दुर्गा देवकोटा
टीकापुर । आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियताले कैलालीको मुनुवा गाविस खुला दिसामुक्त गाविस घोषणा भएको छ । एकवर्ष अघि गाविसका महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहका महिलाले थालेको अभियानले आईतबार पुर्णता पाएको हो ।
महिलाको अभियानले मुनुवा गाविस कैलाली जिल्लाको १९ औं खुल्ला दिसा मुक्त गाविस हुन सफल भएको स्थानीय गोपाल गिरीले बताउनुभयो । उहाँका अनुसार आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकाको ठूलो सहयोगले अभियान सफल हो । ‘सुरुका दिनमा घर घरमा गएर चर्पी निर्माण गर्न लगाउ“दा गाहे भएपनि पछि महिला आफै कस्सिदा सहज भएको हो’ उहाँले भन्नुभयो ।
‘अभियान सुरु हुँदा २५ प्रतिशत घरमा मात्र चर्पी थियो । यतिखेर दुई हजार ९४ चर्पी निर्माण भएको अभियानका सदस्य एवं मुनुवा स्वास्थ्य चौकीका प्रमुख लोगबहादुर नेपालीले जानकारी दिनुभयो । आमा समूह तथा स्वास्थ्य स्वयंसेविका विना पारिश्रमिक अहोरात्र खटेका कारण यो सम्भव भएको उहाँले बताउनुभयो ।
घोषणा सभामा प्रमुख अतिथी रहनुभएका खानेपानी तथा सरसफाई सस्था धनगढीका प्रमुख नारायण प्रसाद काफ्लेले खुल्ला दिसा मुक्त अभियानले आम जनतालाई सचेत गराएको बताउनुभयो । उहाँले भन्नुभयो–‘फोहर व्यवस्थापनमा खुल्ला शौच समस्या रहेको भन्दै जहा“ पायो त्यही शौच गर्ने बानी त्याग्न मद्दत पुग्यो ।’
पूर्व उर्जा राज्य मन्त्री चन्द्रसिंह भट्टराईले मुनुवा गाविसका महिलाले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा अभियानलाई सफल मात्र नबनाएर स्वास्थ्यका सवालमा महिला गम्भिर छन् भन्ने देखाएको बताउनुभयो । उहाँले भन्नुभयोे–‘स्वास्थ्यका बारेमा सचेत भए आर्थिक बचत हुनुका साथै पारिवारिक समस्या कम हुन्छ ।’
कार्यक्रममा खुल्ला दिसा मुक्त अभियान सफल पार्न सहयोग गर्ने स्वयंसेविका र आमा समूहका सदस्यलाई सम्मान समेत गरिएको छ । मुनुवा गाविसलाई यसअघि पूर्ण खोपयुक्त गाविस समेत घोषणा गरिएको छ ।
Comment Here!