‘नागरिकताका नाममा भत्ता खोसियो’


प्रकाशित मिति :2016-06-12 12:38:33

सरकारले सामाजिक सुरक्षा भत्ता लिन नागरिकता प्रमाणपत्र अनिवार्य गरेपछि विभिन्न कारणले नागरिकता बनाउन नसकेका धेरै वृद्धा र असक्त महिला भत्ता पाउनबाट वञ्चित छन् ।

अम्बिका भण्डारी

ambika ०७१ फागुन २९ को मध्यघाममा मेचीनगर नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम भइरहेको थियो । सहभागीको कुनाबाट एउटी वृद्धा उठिन् र केही बोल्न खोजिन् । सार्वजनिक स्थलमा बोल्ने बानी नभएर होला, उनी केही लर्बराइन्, अलिअलि हडबडाइन् पनि । केही भन्न खोज्दै थिइन्, तर उनका अभिव्यक्ति शब्दमा होइन, आँसुमा पोखिए । आँसुसँगै उनी बोल्न थालिन् ।

‘मेरो भत्ता खोसियो हजुर, दिलाइदिनुपर्‍यो !’ उनले कार्यक्रममा पटक–पटक बोलेको वाक्य यही थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पन्थी पनि उपस्थित थिए । नगरका राजनीतिक दलका नेता तथा सामाजिक संस्थाका अगुवाले पनि उनले डाको छाडेर रुँदै बोलेको सुने ।

बोल्दै गर्दा उनका आँसु झरिरहेका थिए । मुजा परेको अनुहारमा पीडा र दुःख छ्याङ्गै पढ्न सकिन्थ्यो । उनमा थप बोल्ने चाहना थियोे । केही अरू भन्न चाहन्थिन् उनी । तर, मुखबाट तिनै शब्दहरू मात्रै दोहोरिन्थे । ‘मेरो भत्ता खोसियो हजुर, दिलाइदिनुपर्‍यो !’

सार्वजनिक सुनुवाइ कार्यक्रममा रुने हजुरआमा मेचीनगर– ११ की ८२ वर्षीया फूलफुली राजवंशी हुन् । गएको वर्ष जेठसम्म मासिक पाँच सय रुपैयाँ वृद्धभत्ता पाइरहेकी उनी हिजोआज नगरपालिकाले नागरिकता प्रमाणपत्र खोज्न थालेपछि भत्ता पाउनबाट वञ्चित भएकी छिन् ।
नगरपालिका कार्यालयबाट डेढ किलोमिटर दक्षिण पारिजातटोलमा फूलफुलीको सानो झुपडी छ । दुई छोरा अलग्गै गरिखान्छन् । उनी एक्लै बस्छिन् । सेतै फुलेको कपाल, चाउरिएको मलीन अनुहार । सहाराविहीन जीवन । छरछिमेकले दया–माया गरेर दिएको खाएर उनको दैनिकी धानिएको छ ।

सरकारले दिएको भत्ताले उनलाई निकै राहत पुगेको रहेछ । मन लागेको खानेकुरा किनेर खान सजिलो भएको रहेछ । तर, नगरपालिकाले नागरिकता प्रमाणपत्र खोजेपछि उनी दुःखी छिन् । छिमेकीका अनुसार जहाँ जसलाई भेट्दा पनि फूलफुली नागरिकता र वृद्धभत्ताकै कुरा निकाल्छिन् ।

फूलफुली जन्मे–हुर्केको ठाउँ त्यही गाउँ हो, जहाँ त्यो सार्वजनिक सुनुवाइ भइरहेको थियो । फूलफुली बसोबास गर्दै आएको पारिजातटोल विकास संस्थाका अध्यक्ष मनोज गौतमका भनाइमा उनी यस क्षेत्रकी पुरानी बासिन्दा हुन् ।

फूलफुलीको नाम मतदाता सूचीमा पहिल्यैदेखि छ । त्यसकै आधारमा यसअघि उनले भत्ता पाउँदै आएकी थिइन् । तर, अहिले सरकारले नागरिकता अनिवार्य गरेको छ । विदेशीले भत्ता नपाउन् भनेर नागरिकताको प्रावधान राखिए पनि फूलफुलीजस्ता नागरिकता नबनाएका नेपाली वृद्धाका लागि त्यो नियम बाधक भएको छ । उनकै शब्दमा त्यसले उनको भत्ता खोसेको छ ।

bika

उनी भन्छिन्, ‘बाल्यकालदेखि अहिलेसम्म यही माटोमा बित्यो, नागरिकता चाहिन्छ भन्ने होसै भएन ।’ पञ्चायतकालमा गाउँमा नागरिकता टोली आउँदा धेरैले नागरिकता बनाए । तर, बनाइदिएबापत कर्मचारीले पाँच सय रुपैयाँ घुस माग्दा दिन नसकेको कारण त्यसबेला आफ्नो नागरिकता नबनेको उनको भनाइ छ ।

फूलफुलीको नागरिकता अब कसले बनाइदिने ? उनका पति वीरेन राजवंशीको दश वर्षअघि नै मृत्यु भइसकेको छ । बल्ल नागरिकताको महत्व बुझेकी फूलफुलीको जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता लिने पहुँच र आर्थिक हैसियत छैन । उनका भदा मैन राजवंशी आफूले नागरिकता बनाइदिँदा मिल्ने भए फूलफुलीका लागि जुनसुकै कागज (सनाखत)मा सही गर्न तयार रहेको बताउँछन् । उनी भन्छन्, ‘नागरिकता बनाइदिन पाए उनले बुढेसकालमा हेपिएर बस्नुपर्ने थिएन ।’ तर, उनी पनि योभन्दा धेरै सहयोग गर्न नसक्ने बताउँछन् ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सामाजिक विश्लेषक गोविन्द न्यौपानेका अनुसार सुनुवाइ कार्यक्रममा सरोकारवाला निकायले उनलाई आश्वासनसमेत दिएनन् । खोसिएको भत्ता पाउने आशमा आएकी फूलफुलीले खसाएको आँसुको त्यहाँ कुनै मूल्याङ्कन नभएको न्यौपानेको विश्लेषण छ ।

‘नागरिकता नभएर राज्यले दिएको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेका मकवानपुर र चितवनका चेपाङलाई त्यहाँको सीडीओले घरमै पुगी नागरिकता दिलाएर भत्ताको व्यवस्था मिलाएका थिए,’ विश्लेषक न्यौपाने सरकारी निकायप्रति प्रश्न तेस्र्याउँदै भन्छन्, ‘के झापाको सीडीओले फूलफुलीलाई त्यसरी नै नागरिकता दिलाउन सक्दैनन् ?’

आफू जन्मेको देशको नागरिकता पाउनु सार्वभौम नागरिकको अधिकार हो । तर, फूलफुली मात्र होइन त्यही गाउँमा उनी जस्तै ८० वर्षीया बुधुनी उराउ, ८५ वर्षीया भाका राजवंशी र ८९ वर्षीया बुद्धिमाया तामाङले पनि नागरिकता पाएका छैनन् । उनीहरू सबै ज्येष्ठ नागरिक र एकल भएर पनि राज्यबाट पाउने सुविधाबाट वञ्चित छन् ।

आँखाको ज्योति गुमेकी बुधुनी उराउ भत्ताबारे बेखबर छिन् । सामान्य हिँडडुल गर्नसमेत नसक्ने र कान पनि राम्रो नसुन्ने बुधुनीलाई सरकारले वितरण गरिरहेको ज्येष्ठ नागरिक तथा विधवा भत्ताबारे जानकारी छैन । उनका पति माक्रा उराउको १६ वर्षअघि नै मृत्यु भएको थियो ।

करुणाबस्तीकी भाका राजवंशी सबैभन्दा पुरानी बासिन्दा हुन् । आफ्नो उमेरसमेत थाहा नभएकी राजवंशीका १७ सन्तानमध्ये दुईजना मात्र बाँचेका छन् । छोरीसँग बसेकी भाका पनि नागरिकता नभएकै कारण भत्ता पाउनबाट वञ्चित छिन् । उनको सरकारसँग दुखेसो छ, ‘हामीजस्ता गरिबको भत्ता किन बन्द गरेको ? नागरिकताबिना दिन मिल्दैन भने नागरिकता बनाइदिनुपर्‍यो नि !’

८९ वर्षीया बुद्धिमाया तामाङको कथा पनि फरक छैन । निर्वाचन आयोगले दिएको मतदाता परिचयपत्र देखाउँदै उनले त्यसकै आधारमा ०६५ देखि भत्ता लिँदै आएकोमा गएको असारदेखि नगरपालिकाले रोकिदिएको छ । ०४५ मा पति लालबहादुर तामाङको मृत्युपछि उनी छोराबुहारीसँग बस्दै आएकी छिन् ।

मेचीनगर नगरपालिकाका अनुसार अहिलेसम्म पाँच हजार ७६ जनालाई विभिन्न किसिमका सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ । वृद्धा महिला चार सय आठ, वृद्ध पुरुष सात सय ७५, एकल महिला ६० वर्षमाथिका सात सय ९२ र १८ वर्षमाथिका सात सय ७६, लोपोन्मुख जातिका महिला आठ सय ५१, पुरुष आठ सय ५८, ६० वर्षमाथिका ज्येष्ठ दलित महिला ५२, पुरुष ८२ जना, दलित बालबालिका, महिला ६०, पुरुष ५२ जनाले भत्ता पाइरहेका छन् ।

(सञ्चारिका फिचर सेवा)
(अम्बिका राससकी झापा संवाददाता हुन् ।)
 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: