कपिलवस्तु बलात्कार घट्ना : दोषीलाई कडा कारवाहीको माग
स्वास्थ्यमा क्रमिक सुधार
महिला खबर

पीडकले टोकेको दाग देखाउँदै पीडित
ललितपुर । शसस्त्र प्रहरीबाट कपिलवस्तुमा बलात्कारमा परेकी बोल्न नसक्ने महिलाको अवस्थामा सुधार भईरहेको अस्पतालले जनाएको छ । थापाथलीस्थित परोकार प्रसूति गृहमा उपचाररत उनको अवस्थामा केही सुधार आएको उनको उपचारमा संलग्न नर्स सुकु लामाले जानकारी दिएकी छिन् ।
उनको उपचार खर्च महिला तथा बालबालिका मन्त्रालयले व्यहोर्ने आश्वासन दिएको राष्ट्रिय बहिरा संघका महासचिव केपी अधिकारीले जानकारी दिएका छन् । अधिकारीले दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने बताएका छन् । उनले सांकेतिक भाषामा शसस्त्र प्रहरीको टोलीले बलात्कार गरेको बताउँदै आएकी छिन् । कपिलवस्तु प्रहरी कार्यालयले एक जनालाई मात्र नियन्त्रणमा लिएकोले सबै दोषीलाई पक्राउ गरि सजाय दिनुपर्ने पीडितकी भाउजुको भनाई छ । पीडितको शरीरभरी टोकिएका दाग देखाउँदै उनकी भाउजुले भनिन् ‘खाना नखाने, एकोहोरिने समस्या थियो, अहिले सांकेतिक भाषामा केही कुरा गर्न थालेकी छन् ।’
बलात्कारको आरोपमा प्रहरीले जवान लोकराज अवस्थीलाई नियन्त्रणमा लिइ कारवाही थालेपनि घटनामा अरुपनि संलग्न रहेको सत्यतथ्य पत्ता लगाई सवै दोषीलाई कानुन बमोजिम कारबाही गर्न स्थानीयले पनि माग गर्दै आएका छन् । आन्दोलनरत अधिकारकर्मी र प्रहरीबीच घटनालाई निष्पक्ष, प्रभावकारी र त्रुटिरहित ढंगबाट अनुसन्धान गर्न, पीडितलाई उचित औषधि उपचारतर्फ सरोकारवाला निकाय जवाफदेही हुनेलगायत ४ बुँदे सम्झौता भएको छ । स्थानियले कपिलवस्तुको विन्दवासिनी गणमै बाहिर पुगेर दोषीलाई कार्रवाहीको माग गरेका थिए ।३५ वर्षीया उनलाई गत जेठ ३० गते साँझ शसस्त्र प्रहरीमा कार्यरत जवानले बलात्कार गरेका थिए ।
यसैवीच राष्ट्रिय मानव अधिकार आयोगले घटनाको सम्बन्धमा अनुसन्धान गरी संलग्न भनिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूलाई आवश्यक अनुसन्धान पश्चात कानून बमोजिम तत्काल कारबाही गर्न तथा पीडितको सम्पूर्ण औषधि उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै घटनाको अनुगमन सुरु गरिसकेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘बहिरा महिलामाथि निरन्तर भइरहेका बलात्कार एवं दुव्र्यवहारका घटनामा आवश्यक कारबाहीको माग गर्दै राष्ट्रिय बहिरा महासंघ नेपालले आयोगमा बुझाएको ज्ञापन पत्रबाट कानून बमोजिम कारवाहीको माग गरिएको तर्फ पनि आयोग सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदछ ।’
आयोगले उक्त घटनाको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पत्राचार समेत गरेको जनाएको छ । घटनाको सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी राष्ट्रिय मानव अधिकार आयोगलाई जानकारी गराउन नेपाल प्रहरीलाई निर्देशन गरिएको र नेपाल प्रहरीलाई आवश्यक सहयोग पु¥याउन सरोकारवालाहरु सबैलाई आयोगले आग्रह गरेको छ ।
Comment Here!