पिसाव चुहिने समस्या पाल्दै महिला


निःशुल्क उपचारबारे अनभिज्ञ

प्रकाशित मिति :2016-06-10 14:46:16

रमला सिंगक
सुनसरी । खोटाङ बाक्सिला ६ बस्ने हर्कमाया राईलाई ३० वर्षकै उमेरमा पिसाव चुहिने समस्या भयो। अहिले उनको उमेर ४८ वर्ष पुगेको छ। १८ वर्षसम्म पिसाव चुहिने समस्या पालेर गाउँघर समाजमा उनी हेपिएर बसिन् । उनलाई ०५४ सालमा दोश्रो सन्तान जन्माउँदा चारदिनसम्म वेथा लागेको थियो। चार दिनपछि उनले मरेको बच्चा जन्माइन्।

त्यसपछि उनलाई पिसाव चुहिने समस्या भयो । ‘न बच्चा बाँच्न सक्यो न आफू स्वस्थ हुन सकेँ, त्यसपछि मेरो दुर्भाग्य सुरु भयो’, उनी भन्छिन् । लगातार पिसाव चुहिने समस्या र सुत्केरी अवस्थाकी विरामी श्रीमती र डेढ वर्षकी अवोध छोरीलाई छाडेर हर्कमायाका श्रीमान रामकाजी राईले रातारात घरपरिवार छाडे।

सुत्केरी, नवजात शिशुको मृत्युुको शोक अनि फिस्टुलाको पीडासँगै उनले आफ्नो जीवनका सुनौला सपनाहरू श्रीमान आउलाकी भन्ने पर्र्खाईमा विताइन्। रोगलाई कारण बनाएपनि बहाना भने मरेको छोरा जन्माएको भनेर श्रीमानले घर छाडेको उनी बताउँछिन्।

गत वैशादेखि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिस्टुलाको निःशुल्क उपचार गर्दै आएकी हर्कमायाले भनिन्, ‘फिस्टुला भएपछि श्रीमानले छाडे। घर समाजमा मलाई पिसाव गर्ने आइमाइ भनेर भन्न थाले। उपचार गर्ने पैसा पनि थिएन। कहाँ कसरी उपचार गर्ने भन्ने पनि थाहा थिएन। एकजना चिनेको मान्छेले निःशुल्क उपचार हुन्छ भनेर जानकारी दिएपछि यता आएको हो।’

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचार गरिरहेका फिस्टुलाका विरामी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचार गरिरहेका फिस्टुलाका विरामी

छोरी डेढ वर्षकी हुँदा घर छाडेका रामकाजीलाई १५ वर्षकी भएपछि तिनै छोरीले बाबुलाई खोजिन् र सोलुखुम्बुमा भेटिन्। उनले आफ्ना बाबुलाई तीन वर्षअघि घर फर्काएर ल्याएको हर्कमायाले बताइन्।

फिस्टुला समस्याबाटै पीडित सुनसरी पश्चिम कुशवाहाकी मायादेवी साहको कथा अलिक वेग्लै छ। पाँचौ सन्तान जन्माएपछि उनलाई पिसाव चुहिने समस्या भयो। अहिले उनको उमेर ४१ वर्ष पुगेको छ। २७ वर्षको उमरेदेखि उनले फिष्टुला सहँदै आइन्। उनलाई फिष्टुला भएको १४ वर्ष भयो।

रोगको उपचार गर्न उनी विराटगर, राजविराज, भारतको जीवछपुर, कुनौलीसम्म पुगिन्। धामीझाँक्री पनि लगाइन्। ‘यतिगर्दा हालसम्म ८ लाख रपैयाँ खर्च भयो, तर रोग निको भएन’ उनले भनिन्, ‘उपचार गर्न विभिन्न अस्पतालमा पुग्दा डाक्टरले यो रोगको उपचार हुनै सक्दैन समेत भने। सामान्य औषधी दिएर पठाए। कतिपयले निको पार्ने भनेर पैसा पनि खाए। तर पनि निको भएन। घरैमा बसेको बेला वीपी प्रतिष्ठानबाट एकवर्षअघि पश्चिम कुसाहामा निशुल्क स्वास्थ्य शिविर बस्यो।

उनले त्यहाँ जांच गराइन्। डाक्टरले यसको उपचार हुन्छ, त्योपनि निःशुल्क भने। त्यसैले उनी अहिले उपचारका लागि वीपी कोईराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा आएकी हुन्।

झापा बाहुनडाँगीकी ५५ वर्षीया लक्ष्मी दाहालको एक महिना अघि पाठेघरको शल्यक्रिया गरेपछि फिस्टुला भयो। पाठेघरमा खरावी भएपछि कोशी अन्चल अस्पतालमा शल्यक्रिया गरेर पाठेघर निकाल्दा असावधानीबस पिसाव थैलीमा प्वाल पारिदिएपछि फिस्टुला भएको लक्ष्मीले बताइन्। उनले भनिन्, ‘एउटा रोग निको पार्न गएको उल्टो अर्को पनि रोग थपेर पो पठाए। फिस्टुलाको उपचार जहाँसुकै नहुने र जुनसुकै डाक्टरले गर्न नसक्ने र नजान्ने भएकाले उनीहरूले नै वीपी प्रतिष्ठानमा रिफर गरे।’

फिस्टुलाको राष्ट्रिय केन्द्रको रुपमा स्थापित भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागका डा मोहनचन्द्र रेग्मीका अनुसार पछिल्लो समयमा मुलुकमा फिस्टुलाको समस्या भएका महिलाकोे संख्या बढेको छ। पाठेघरको शल्यक्रिपछि फिस्टुलाको समस्या भएका महिलाको संख्या बढेको उनले बताए।

डा माेहनचन्द्र रेग्मी

डा माेहनचन्द्र रेग्मी

सन २०११ मा ओरेक नेपाल र संयुक्त राष्ट्र संघ जनसंख्या कोष (यूएनएफपीए)ले नेपालमा गरेको सर्भे अनुसार वर्षमा दुईसयदेखि चारसय जना फिस्टुलाका नयाँ विरामी देखा पर्ने गरेका छन्। पाँचदेखि सात हजार पुरानै विरामी उपचारको पर्खाइमा रहेका छन्। उनले भने, …यो त सर्वेक्षणले देखाएको कुरा भयो। हामीले अनुमान गरेभन्दा चारगुना बढी बढी फिस्टुलाको समस्या भएकाहरू समाजमा छन्। यो समस्याको उपचार निःशुल्क हुन्छ भनेर जनस्तरसम्म प्रचार प्रसार पुग्न सकेको छैन।’

उनका अनुसार फिस्टुला समस्या भएका विरामीको एकजना कुरुवासहित अस्पतालसम्म आउने, उपचार गर्दा लाग्ने सम्पुर्ण खर्च, कुरुवाका लागि खाने, सवै खर्च निःशुल्क रहेको छ। उनले भने, ‘एकजना फिस्टुला रोगीका लागि यति नै खर्च हुन्छ भनेर भन्न सकिने अवस्था छैन। फिस्टुला भएर ओढारमा बस्न बाध्य जाजरकोटकी कालिका खड्काको फिस्टुला    उपचार गर्दा उनलाई प्रतिष्ठानमा १२० दिन राख्नुपर्‍यो। सवै गरेर उनको मात्र १ लाख रपैयाँ खर्च भयो।’

उनले विकट जिल्लाबाट उपचार गर्न आउनेलाई कुरुवा सहितको हवाइजहाजको भाडा समेत उपलव्ध गराउने गरेको बताए। निःशुल्क उपचार गरिने भएपनि समाजमा लाज डर, हिनताबोध, चेतनाको कमी र अशिक्षाका कारण फिस्टुलाको समस्या भएकाहरू अस्पताल नआउने समस्या रहेको उनको भनाइ छ। गत चैतको अन्तिम साता सुर्खेतमा सम्पन्न चिकित्सकको भेलाले यो समस्याका बारेमा देशव्यापीरुपमा जनस्तरसम्म प्रचार प्रसार गर्ने विषयमा योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने गृहकार्य भइरहेको उनले बताए।

नेपालमा फिस्टुला फाउण्डेशन, संयुक्त राष्ट्र संघ जनसंख्या कोषले पुर्वमा वीपी प्रतिष्ठान, काठमाडौं उपत्यकामा मोडल अस्पताल र पाटन अस्पताल, पश्चिममा सुर्खेत क्षेत्रीय अस्पतालमा फिस्टुलाको निःशुल्क उपचार गर्न आर्थिक सहयोग गरिरहेको डा रेग्मीले जानकारी दिए। उनले भने, ‘नेपालमा छ वर्षअघिसम्म महिलामा हुने यो समस्यालाई छुट्टै समस्याको रुपमा लिइएको थिएन। चिकित्सकदेखि निती निर्माताहरूले समेत सामान्य रुपमा लिएका थिए। तर समाजमा यही फिस्टुलाकै कारण महिलामाथि विभेद बढेको छ भन्ने बल्ल चेतना पलाएको छ ।’

अझै पनि फिस्टुलाको उपचार हुँदैन भन्ने भ्रम रहेको, डाक्टरहरुले पनि गाउँमा जस्तै महिलालाई अपमानित व्यवहार गर्छन् कि भन्ने भ्रमले गर्दा विरामीहरू आफ्नो रोग लुकाएर बस्न बाध्य भएको उनले बताए। फिस्टुलाका राष्ट्रिय प्रशिक्षक समेत रहेका डा रेग्मीका अनुसार नेपालमा यो रोगको संस्थागत उपचार २०१० देखिमात्र सुरु भएको हो।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: