व्यवसायमा अग्रसर गराउँदै आएको छ।’ उनले भनिन्,–’विभिन्न निकायले दिएको सिलाई कटाई तालिमले कयौं महिला आत्मनिर्भर भएका छन्।’
जिल्लाका पढेलेखेका महिलाहरूले पनि सिलाई कटाई तलिम लिएर यसैलाई व्यवसायबाट आत्मनिर्भर बन्न थालेका छन्। स्नातक पास गरेकी मान्मकी मधु शाहीले सदरमुकाममा सिलाई कटाई पसल राखेकी छन्। शाहीले युनिक सिलाई कटाई टेनिङ्ग सेन्टर संचालन गरेर गाउँका महिलालाई सिलाई कटाई तालिम दिएर आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको बताइन्।
‘गाउँका महिलालाई सिलाई कटाई तालिम दिएर आत्मनिर्भर बनाउने मेरो योजना छ’ उनले भनिन्–’आफू आत्मनिर्भर भए कसैले हेप्दैनन्।’पछिल्लो समयमा कालिकोटका अधिकांस महिला सिलाई कटाई, राडीपाखी बनाउने, ढाका बुनाई तर्फ आकर्षित भएका छन्।
Comment Here!