आशिषले मनिषाको हत्या नगरेको दोहोर्याए – प्रहरी
झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्ट
ज्ञानु पंगेनी
नवलपरासी । युवा फुटवल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी “आशिष” भनिने रुद्रनारायण चौधरीले पोलीग्राफ परिक्षणमा बोलेको कुरा र यसअघि प्रहरीसँगको बयानमा भनेको कुरा मेल खाएको प्रहरीले बुधवार परासीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल प्रहरीका लुम्बिनी अञ्चल प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक शेर बहादुर बस्नेतले मनिषा काण्डमा अनुसन्धानका लागि नियन्त्रणमा दिईएका रुद्रनारायण चौधरको पोलीग्राफ परिक्षणपछि मनिषाको घाटी च्यापेर हत्या नगरेको भन्ने चौधरीको उत्तर सहि रहेको पाईएको बताए ।
पोलीग्राफमा रुद्रनारायणको भनाई अनुसार मनिषा कोठामा झुन्डिएको अवस्थामा फेला परेको र रुद्रनारायणले नै घाँटीमा बाँधिएको सल खोलेको बताएको प्रहरीले जनाएको छ ।
उक्त सल प्रहरीले मनिषाको घरभन्दा करीब २ किलोमिटर पर रहेको कल्भर्टमुनीबाट बरामद गरेको थियो ।
कल डिटेलको विवरण अनुसार एक हप्तामा मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरबाट रुद्रनारायणले प्रयोग गर्ने मोबाइल नम्बरमा १ सय १६ पटक फोन गरेको र सोही समयभित्र रुद्रनारायणले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा १ सय २ पटक फोन गरेको अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद चौधरीले बताए ।
त्यस्तै घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकण्डमा अन्तिम पटक फोन गरेको देखिएको प्रहरी प्रमुख एसपी चौधरीले बताए । उनीहरूले प्रयोग गर्ने मोबाइल नम्बरमा म्यासेजमा मार्फत पनि उनीहरूवीच धेरै कुराकानी भएको देखिएको प्रहरीले जनाएको छ ।यस्तै पोष्टमार्टम रिपोर्टमा झुण्डिएर मृत्यु भएको रिपोर्ट आएको समेत पत्रकार सम्मेलनमा वरिष्ठ प्रहरी उपरिक्षक बस्नेतले जानकारी गराए ।
मनिषाको मृत्युको घटनाका बारेमा सबैमा चासो रहेकाले अहिलेसम्म भएको अनुसन्धानको विवरणलाई सार्वजनिक गरिएको भएपनि प्रहरीको अन्य पक्षको अनुसन्धान प्रकृया बाँकी रहेको नवलपरासीका प्रहरी प्रमुख चौधरीले बताए ।
मनिषा गत विहीबार विहान बर्दघाट ८ भुताहास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन ।
रुद्रनारायणको पोलीग्राफ रिपोर्टपछि मनिषा घटना झन जटिल बन्दै गएको छ । स्थानियबासीले अनुसन्धान छिटो र प्रभावकारी रुपमा गर्न माग गरेका छन् ।
थप समाचार…
Comment Here!