सरकारी निकायद्वारा गाउँमा शिविरः त्रीयासी वर्षीया बृद्धाले पाईन् नागरिकता
सुमित्रा कोईराला
उदयपुर । ‘अबदेखि मैले पनि सरकारले दिने बृद्धा भत्ता पाउने भएँ’ गहभरी आँसु पार्दै ८३ वर्षीया बृद्धा मकमाया राईले भनिन् । जिल्लाको भलायडाँडा गाउँ विकास समितिकी मकमाया राईले गाउँमै आएको एकीकृत घुम्ती शिविरमा प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घमिरेले नागरिकताको प्रमाणपत्र दिएपछि हर्षको आँशु थाम्न सकिनन् ।
‘नागरिकता नभएकै कारण सरकारले बृद्ध बृद्धालाई उपलब्ध गराउने भत्ता पाउन २३ वर्ष पर्खनुपर्यो’ बृद्धा मकमायाले भनिन् । सरकारले ६० वर्ष पुगेपछि एकल र बृद्धबृद्धालाई सामजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएपनि नागरिकता नभएका कारण उनले भत्ता पाउन सकेकी थिईनन् ।
नागरिकताको आवश्यकता बारे जानकारी पाएपनि श्रीमानको मृत्युपछि छोराछोरीको लालनपालन गर्दा र जिल्लासम्म जान नसक्दा नागरिकता बनाउन नसकेको मकमायाले बताईन । घरछेउमै नागरिकता बनाउने शिविर नआएको भए नागरिकता विनै उनको पुरा जीवन वित्ने थियो ।
शिविरमा पञ्चावतीकी ७० वर्षीया बृद्धा विगमाया मगरले पनि नागरिकता पाइन् । श्रीमान अपाङ्ग भएकाले जिल्ला जान नसकेर नागरिकता बनाउन नसकेको अवस्थामा गाउँमै नागरिकता पाएकोमा विगमायाको पनि खुसीको सीमा थिएन । सरकारी सेवाबाट बञ्चित रहेका जनतालाई गाउँगाउँमै पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय उदयपुरले एकिकृत घुम्ति शिविर सन्चालन गरेको शिविरमा सेवा प्राप्त गर्नेहरूले फरक फरक अनुभूती गरे ।
प्रशासनले जिल्लाको पञ्चावती गाविसको नेपालटारमा शुक्रबारदेखि दुईदिने शिविर सन्चालन गरेको हो । पञ्चावती, भलायडाँडा, डुम्रे र रौता गाविसलाई लक्षित गरी शिविर सन्चालन भएको हो ।
शिविरमा जिल्लास्थित प्रायः सबैजसो सरकारी कार्यालयले आ आफ्ना सेवा सन्चालन गरेका छन् । सरकारी निकायले निःशुल्करुपमा सेवा प्रदान गरेका छन् ।
प्रशासनले नागरिकता प्रमाणपत्र, ट्राफिकले ट्राफिक सचेतना, कृषिले विउविजन वितरण तथा माटो परिक्षण, अस्पतालले विरामी चेकजाँच तथा औषधि वितरण, महिला तथा बालबालिका कार्यालयले अपांग परिचय पत्र, वन कार्यालयले विरुवा वितरण, घरेलु तथा सानो उद्योग विकास समितिले उद्यम प्रबद्र्धन सम्बन्धी जानकारीलगायतका सेवा उपलब्ध गराएका थिए ।
गाविसहरूले गाविसबासीलाई आवश्यक सिफारिस, कागजात जुटाउन सहयोग गरेका छन् । शिविरमा सेवा लिन गाउँगाउँबाट स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । शिविरमा सबैभन्दा बढि नागरिकता बनाउनेको संख्या रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले जानकारी दिनुभयो ।
त्यस क्षेत्रका जनताबाट नागरिकता बनाउन निकै छुटेको गुनासो आएकोले शिविर सन्चालन गरेर सेवा प्रदान गरिएको र दुईदिनमा चार सय १० जनाले नागरिकता पाएको जानकारी उहाँले दिनुभयो ।
गाउँमा शिविर सन्चालन हुनाले सबैभन्दा बढि, अपाङ्ग, बृद्धबृद्धा र बालबालिकालाई सुविधा पुगेको पंचावती गाविसका सचिव खिलाराज कार्कीले बताउनुभयो ।
Comment Here!