ज्ञानु पंगेनी
नवलपरासी । नवलपरासीको दाउन्नेदेवी उच्च माध्यमिक विद्यालय बर्दघाटकी विपना परियार चार स्वर्ण सहित राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुदमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
पश्चिमाञ्चलका तर्फबाट प्रतियोगितामा सहभागी विपनाले २ कीर्तिमानी सहित ४ स्वर्ण जित्नसफल भएकी छन् ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटरमा उत्कृष्ट प्रदर्शन गर्दै विपना विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन ।
विपनाले ४ गुणा १ सय तथा ४ गुणा ४ सय मिटर रिलेमा पनि टोलीसँग मिलेर स्वर्ण हात परेकी छन् । सर्वोत्कृष्ट घोषित भएसँगै खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेलले विपनालाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मानित गरिने घोषणा गर्नुभएको छ । एक लाख रुपैयाँ राशीको पुरस्कार साउनमा हुने कार्यक्रममा प्रदान गरिने भएको छ ।
यता विपना चार स्वर्णसहित पश्चिमाञ्चलकै सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि विद्यालयले किर्तिमानी, सर्वोत्कृष्ट खेलाडी, युवा प्रतिभा खेलाडी छात्रा विपना परियारलाई हार्दिक बधाईका साथै उज्ज्वल भविष्यको शुभकामना दिँदै विपनालाई यस सफलतासम्म पुर्याउन सहयोग गर्नुहुने परिवारजन, यस विद्यालय परिवार, प्रशिक्षकहरू, सहयोगी सबैमा धन्यवाद ब्यक्त गरेको छ ।
विपनाको शैक्षिक एवम् खेलकुद क्षेत्रमा विद्यालयबाट निरन्तर थप आवश्यक सहयोग गर्ने प्राचार्य चिरन्जीवि खनालले बताउनु भएको छ ।
Comment Here!