महिला बेचबिखनको नयाँ रुट : काठमाडौं–कञ्चनपुर हुँदै दिल्ली


प्रहरी भन्दा दलाल चलाख

प्रकाशित मिति :2016-06-14 17:44:34

केशव पन्त

तस्विर \ सगरमाथा टिभी बाट साभार

तस्विर \ सगरमाथा टिभी बाट साभार

महेन्द्रनगर । मानव बेचविखनका विरुद्धमा काम गर्ने संघसंस्थाको काम गर्ने तरिका भन्दा बेचविखनमा संलग्न दलालको सञ्जाल बढी सक्रिय हुन थालेको पाईएको छ । काठमाडाैं–दिल्ली बस सेवा सञ्चालन भएपछि मानव बेचविखनका घटना बढेपछि सीमा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले बसमा चेकजाँच बढाएको छ । बसमा चेक जाँच बढेसँगै दलालहरुले पनि जाने तरिका परिवर्तन गरेका छन् । उनीहरुले बसमा कडा चेकजाँच हुन थालेकाले काठमाडौ देखि बसबाट सिधा दिल्ली नगई महेन्द्रनगरसम्म जाने होटेलमा केहिदिन बसेर भारतको वनवसा जाने गरेको पाईएको छ ।

गत शुक्रबार महत्तरीकी २५ बर्षीया एक युवतीलाई माईती नेपाल कञ्चनपुरले भारतीय शहर बनवसा पुगेपछि उद्धार गरेर ल्याएको छ । हिटौडा घर भई काठमाडौमा बस्दै आएकी सानु भनिने माया तामाङले ४ दिन पहिले कञ्चनपुरको महेन्द्रनगरसम्म पठाएकी ती युवती ३ दिनसम्म महेन्द्रनगरको पोखरा होटेलमा बसेकी थिइन् । हाल माईती नेपालको संरक्षणमा रहेकी युवतीले उनलाई काठमाडौबाट सानु भनिने माया तामाङले नै दिल्ली पठाएको बताईन् । मायाले उनलाई ‘तिमी महेन्द्रनगरमा बस , तिम्रो सामान लगिदिने व्यक्ति आउँछ त्यसपछि तिमि पनि जानु ।’ भनेर पठाएको उनले बताएकी छिन् । युवतीको झोला भारतीय युवकले मोटरसाईकलमा लगिदिएको र उक्त कार्यमा महेन्द्रनगरका एक व्यक्तिको सहयोग रहेको माईती नेपाल स्रोतले जनाएको छ । तर, व्यक्तिको पहिचान भने हुन नसकेको माईती नेपालले जानकारी दिएको छ ।

आफ्नो झोला सहितको सामान पहिले पठाईसकेर शुक्रवार बेलुका भारतीय नम्बर प्लेटको मोटरसाईकलमा गड्डाचौकी हुँदै वनवसा तर्फ गएकी ती युवतीलाई भारतीय प्रहरीको सहयोगमा माईती नेपालले उद्धार गरेको हो । दिल्ली हुदै विदेश जान हिडेकी युवतीलाई वनवसासम्म पुर्‍याउने युवक भने फरार रहेका छन् । काठमाडौमा बसेर मानब वेचविखनको काम गर्दै आईरहेकी सानु भनिने माया तामाङले नै फोनका माध्यमबाट यो बन्दोवस्त मिलाएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताईन । ‘हामीले काठमाडौं–दिल्ली बसबाट दलालले नेपाली महिलालाई भारत लैजाने भन्दै बसमा निगरानी बढायौ, दलालहरुले अर्कै तरिका अपनाए, संयोजक भट्टले भनिन– अव त महेन्द्रनगरका होटेलहरुमा १\२ दिन बसेर शानसँग दिल्ली जान लागेका छन् ।’ कतिपय घटनामा त दलालले नै बस भाडा, खाना खर्च र कोठा खर्च समेत उपलब्ध गराएको र कतिपय महिलाले आफै लगानी पाईएको छ ।

स्थानीय महिला जस्तै बनेर एउटा हेन्डब्याग मात्रै बोकेर जान्छन्, धेरै केरकार गर्न पनि गाह्रो छ, संयोजक भट्टले भनिन्–‘भारतीय मोटरसाईकलवाला व्यक्तिको सम्बन्ध नेपालीसँग छ, नेपालीले पनि सहयोग गरेका छन्, पहिचान हुन मात्रै नसकेको हो ।’ माईती नेपालले होटेलमा गएर चेकजाँच समस्या हुन्छ, यसमा प्रहरी सक्रिय हुनुपर्छ भट्टले भनिन् ।

केही दिन पहिलेपनि कञ्चनपुरको वसपार्क स्थित एक होटेलबाट कैलालीको लम्कीका बालिकाको उद्धार गरिएको थियो । उक्त घटनापछि होटेलमा चेकजाँच बढाउने प्रहरीले बताएको भएपनि बेचविखनका घटना भने रोकिएका छैनन् । कञ्चनपुरलाई मानब बेचविखनको संवेदनशील जिल्लाका रुपमा लिएर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेलुका होटेलहरुमा चेकिङ गर्ने तर, काठमाडौंबाट आएका गाडी विहान पुग्ने र गाडीबाट उत्रेर होटलमा एक छिन बस्ने भन्दै युवतीहरु र दलालहरु बसेको पाइएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले आजैबाट होटेलमा बसेका मान्छेको ईन्ट्री छ की छैन भन्ने बारेमा समेत जानकारी लिईने बताउनुभयो । महेन्द्रनगरबाट चल्ने मुन्द्रे यातायातको पनि मानब बेचविखनमा ठूलो हात भएको हुन सक्ने भएकाले यसतर्फ ध्यान केन्द्रित गरिएको छ, डिएसपी खनालले भने ‘पूर्वी नेपालबाट दिल्ली तथा बैदेशिक रोजगारीका नाममा जान लागेका युवती तथा महिलालाई दलालसँग मिलेर मुन्द्रे यातायातले बनवसा पु¥याउने गरेको आशंका छ ।’ बसका चालक, सहचालक, मुन्द्रे यातायात, भारतीय तथा नेपाली नागरिकको समेत हात भएको हुन सक्ने भएकाले हामी निगरानी बढाउने डिएसपी खनालले बताए । उनले भने ‘सबैसँग छलफल गर्दैछौ, कञ्चनपुरबाट मानव बेचविखनका घटना हुनै नदिन हामी खटिन्छौ ।’

 कञ्चनपुरको सीमा नाका भएर दलालले सिन्धुपाल्चोक, सिन्धुली, मोरङ, झापा, ईलाम, नुवाकोट, काठमाण्डौ लगायतका जिल्लाका महिला तथा युवती दिल्ली लैजाने गरेको छ । दुई साता पहिले मात्रै सिन्धुपाल्चोका पाँच जना महिलालाई कञ्चनपुरको त्रिभुवनवस्तीबाट भारतको दिल्ली लगिरहेका बेला सिन्धुपाल्चोक कै हिमाल तामाङ पक्राउ परेका थिए । हिमाल तामाङ विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मानव बेचविखन मुद्धा समेत दर्ता भईसकेको छ । दिल्ली हुदै वैदेशिक रोजगारीका लागि किर्गिस्तान, ओमान, नर्वे, कुवेत, कतार लगायतका देशमा पठाईदिने भन्दै दलालहरुले नेपाली महिलालाई लैजाने गरेका छन् । गतवर्ष बैशाख १२ गते आएको भुकम्पपछि कञ्चनपुरको सीमा क्षेत्रबाट २ सय ५० महिलाको उद्धार गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: