प्रकाश सिंह

हुम्लाको मैला गाविसमा एक सुत्केरी घाम ताप्दै । खाद्यसंकट भएपछि हुम्लाका सुत्केरी र गर्भवती महिला दैनिक एक छाक मात्र खाने गरेका छन् ।
बाजुरा । हुम्लाको अति दुर्गम गाविस मैला बस्ने २६ वर्षीया कलावती बिष्ट गर्भवती भएको नौ महिना भएको छ । गर्भवती भएका बेला पोषिलो खाना, फलफुल गेडागुडी खानुपर्ने भएपनि उनी भने दैनिक एक छाक मात्र खाएर बस्न बाध्य छन् ।
लगातारको खडेरीका कारण खाद्य संकट भएपछि एक महिनादेखि उनले एक छाक मात्र खाना खाएर जिवन बचाउने काम मात्र गरिरहेकी छन् । नजिकै रहेको स्वास्थ्य चौकीमा जादाँ स्वास्थ्यकर्मीले उनलाई कुपोषण भएको बताइसकेका छन् । तर, उनले पोषिलो खाना त परै जाओस पेटभरि खान समेत पाउँदिनन् । उनमा कुपोषण झन् बढ्दै गएको स्वास्थ्यकर्मीले वताएका छन् ।
उनी जस्तै सोही गाँउकी लालमति नेपालीले बच्चा पाएको दुई हप्ता भएको छ । उनले पनि पेटभरी खान नपाएको महिना बित्न लागि सक्यो । बच्चा पाएको बेला पोषिलो खाने कुराको साटो उनी नुनको धुलोसँग कहिले भात र कहिले सुख्खा रोटी खाएर छाक टार्दै आएको वताईन् । खडेरीले अन्नवाली, फलफुल र तरकारी केही उत्पादन नभएपछि एक हप्ता लगाएर बाजुराको कोल्टि खाद्य संस्थानबाट ल्याएको चामलले दैनिक एक छाक मात्र खाएर पुर्याएको उनले वताईन् ।
लगातार खडेरी कारण खाद्य संकटको मार खेप्दै जाँदा गाउँमा रहेका गर्भवती र सुत्केरी महिलाले पेटभरी खान नपाँउदा समस्यामा परेको मैला स्वास्थ्य चौकीका अहेब देवीलाल सुनारले वताए । कमजोरीका कारण बच्चा समेत कुपोषित जन्मने र बच्चा पाउने बेला समेत महिलालाई समस्या हुने गरेको उनी वताउँछन् । पेटभरी राम्रोसँग खान पाईदैन्, पोषिलो खानेकुरा त धेरै टाढा भएको सुनारले वताए ।
हुम्लाका अतिविकट गाविसमामात्र नभइ सदरमुकाम सिमीकोटका गर्भवती र सुत्केरी महिला समेत निकै संकटमा परेको जिल्ला स्वास्थ्य कार्यलय हुम्लाले वताएको छ । हुम्लामा रहेका २७ वटै गाविसमा अनुमानित १३ सय ९२ जना गर्भवती र सुत्केरी छन् । यी सबै महिला खाद्य संकटको मारमा पर्दा कुपोषित हुनुका साथै महिलाको ज्यान समेत जोखिममा भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी नरेश श्रेष्ठले वताए ।

हुम्लाको मैला गाविसमा डेढ वर्षीय बच्चा बिद्यालयबाट अन्य घरका बिद्यार्थीले ल्याएको पौष्टिक आहार (लिटो) झोलाबाट निकालेर खादै । छेउमा उनकी आमा ।
गर्भवती र सुत्केरी महिलासँगै बालवालिकामा समेत कुपोषण बढदै गएको उनले वताए । एक वर्ष मुनिका १२ सय ८६ वालवालिका मध्ये अधिकांश कुपोषणको चपेटामा परेको श्रेष्ठले वताए ।
राम्रोसँग खान नपाएपछि आमाको दुध समेत बच्चाले पेटभरी खान नपाउने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । एकछाक नुनसँग भात खाएर बाँच्न बाध्य उनीहरू निकै समस्यामा रहेको राया स्वास्थ्य चौकीकी अनमी बेलसरी बुढाले वताईन् ।
खाद्यन्न संकट भएपछि हुम्लामा महिलाका लागि सञ्चालन भएको परिवार नियोजन शिबिर समेत प्रभाबित भएको जिल्ला स्वास्थ्य कार्यलय हुम्लाले वताएको छ । महिलालाई स्थाइ र अस्थाई सेवा लिन आग्रह गरेको भएपनि पेटभरी खान पाउँदैंनौ, कमजोरी हुन्छांै, भनेर सेवा लिन नआउने गरेको सुचना अधिकारी श्रेष्ठले वताए ।
सेवा लिएमा कमजोर हुन्छाैं, पेटभरी खान पाउँदैनौ, खाने माना छैन, अनि सेवा नलिएको जहर गाविसकी तुला रोकायाले वताईन् । जिल्लाका बिभिन्न ठाँउमा सञ्चालन भएपनि खान नपाउने र कमजोरी हुने कारण देखाउँदै सेवा लिन नआएको कार्यालयले वताएको छ । खाद्य संकटले सबै भन्दा यो बेला गर्भवती महिला निकै मारमा परेको वताईएको छ ।
तस्बिरः प्रकाश सिंह
Comment Here!