महिला खबर
ललितपुर । पत्रकार महिलाको पेशागत सुरक्षा र कार्यक्षेत्रमा सम्मान महिलामैत्री सञ्चारमाध्यम नेपाल प्रेस युनियन महिला विभागको अभियान भन्ने नारासहित सम्पन्न नेपाल प्रेस युनियन महिला विभागको भेलाले पत्रकार महिलाको पेसागत सुरक्षा र कार्यक्षेत्रमा सम्मानजनक व्यवहार र महिलामैत्री सञ्चारमाध्यम हुनुपर्ने माग गरेको छ ।
नेपाल प्रेस युनियन महिला विभागले काठमाडौंमा आयोजना गरेका राष्ट्रिय भेलाको अन्तिम दिन जारी गरेको नौ बुँदे घोषणापत्रमा नयाँ संविधानले व्यवस्था गरे अनुरुप राज्यका हरेक निकायमा र सबै प्रकारका सञ्चार गृहमा कर्मचारी एवं पत्रकारको दरबन्दीमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रावधान अनिवार्य लागू गर्न माग गरिएको छ ।
श्रमजीवि पत्रकारलाई न्यूतम पारिश्रमिक निर्धारण समितिले सिफारिश गरे अनुसारको सबै सुविधा कार्यान्वयन गर्न र लागू भए नभएको अनुगमन गर्न भेलाले नेपाल सरकारसँग माग गरेको छ ।
घोषणापत्रमा सञ्चार क्षेत्रमा कार्यरत महिलाको पेसामा निरन्तरताको वातावरण बनाउन अन्य सार्वजनिक विदा र तलबसहितको तीन महिनाको सुत्केरी विदा, परिवारका सदस्यको मृत्यु हुँदा किरिया तथा शोक विदाको व्यवस्था गर्नुपर्ने सबै सञ्चार गृहमा लैङ्गिकमैत्री वातावरण हुनुपर्ने, रातको समयमा काम गरेर घर फर्कनका लागि यातायातको सुविधा अनिवार्य उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
Comment Here!