महिलाको ‘घरबार’ चिन्तामा पुरुष


प्रकाशित मिति :2016-06-11 10:00:24

दुर्गा कार्की

For blogभर्खरको कुरा हो, हामी एउटा विदेश भ्रमणमा थियौँ। टोलीमा २ महिला र १३ पुरुष गरेर १५ पत्रकार थियौँ। यात्रामा एकजना टेलिभिजन पत्रकारले कुरै कुरामा भने, ‘महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाको श्रीमानसँग छिटै डिभोर्स हुन्छ रे हो?’

आफ्नो प्रश्न वास्तविकतामा आधारित छ भन्ने देखाउन उनले केही चिनिएका पत्रकार र महिला अधिकारकर्मीको नाम लिए। त्यतिकैमा अर्का पत्रकारले थपिहाले, ‘भारतमा सोनियाले आफ्नो नामको पछाडि गान्धी नै लेखिन्। नेपालका महिलालाई श्रीमानको थर लेख्न किन समस्या भएको हो?’

समाजलाई सुसूचित गराउने भनिएका पत्रकारको यो प्रश्नभित्र एउटा प्रश्न मात्रै थिएन, सिङ्गो मानसिकता, बुझाइ र मान्यता थियो। यहि एउटा प्रश्नले हाम्रो सामाजिक मनोदशा बुझाउँथ्यो। अहिलेपनि महिला घर बाहिर निस्किएपछि समाज कसरी तरङ्गित हुन्छ भन्ने एउटा उदाहरण थियो त्यो।

हुन त पुरुषप्रधानताको संकिर्ण मनोवृत्तिमा हुर्केबढेको मेरो पुस्त्ताका लागि यो आफैँमा आश्चर्यको कुरा थिएन। एक अर्थमा ‘हात्ती सडकमा निस्किएपछि कुकुरहरू भुके’ जस्तै कुरा थियो त्यो, तरपनि यात्राभरि मलाई कुनै न कुनै रुपले यसले पछ्याइ रह्यो।

समाजमा अगाडि बढेका महिलालाई होच्याउन प्रयोग गर्ने अर्को थेगो हो– केही सिमित हुनेखाने महिलाले महिलाले अधिकारको कुरा गर्दैमा सामान्य महिलाको जीवनस्तर बदलिँदैन। यात्राका क्रममा पुरुष पत्रकारले महिलामाथि गरेका यस्ता धेरै प्रश्न हामीले सुन्नुपर्‍यो।

मैले केही प्रष्ट पार्ने कोशीस गरेँ। यसरी क्रियाशिल महिलालले उठाएको आवाज र दिएको दवावले नै महिलाका विषयमा कानुन बनेको छन्, महिलाहरू बोल्न सक्ने भएका छन्। हिंसा सहनुहुन्न भन्ने चेतना बढेको छ, पहिलाभन्दा हिंसाका उजुरीहरूधेरै पर्न थालेका छन्। तर, पूर्वाग्रहको कालो बादलले भरिएको उनीहरूको मस्तिस्कमा यसले कुनै उज्यालो किरण छर्ने छाँट देखिएन। त्यसैले मैले धेरै प्रतिवाद गरिनँ।

सानाठूला पारिवारिक जमघटदेखि राष्ट्रिय/अन्तर्राष्ट्रिय सभासम्मेलनहरूमा समेत अधिकारको क्षेत्रमा सक्रिय महिलाले बारम्बार सामना गर्नुपर्ने प्रश्न हुन् यी। यात्रामा उठेका यी प्रश्नलाई पनि मैले सामान्य रुपमा लिएँ।

तर, मलाई एउटा प्रश्नले पिछा गरिरहयो। किन सार्वजनिक क्षेत्रमा काम गर्ने महिलाको निजी जीवनमाथी समाजको कर्के नजर परिरहन्छ? एउटी महिला अधिकारकर्मीको आफ्नो श्रीमानसँगको सम्बन्ध कुनै पुरुष पत्रकारका लागि किन टाउको दुखाइको बिषय भइरहेको छ? आफैँले जवाफ निकालें– यसको सरल मनोविज्ञान भनेको अब महिला ‘हस हजुर’ भन्न छाडेर ‘यस्तो किन?’ भन्न थाले। महिलाको यो प्रश्नवाचक हमलाले अहिले पनि साँघूरो मनोग्रन्थीका पुरुष विचलित छन्। हाम्रो यात्रामा पनि यही सत्य प्रकट भएको हो।

समाजमा जो प्रखर महिला छन् के उनीहरूको घरबार साँच्चै राम्रो र सहज छैन? यदि यस्तो हो भने महिला सक्रिय भएको र घर वाहिर आएर काम गरेको देख्न र पचाउन सक्ने समाज अझै निमार्ण भैसकेको छैन। महिलाको बोलीलाई अझैपनि ‘पोथी बासेको’ भनेरै बुझ्ने गरिन्छ। मनमनै प्रश्नपनि गरेँ। आखिर घरवार राम्रो हुनु भनेको के हो? चुपचाप ज्यादती सहेर बस्नु पर्ने? ती पुरुष कसरी पसे धेरैजसो महिलाबादीका बेडरुममा र यसरी टिप्पणी गरे! अचम्मै लाग्यो।

अधिकारको क्षेत्रमा काम गरेका महिला हुन वा अन्य क्षेत्रका कामकाजी महिला, उनीहरूले घरको काममा पनि बरावरीको जिम्मेवारी खोज्नु स्वभाविक हो। परम्परागत सामाजिक मुल्यमानन्यतामा हुर्केकाहरूले श्रीमतीलाई घरको काममा सघाउँन वा घरको काम गर्न गरेको आग्रहलाई आफ्नो आत्मसम्मानमा चोट पुगेको ठान्छन्। ‘खुट्टा भए जुत्ता कत्ति कत्ति’ भनेर जुत्ताको दर्जामा राखिएका श्रीमतीले काम लगाउँदा श्रीमानकोे पुरुषत्वमाथि चोट पुग्छ र सुरु हुन्छ द्वन्द्व। महिलाको ‘घर बिग्रएको’ देख्ने पुरुष मनोविज्ञान यसैको उपज हो।

पत्रकारले विश्वव्यापी परिवर्तनलाई छिटो थाहा पाउँछन र बिश्लेषण गर्ने क्षमता राख्छन् भनिन्छ। नेपाली पत्रकारिता क्षेत्रको मुलप्रवाह दावी गर्ने केही पुरुष पत्रकारका ती प्रश्नले नेपाली पत्रकारिताको मनोदशा नराम्ररी उदाङ्गो पारिदियो।

यसको अर्थ हाम्रो टोलीमा रहेका सवै पत्रकार एउटै मनोविज्ञानका थिएनन्। तर, केही सिमित सख्याँको पत्रकारका प्रश्नले बौद्धिक क्षेत्र मानिने चौथो अङ्गले अधिकारका क्षेत्रमा लागेका महिलाका विषयमा कस्तो धारणा पालेका रहेछन् भन्ने पर्दाफास भयो।

समाजमा अहिले धेरै पुरुषको मानसिकता परिवर्तन भइरहेको छ। उनीहरू घरको काममा श्रीमतीलाई सघाउने कुरालाई समान साझेदारीका रुपमा लिन थालेका छन्। तर समाजमा अहिले पनि केही पात्रहरू यस्ता छन् जो महिलालाई परम्परागत भूमिकामा हेर्न मन पराउँछन्। हाम्रो यात्रामा पनि त्यसको एउटा झलक देखियो त के अचम्म भो!

अन्त्यमा, चर्चित महिलाबादी कमला भासिनले भनेको कुरा स्मरण गर्नु मलाई उपयुक्त लाग्यो। उनी भन्छिन् ‘पुरुषहरूमा केही खरावी छ, उनीहरूले महिलालाई उनीहरूको परिवर्तनका लागि समर्थन गर्नुभन्दा शताब्दियाैंदेखि पितृसत्तामा जकडिएका आफैँलाई बचाउनु जरुरी भैसकेको छ। यसो गरेनन् भने सवैभन्दा धेरै हानी उनीहरू स्वयंलाई हुन्छ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: