आर्थिक कारोवारमा धेरैजसो पुरुषको बाहुल्य छ । शेयर ब्रोकर जस्तो जोखिम र चुनौतिपूर्ण व्यवसायमा पनि पुरुष नै धेरै छन् । यस पेसामा महिला थोरै भएपनि लगानीकर्ताको विश्वास जित्न सफल भएका छन् ।
मुना कुँवर
शेयर ब्रोकर (दलाल) को अनुमतिपत्रका लागि अन्र्तवार्ता दिन गएको दिन सुचिताले विर्सनै सक्दिनन् । अन्र्तवार्ता लिने व्यक्तिहरू डरलाग्दा थिए, मोटा घाटा ठूलो शरिर भएका । उनी सम्झिन्छिन् ‘म त्यतिबेला भर्खरकी थिएँ, दुब्ली, पातली, उनीहरूलाई देखेर मेरो सातो उड्यो ।’
महिला शेयर ब्रोकरको अनुमतिपत्र लिनका लागि १ सय ५० जनाले आवेदन दिएका थिए । ती मध्ये सुचिता खनालसहित अन्य तीनजना महिला थिए । उनीहरू अन्र्तवार्ता दिनै आएनन् । अन्र्तवार्ता दिने उनी एक्ली थिइन् । ‘अरु महिला नभएरै हो कि अन्तर्वातामा मेरो नाम निस्कियो । त्यसपछि मेरो शेयर ब्रोकर पेसा शुरु भयो’ सुचिता भन्छिन् ।

सुचिता खनाल
सुचिता खनाल नेपालकै पहिलो महिला शेयर ब्रोकर हुन् । उनको कम्पनीको नाम हो श्वेता सेक्युरिटीज । व्यवस्थापन विषयमा स्नातक गरेकी सुचितालाई उनकै आफन्तले यो व्यवसायमा लाग्न प्रेरित गरेका थिए ।
नेपालमा २०५० पुस २९ गतेदेखि ब्रोकर मार्फत शेयर कारोबार शुरु भएको हो । त्यतिबेला ओपन क्राई (चर्को आवाजमा कराएर शेयस खरिद बिक्री गर्ने) सिस्टम थियो । ब्रोकरले चर्को आवाजमा कराएर शेयर खरिद बिक्री गर्थे । यस्तो कारोबारको लागि नेप्सेको कार्यालयमा एउटा हल थियो । जहाँ शेयर लगानीकर्ता र ब्रोकरहरू जम्मा हुन्थे । शेयर खरिद वा विक्री गर्न चाहने लगानीकर्ताले ब्रोकरलाई अर्डर दिनुपथ्र्यो । सोही अर्डर पाएपछि ब्रोकरहरू ठूलो आवाजमा कराउँथे ।
ब्रोकरले शेयर कारोबार शुरु गरेको पहिलो दिनदेखि नै सुचिताले शेयर कारोबार गर्न सुरु गरेकी हुन् । ‘म आफूलाई भाग्यमानी ठान्छु पहिलो दिन नै मलाई एउटा ग्राहकले गोरखकाली टायर उद्योगको शेयर विक्री गर्ने अर्डर दिए’ – उनले भनिन् । त्यो दिन जम्मा चारवटा कारोबार भएको थियो । त्यसमध्ये सुचिताले एउटा कारोवार गरिन् । त्यसपछि आजसम्म उनले शेयर ब्रोकरको काम छोडेकी छैनन् ।
सुचिताले अहिले मासिक २० करोड रुपैयाँसम्मको शेयर खरिद विक्री कारोबार गर्छिन् । कम्पनीको आम्दानी मासिक १२ लाख रुपैयाँसम्म हुने गरेका उनले बताईन् । आफू महिला भएकै कारण लगानीकर्ताले बढी विश्वास गर्ने गरेको उनी बताउँछिन् । महिला बढी इमान्दार हुने भएकाले लगानीकर्तालाई उनीमाथि बढी भरोसा पनि गर्छन् । कारोबारको हिसावले उनको कम्पनी राम्रा १० वटा मध्येमा पर्छ ।

सरिता विष्ट
शेयर ब्रोकर व्यवसायमा स्थापित अर्की महिला ब्रोकर हुन् सरिता विष्ट । उनी कलेजमा फाईनान्स विषय पढाउँछिन् । २०६८ सालदेखि उनी ब्रोकर व्यवसायमा पनि छन् । यो व्यवसाय शुरु गर्न उनलाई साथीहरूले हौंस्याएका थिए । यो व्यवसायका लागि आवश्यक योग्यता भएको देखेर साथीहरूले प्रेरित गरेको उनले बताईन् ।
सरिता स्कुलदेखि नै अध्ययनमा अब्बल थिइन् । उनलाई विज्ञान बिषय पढ्ने तिब्र इच्छा थियो । एसएलसी परिक्षामा ७९ प्रतिशत ल्याएपछि उनको डाक्टर बन्ने उद्देश्य झनै बलियो बन्यो । तर, उनको आँखामा समस्या थियो । राम्रोसँग आँखा नदेख्ने समस्याको उपचार एसएलसी परिक्षा दिएदेखि नै सुरु गरेकी थिइन् । उपचार गर्ने क्रममा उनलाई डाक्टरले विज्ञान विषय नपढ्न सुझाव दिए । उनी भन्छिन् ‘त्यो दिन म खुब रोएँ, त्यही दिन मेरो जिवनका लागि टर्निङग पोइन्ट भइदियो ।’
आखाँको समस्याको कारण विज्ञान पढ्न नसकेकी सरिताले व्यवस्थापन विषय लिएर क्याम्पसमा भर्ना भईन् । व्यवस्थापन विषय पढ्दै जाँदा विस्तारै उनलाई बैङ्कको ‘स्मार्ट’ जागिरले लोभ्याउन थाल्यो । अध्ययन पुरा गरेपछि उनले बैङ्कमा जागिरको लागि पनि प्रयास गरिन् । सरिता आफ्नो ब्याचकी टपर पनि हुन् । तरपनि उनले बैङ्कमा जागिर पाउन भने सकिनन् । ‘लिखित परिक्षा पास गरेपनि अन्र्तवार्तामा भने मेरो नाम कहिल्यै निस्किएन’ उनी भन्छिन् । त्यसपछि उनले क्याम्पस पढाउन थालिन् ।
यसै क्रममा उनले साथीसँग मिलेर लिन्च सेक्युरिटी कम्पनी पनि सुरु गरिन् । डाक्टर, बैङ्कर बन्न नसकेपनि उनी अहिले सफल शेयर ब्रोकर बनेकी छन् । मुलुक कै अर्थतन्त्रमा अहम भूमिका खेल्ने क्षेत्रमा काम गर्न पाउँदा आफूलाई सन्तुष्टी मिल्ने उनले बताईन् । उनी भन्छिन् ‘बैङ्कर बन्न नसकेपछि बैङ्कको शेयर खरिद विक्री गर्ने काम गरेकी छु । अझ कहिलेकाहीँ आफ्ना गुरुहरूले फोन गरेर शेयर बजारको विषयमा सोध्नुहुन्छ । त्यतिबेला भने आफू ठूलो मान्छे पो बनेछु की जस्तो लाग्छ ।’
उनको कम्पनीको मासिक कारोबार करिब ढेड करोड रुपैयाँसम्मको छ । दैनिक एकदेखि दुईलाख रुपैयाँसम्म कारोबार हुन्छ । कम्पनीको आम्दानी भने ७ देखि ८ लाख रुपैयाँसम्म हुने गरेको उनले बताईन् ।
नेपालमा १९९५ सालदेखि सेयर बजारको सुरुवात भएको हो । पुँजी सङ्कलनका लागि विराटनगर जुट मिल र नेपाल बैङ्कले पहिलो पटक प्राथमिक शेयर जारी गरेका थिए । यसपछि नै नेपालमा सेयर बजारको सुरुवात भएको हो । २०५० सालदेखि ब्रोकरद्वारा सेयर खरिद विक्री गर्न थालिएको हो । शुरुमा व्यक्तिलाई नै ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था भएपनि २०६४ सालदेखि भने कम्पनीलाई ब्रोकरको लाईसेन्स दिन थालिएको हो । यसरी शेयर खरिद विक्री गर्ने काम गरेबापत ब्रोकर कम्पनीले कमिशन प्राप्त गर्दछन् ।
नेपालमा हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । अधिकांश कम्पनी पुरुष कै नाममा छन् । तीमध्ये चार वटा कम्पनीमा महिला प्रमुख छन्, त्यसमा पनि दुईजना महिला मात्रै सक्रिय रुपमा ब्रोकरको काम गर्दै आएका छन् ।
शेयर बजार आफैँमा निकै जोखिम र चुनौतिपूर्ण व्यवसाय हो । त्यसैले पनि यसमा महिला न्यून छन् । हरेक प्रकारका लगानीकर्तासँग काम गर्नुपर्ने हुँदा कहिलेकाही अप्ठेरो पर्ने गरेको बताउँछिन् ब्रोकर खनाल । सुरु सुरुमा एक दुई जनाले फट्याईं पनि गरे, अहिले तिनै घट्नाबाट आफूले काम गर्ने तरिका सिकेको सुचिता बताउँछिन् । धेरै लगानीकर्ताले आफूलाई सल्लाह दिएर सघाउने समेत गरेको उनको अनुभव छ ।
काम गर्ने क्रममा असभ्य पुरुष लगानीकर्तासँग सामना गर्नुपरेको अनुभव पनि छ ब्रोकर विष्टसँग । उनी भन्छिन् ‘कहिलेकाहीँ विहानै फोन गरेर नराम्रा र अपशब्द बोल्छन्, अधिकांश शिक्षित र उच्च तहमा पुगेका पुरुषले असभ्य व्यवहार गर्ने गरेका छन् ।’ तर, केही यस्ता लगानीकर्ता पनि जो परिवारको सदस्यसरह नै भै सकेका छन् ।
महिला भएकै कारण लगानीकर्ताको विश्वास जित्न सफल भएको विष्टको पनि अनुभव छ । ‘महिलासँग कारोबार गर्दा धोका हुँदैन भन्ने धेरैको बुझाई रहेछ’ उनी भन्छिन् । महिलाले सञ्चालन गरेका ब्रोकर कम्पनीको कारोबार राम्रो हुनेगरेको अनुभव नेपाल ब्रोकर एशोसियनका अध्यक्ष प्रियराज रेग्मीको पनि छ । महिला भएकै कारण उहाँहरूको कारोबारमा कुनै प्रभाव परेको छैन । उहाँहरूले त हामीले भन्दा राम्रो व्यवसाय गर्नुभएको छ । उनी भन्छन् ‘अवसरको आवश्यकता छ । अवसर पाउने हो भने महिलाले गर्न नसक्ने केही छैन ।’
Comment Here!