महिला खबर

?
कपिलवस्तु । एकै दिनमा सजिलै बैवाहिक अंगीकृत नागरिकता पाएपछि गीता कुमारी गुप्ता निकै खुशी खुशी छिन् । भारत जन्म भई कृष्णनगर ५ का पटेश्वरी प्रसाद गुप्तासँग वैवाहिक बन्धनमा बाँधिएकी ३७ वर्षीय गीता इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट साताअघि नागरिकता प्राप्त गरिन । श्रीमान्सँग प्रशासन कार्यालयमा पुगेकी गीताले फाइल पेश गरेको केही समयभित्रै ३८२०७९ नम्बरको नागरिकता पाएको बताइन् ।
उनी जस्तै भारत जन्मेर विद्यानगर ८ का मिलन केवटसँग विवाह गरेकी ४५ वर्षीय प्रभावती केवटले पनि वैवाहिक अंगीकृत नागरिकता पाएकी छिन् । नेपाली पुरुषसँग विवाह गर्दा नागरिकता बनाउन निकै झन्झटिलो ठानेकी प्रभावती नागरिकता पाएपछि दङ्ग छिन् । भन्छिन् ‘मैले सजिलै नागरिकता पाउँछु भन्ने लागेको थिएन ।, छिट्टो पाँईदैन भनेको सुनेको थिएँ तर झुट रहेछ ।’ गीता र सुभावती मात्र होइन भारत जन्मेर नेपाली पुरुषसँग विवाह गरेका अनिता यादव, गुडियादेवी मौर्य, आयसा खातुनले पनि बैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र प्राप्त गरका छन् । विदेशी महिलाको नागरिकता नबन्ने हल्ला सुनेका उनीहरु ६ जनाले नागरिकता पाए । आफ्नै आँखाले प्रत्यक्ष देखेपछि र भोगेपछि अहिले नागरिकताप्रतिको गलत भ्रम हटेको उनीहरु बताउँछन् ।
संविधानको धारा १० उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी महिलाले चाहेमा संघीय कानुन बमोजिम अंगीकृत नागरिकता लिनसक्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार इलाका प्रशासन कार्यालय चन्द्रौटामा अहिले नेपाली पुरुषसँग विवाहित विदेशी महिलाको वैवाहिक अंगीकृत नागरिकता बनाउन आउनेको संख्यामा वृद्घि भएको छ । कपिलवस्तुको चन्द्रौटास्थित इलाका प्रशासन कार्यालयबाट मात्र ४ सय २५ जना विदेशी महिलाले नेपाली नागरिकता पाइसकेको प्रशासन प्रमुख एवं उपसचिव मेघनाथ उपाध्ययले जानकारी दिएका छन् । नयाँ संविधान २०७२ र नागरिकता ऐन २०६३ अनुसार अंगीकृत नागरिकता वितरण गरिएको उपसचिव उपाध्ययले बताए । अंगीकृत नागरिकताका लागि विवाह दर्ता, पतिको नागरिकता, सपथ पत्र, त्याग पत्र आदि आवश्यक कागजात पुगेकालाई एकै दिन नागरिकता दिने गरेको जानकारी दिए ।
Comment Here!