सुरक्षा बराल
काठमाडौं । मेरो कथा शुरु गर्ने मेसो नै पाउँदिन । कहाँबाट शुरु गरौं हुन्छ । झापामा जन्मेकी म श्रद्धा गिरी (नाम परिवर्तन) । जम्मा ५ कक्षा पढेकी छु । मेरा ६ दिदी बहिनी र २ भाई थिए । मेरो परिवारको आर्थिक अवस्था ज्यादै नै न्युन , खेतीपाती नगरी जिविकोपार्जन हुँदैनथ्यो । साह्रै दयनीय अवस्था थियो । १७ वर्षकी म केही जानेकी, बुझेकी थिइनँ । जसले जे भने पनि राम्रो लाग्थ्यो । अरुले जे लगाएको देख्यो त्यही लगाउन मन लाग्थ्यो । बुवाआमाको आर्थिक स्रोत कम थियो ।
यसरी नै दुःख सुःख दिन वित्दै थियो । एकदिन गीता ओझा भन्ने महिलासँग गाउँमै भेट भयो । उनले मलाई सहरको रमाइलो र मोजमस्तिको कुरा सुनाइन । मलाइ जान मन लाग्यो । मैले उनको सबै कुरा पत्याएँ । उनीसँग २०६८ फागुन महिनामा घरमा काम गर्न भनि दिल्ली गएँ । शुरुको एक हप्ता सहरका हरेक कुराले मलाई रमाइलो लाग्यो । खुब खुसी भएँ । एकहप्ता पछि आफू बेचिएको थाहा पाएँ । एकदिन ठूलो कोठामा एक्लै थिएँ । याद छ ,मैले सामान्य लुगा लगाएकी थिएँ । ढोका खोल्न खोजेँ खुलेन । थुनिएकी रहेछु । म दिल्लीको मुख्य शहरमा नै थिए ।
त्यसको केही समयमै ढोका ढक् ढक् गरेको आवाज आयो । यसो ढोका खोलेर हेरेँ । अजङ्गको पुरुष मेरो अगाडी उभिएको थियो । त्यो मानिस सरासर भित्र पस्यो । उसले मलाई समात्यो ।
मैले विलौना गरेँ । मलाई छोडिदिनुस् म घर जान्छु भनेँ । त्यो राक्षस मान्दै मानेन । त्यसले मलाई बलात्कार गर्यो । म बिरानो ठाउँमा रोईरहेकी थिएँ । त्यो आफ्नो ईच्छा पुर्याएर गयो । सोँचे अब रोएर कसले सुन्छ र ! म सम्हालिनुपर्छ, आँटले काम गर्नुपर्छ भन्ने लाग्यो । तर उपाय केही थिएन । मलाई झन् झन डर लाग्न थाल्यो । सुनेकी थिएँ पुरुषले मात्र महिलाको इज्जत लुट्छन्, तर यहाँ त मलाई महिलाले पनि इज्जत लुटेको अनुभूति हुँदै थियो । शरीर मेरो थियो तर नियन्त्रण अरुको ।
खाना ल्याइ दिन्थे । खानै मन लाग्दैनथ्यो । मलाई राखिएको कोठाबाट बाहिर केही देखिँदैनथ्यो । दिन र रात छुट्टयाउन सकिन्नथ्यो । धेरै सोचेँपछि निर्णय गरेँ, अब म मर्छु । आत्माहत्याको प्रयास गरेँ । मर्न सकिनँ । मान्छे निरीह भएपछि भगवान पुकारिँदो रहेछ । मैले पनि त्यही गरेँ ।
म पसलमा राखिएको खेलौना जस्तै भएकी थिएँ । दुईवर्षसम्म मेरो शरीर अरुलाई नै सुम्पिरहेँ । धेरै कोशिस गरेपछि म त्यहाँबाट भाग्न सफल भएँ । मेरो खुट्टामा चप्पल पनि थिएन । त्यो नर्कबाट भाग्दा आफ्ना भएका सामान पनि निकाल्न सकिनँ । बाटोमा हिँड्दै थिएँ । एक जना दिदी नेपाली भाषामा फोनमा कुरा गर्दै हुनुहुन्थ्यो । धेरै आशा र थोरै डर मान्दै बोलाएँ । उहाँको नाम रिया कार्की रहेछ । मैले मेरो समस्या बताउँदै सहयोगको लागि याचना गरेँ । उहाँले मेरो पीडा सुनेपछि मलाई सहयोग गर्न तयार हुनुभयो । उहाँको सहायतामा म नेपाल फर्कन सफल भएँ । ढिलै भएपनि आफूलाई बचाएर निस्कन सकेँ । नेपाल आफ्नो घर आईपुगेँ । रिया दिदी मेरो जीवनमा भगवान बनेर आएको अनुभूति भयो ।
जसोतसो घर फर्किएँ । परिवारको आर्थिक अवस्था उस्तै थियो । मलाई घरमा बसिरहन मन लागेन । काम गर्न खोजेँ कतै पाईनँ । मलाई उद्घार गरेर घरसम्म ल्याउने दिदी रियाको सहयोग मागेँ । उहाँलाई फोन गरेँ । मेरो समस्या बताएँ । उहाँले काम खोजिदिने आश्वासन दिनुभयो । म फेरि भारत जाने निधो गरेँ । रिया दिदीकोमा । उहाँले सँगै काम गरौँला भनेपछि ढुक्क भएँ । म घरबाट भारत हिँडे । तर मलाई रेल्वे स्टेशनबाट के.आई.नेपाल विराटनगरले शंकाले नियन्त्रणमा लियो । मलाई धेरैे परामर्श दिईयो । त्यसपश्चात मलाई चितवन सेफहोममा राखियो । के आई नेपालले दिएको सीपमुलक तालिम लिन थालें ।
यसैक्रममा के.आई.नेपालको सहायतामा २०७१ असार १४ गते प्रहरीले मलाई बेच्ने गिरोह रीता तिवारीलाई पक्राउ गर्यो । त्यस लगत्तै झापा जिल्ला अदालतमा मुद्दा दायर भयो । तिवारीमाथि प्रहरीको निरन्तर सोधपुछ पछि गीता ओझा पक्राउ परिन् । उनलाई प्रहरीले काँकडभित्ताबाट पक्राउ गर्यो मैले उनीविरुद्ध पनि मुद्धा दायर गरें । यसरी निरन्तर उनिहरूको केरकारपछि अदालतमा तारेख शुरु भयो । तर पीडित पक्षको कमजोरी भन्दै अदालतले पटक पटक तारेख सार्दै गयो र पछि गीता ओझालाई सफाई दिईयो । अदालतले मलाई अवहेलना गर्यो । मलाई बेच्नेलाई अदालतले माफी दियो । म अब न्याय खोज्न कहाँ जाउँ ? अहिले तिवारी भने प्रहरी नियन्त्रणमै छन् । अब मेरो इच्छा गीता ओझालाई पनि कानुनको दायरामा ल्याउनु हो । म के गरौँ त्यसको लागि ? सहयोगको अपेक्षा गरेकी छु । आज म अरु दिदीबहिनी नबेचिउन भनेर के आई नेपालमा परामर्शकर्ताको रुपमा गरिरहेकी छु ।
कुराकानीमा आधारित
Comment Here!