महिला खबर
पाँचथर । जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति पाँचथरले जिल्लामा रहेका औषधि पसललाई औषधि व्यवस्था विभागमा सूचीकृत गराएरमात्र गर्भपतन सम्बन्धी अाैषधी बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।
समितिले गैरकानुनी रुपमा गर्भपतन गराउने विज्ञापन सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
पाँचथर जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि त्यसको न्यूनीकरण गर्न यस्तो निर्णय गरेको समितिले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/ ७२ मा पाँचथरमा एक हजार तीन सय ९४ जना महिलाले गर्भपतन गराएका छन् । जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थामा एक हजार ४५ र जिल्ला अस्पताल पाँचथरमा तीन सय ४९ जनाले गर्भपतन गराएका हुन् । आइपस नेपालका जिल्ला संयोजक केदार भण्डारीका अनुसार आर्थिक वर्ष २०७२/७३ साउनदेखि वैशाखसम्म जिल्ला अस्पतालबाहेक अन्यत्र आठ सय ८३ जनाले गर्भपतन गरेको पाइएको छ ।
बाह्र हप्तासम्मको गर्भ, हाडनाता र जबर्जस्ती करणी भए १८ हप्तासम्म, महिलाको ज्यान खतरामा पर्ने वा शारीरिक वा मानसिक रुपमा गम्भीर असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्यता प्राप्त चिकित्सकको सुझावअनुसार गर्भपतन गराउने व्यवस्था गर्भपनतसम्बन्धी कानुनमा छ ।
Comment Here!