लिलाराज भट्टराई
सुनसरी । झापाको जलथलकी २२ वर्षकी भावना गिरी दुईवर्ष अघि फागुन १५ गतेदेखि वेपत्ता छन् । उनको अहिलेसम्म अत्तोपत्तो छैन । विराटनगर १३ की २० वर्षीया सविता मण्डल २०७० साल पुष १६ गतेदेखि हराएकी छन् । अहिलेसम्म उनी वेपत्ता छन् ।तीन वर्ष अघिदेखि हराएकी ताप्लेजुङ फुङलिङकी आइतमाया लिम्वूको अवस्था पनि अहिलेसम्म अज्ञात छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७१/७२ मा पूर्व क्षेत्रमा ९ सय ९९ जना महिला हराएको उजुरी पर्यो । ती मध्ये १ सय २८ जना महिला भेटिए । ८ सय ७१ जना महिला कहाँ छन् कसैलाई थाहा छैन ।
चालु आर्थिक वर्ष २०७२ को साउनदेखि वैशाख मसान्तसम्ममा पूर्व क्षेत्रका ६ सय ८२ जना महिला हराएको उजुरी परेको छ, तर अहिलेसम्ममा ६७ जनामात्र भेटिएका छन् । सोही अवधिमा पूर्व क्षेत्रमा १ सय २९ जना वालिका हराएकोमा ३० जना मात्र भेटिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । नौ महिनाको अवधिमा हराएका ७ सय १७ जनाको अवस्था के छ ? प्रहरीमा कुनै जानकारी छैन ।
पछिल्लो पाँच महिनाको अवधिमा माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय झापामा ७१ जना महिला हराएको निवेदन पर्यो । ती मध्ये १६ जना महिलामात्र भेटिएका छन् । माइती नेपाल मोरङमा पनि २६ जना महिला हराएको निवेदन छ । ती मध्ये एकजना मात्र भेटिएको छ ।
हराएका महिला र वालिका कहाँ छन ?
माथि उल्लेखित तथ्याङ्क प्रहरी र माइती नेपालमा आएका उजुरीको मात्र हो । हराएर पनि उजुरी नपर्ने गरेका कति छन् थाहा हुने कुरै भएन । यो तथ्याङ्कको विश्लेषणवाट यति चाहि थाहा हुन्छ सोझा सिधा नेपाली महिला र वालवालिकालाई ललाई फकाई भारत तथा तेश्रो देश लाने क्रम वढेको सरोकारवालाहरूको विश्लेषण छ । माइती नेपालको तथ्याङ्कले पनि यो विश्लेषणलाई अझ वल दिन्छ ।
माइती नेपालका अनुसार पछिल्लो ५ महिनामा पूर्वी नाका काँकडभिट्टा र जोगवनीवाट २ सय ४१ जना महिलाको उद्धार गरिएको छ । काँकडभिट्टा नाकाबाटमात्रै १ सय ८७ जना महिलालाई फर्काइएको छ । जोगवनी नाकावाट पछिल्लो ५ महिनामा ५४ जना महिलाको उद्धार गरिएको छ ।
ती मध्ये १९ जनालाई सोधपुछपछि घर पठाइएको र ३५ जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो । उद्धार गरिएका महिला १५ देखि ३५ वर्ष उमेरका छन् । माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयले यसैवर्ष भारतका विभिन्न स्थानबाट ४ जना बेचिएका महिलालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।
त्यस्तै मोरङ कार्यालयले पनि १ जना महिलाको भारतबाट उद्धार गरेको छ । यी तथ्याङ्कले पनि देखाउँछ महिलालाई प्रलोभनमा पारेर पूर्वी नाका प्रयोग गरी भारत लैजाने क्रम वढेको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका संचारसम्पर्क अधिकृत गंगा प्रसाद पौडेल धेरै जसो हराएका महिलालाई दलालले भारत पुर्याइएका हुनसक्ने वताउनुहुन्छ । भारतमा लगेर घरेलु काम, सर्कस र अन्य व्यवसायमा लगाएको हुनसक्ने उहाँको अड्कल छ । केहीलाई भारतको विमानस्थल प्रयोग गरेर खाडी मुलुक पुर्याउने गरेको समेत पाइएको पौडेलले वताउनुभयो ।
माइती नेपाल क्षेत्रीय कार्यालय काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरे हराएको उजुरी आउने, तर भेटिएपछि जानकारी नदिने गरेका कारण पनि हराएका र भेटिएको सँख्यामा ठूलो अन्तर हुने गरेको वताउँनुहुन्छ । धेरैजसो हराएका महिला भारतको यौनवजारमा पुग्ने गरेको घिमिरेको भनाई छ ।
यसैगरि भारतीय सर्कस र घरेलु कामदारका रुपमा पनि हराएका उल्लेख्य महिला पुग्ने गरेका छन् । घरेलु कामदारका रुपमा वेच्ने र घरवाट वाहिर निस्कन नदिइ वन्धक वनाएर राख्ने गरेको पाइएको प्रमुख घिमिरेले वताउनुभयो । उहाँका अनुसार नेपाली महिलालाई वंगलादेशसम्म पुर्याएर दलालले वेच्ने गरेका छन् । माइती नेपालले वंगलादेशवाट पनि केही महिलाको उद्धार गरेको छ ।
गतसाल वैसाख १२ को भूकम्प यता नेपाली महिलालाई भारत लैजाने क्रम वढेको छ । भूकम्पले घरवास सवै तहसनहस वनाएको मौका छोपेर दलालले आकर्षक प्रलोभन देखाइ भारत लगेर वेच्ने गरेको पाइन्छ । प्रमुख घिमिरे भन्नुहुन्छ ‘भारतको वाटो हुँदै खाडी मुलुक पुर्याएका धेरै महिला यौन शोषणमा पर्ने गरेका छन् ।’
मानवअधिकार आयोग विराटनगरका प्रमुख कोषराज न्यौपाने घरेलुहिंसामा परेका धेरै जसो महिला मनोसामाजिक समस्याका कारण घरमा थाहै नदिई हिँडने गरेको वताउनुहुन्छ । उहाँका अनुसार मानवतस्कर गर्ने दलालले महिलालाई आकर्षक प्रलोभन देखाएर फसाउने अनि उनीहरूको फन्दामा परेर वेचविखनमा पर्ने गरेका छन् ।
मानव अँग वेचविखनमा समेत हराएका महिलाहरू पर्ने गरेको उहाँको भनाइ छ । चीन र कोरियामा विवाहका लागि महिला तस्करी हुने गरेको समेत राष्ट्रिय मानव अधिकार आयोगको एक अध्ययनले देखाएको छ । स्वेच्छिक रुपमा घर परिवारलाई थाहा नदिइ हराउने गरेकाहरूलाई पत्ता लगाउन अत्यन्तै कठिनाइ हुने गरेको न्यौपानेको भनाई छ ।
महिला वेचविखन नियन्त्रणका लागि सरकारी र गैर सरकारी क्षेत्रबाट पहल नभएको होइन,तर त्यो पहल प्रभावकारी देखिएको छैन । त्यसैले महिला वेचविखन नियन्त्रणकालागि सम्वन्धित निकाय गम्भिर हुन जरुरी छ ।
Comment Here!