महिला खबर
ललितपुर। दशवर्षे द्वन्द्वकालमा वेपत्ता पारिएका र मारिएकाहरूका परिवारले स्वास्थ्य शिक्षा र रोजगारीको सुनिश्चित गरिनुपर्ने बताएका छन्। ललितपुरमा मंगलबार शुरु भएको द्वन्द्व प्रभावित महिलाको सुनिश्चित भविष्य निर्माण सम्बन्धि दुई दिने परामर्श कार्यशाला गोष्ठीमा सहभागी द्वन्द्व प्रभावित महिलाले आफ्ना चाहाना व्यक्त गरेका हुन।
सहभागीका अनुसार राज्य वा माओवादी जुन पक्षबाट भएपनि द्वन्द्व प्रभावित महिलाले समान राहत पाउनुपर्ने माग राखेका छन्। उनीहरुले समान समस्या भएपनि राहत समान किसिमले वितरण नगरिएको गुनोसो गरेका थिए।
सहभागी मध्ये कसैले सात लाख, कसैले पाँच लाख, कसैले दुई लाख रुपैयाँ राहत पाएकोले यसको अनुगमन गरी सबैलाई समान राहत हुनुपर्ने उनीहरुको माग थियो । यसको लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको लागि छानविन गर्न गठित आयोगले सहजीकरणको भुमिका खेल्नुपर्ने उनीहरूले बताए।
द्वन्द्व प्रभावित महिलाको आवाज सुनिदिने निकाय को हो भन्ने अलमलमा परेकोे सहभागीले बताएका छन्। शान्ति, न्याय र लोकतन्त्रको लागि समावेशी महिला संजाल (संकल्प) को आयोजनामा भएको दुई दिने गोष्ठीमा बीस जिल्लाका द्वन्द्व प्रभावित महिला सहभागी छन्।
Comment Here!