महिला खबर
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाइजो नल्याएको निहुँमा वा बोक्सीको आरोपमा महिला माथि गरिने निकृष्ट खालका हिंसा र छुवाछूतको नाममा मान्छेलाई गर्ने अपमान जस्ता कुप्रथाको अन्त्य गरिनुपर्ने बताउनु भएको छ । जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ऐन/कानुन कार्यान्वयनसँगै जनचेतनामार्फत मुलुकमा व्याप्त सबै प्रकारका विभेद् अन्त्य गरिने बताउनुभयो ।
आदिवासी जनजाति, दलित, महिला, मधेसी वा अन्य उत्पीडित समुदायलाई दिइँदै आएको आरक्षण सधैँका लागि नभई प्रतिस्पर्धाका लागि योग्य हुन केही समयका लागि मात्र भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएका दलित समुदायलाई सबैभन्दा पहिला शैक्षिक क्षेत्रमा अगाडि ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
Comment Here!