आधा उजुरी महिलाका


प्रकाशित मिति :2016-06-22 12:47:22

न्याय, क्षतिपुर्ति र परिपुरणका लागि असार पहिलो हप्ता ४ दिनमा मात्रै रुकुममा द्वन्द्व पीडितका ५ सय उजुरी परे। तीनमा आधा उजुरी महिलाका थिए।

दुर्गा कार्की

Hording board

रुकुम। कुरा २०५५ सालको हो। रुकुम–खाराकी चम्पी दमाइ २२ दिनकी सुत्केरी थिइन्। उनका श्रीमान पलसङ दमाइलाई सुरक्षाकर्मीले मरणासन्न हुनेगरि कुटे। हल न चल पारेर बारीको पाटा मै छोडेर हिँडे। ११ औं सन्तान जन्माएर चम्पी कुनामै थिइन। अरु १० जना छोराछोरी सानै भण्ट्याङ भुल्टुङ थिए। केही गर्न सक्दिन थिइन्। उता श्रीमानको त्यो हालत थियो।

दोष थियो उनको घरमाथि माओवादीले गेट बनाउनु। आरोप थियो त्यो गेट बनाउन पलसङले सहयोग गरेको। रुकुम सदरमुकाम खलङ्गाको शान्ति समितिमा उजुरी दिने क्रममा भेटिएका उनले भने, ‘म त्यो गेट बनाउन गएकै थिइन।’

१७ वर्ष भयो उनीमाथि ज्यादती भएको। अहिलेसम्म उनको हात पछाडि जाँदैन । कान राम्रो सुन्दैनन्। कानमा परेको चोटले उनको बोली समेत नाके भएको छ। उपचारका लागि खर्च थिएन। चम्पीले भनिन् ‘कान राम्रो सुन्दैनन्, हात पनि चल्दैन, उपचार खर्च माग्न आया हुँ।’ चम्पी र पलसङ सवेरै ४ बजे हिंडेर ९ बजे सदरमुकाम खलङ्गा आइपुगेका थिए। सरकारले श्रीमानको उपचार गरिदिन्छ कि भन्ने आशमा चम्पीले श्रीमानलाई लिएर शान्ति समितिमा उजुरी गर्न आइपुगेकी हुन्।

चम्पी र पलसङ दमाइ

चम्पी र पलसङ दमाइ

रुकुम दुलीकी अन्जना के.सीका वुवालाई माओवादीले मारिदिए। मार्नुअघि अपहरण त कति पटक गरे गरे। १० पटक भन्दा बढी माओवादीबाट बुवाको अपहरण भएको अन्जना सम्भि्कन्छिन्। उनका बुवालाई माओवादीले सुराकीको आरोप लगाएका थिए। उनी नेपाली काँग्रेससँग नजिक हुनु नै माओवादीका लागि उनी सुराकी भएको यथेष्ट प्रमाण थियो। अहिले अन्जनाको चाहना वुवाको हत्यारालाई कार्वाही भए हुन्थ्यो भन्ने छ। यहि आशा लिएर उनी शान्ति समितिमा उजुरी दिन आएकी हुन्।

भलाक्चाकी संगीता घर्तीका श्रीमानसहित चारजनालाई माओवादीको आरोपमा २०५५ सालमा प्रहरीले नियन्त्रणमा लियो। यी मध्ये तीनजनालाई एम्बुसमा पारेर मारिदियो, तर उनका श्रीमानलाई छाडिदियो। त्यतिखेर उनी १५ वर्षका मात्रै थिए। उनको उमेरले उनका श्रीमानलाई बचाउँन मद्दत गर्‍यो। तर उनीमाथिको यातना भने रोकिएन। प्रहरीले उनलाई पटक पटक नियन्त्रणमा लिन्थ्यो यातना दिएर छाडिदिन्थ्यो। उपचारकालागि उनी भारत गए। निकै पैसा खर्च भयो। तर बेला बेला यो घाउ बल्जिरहन्छ। उपचार अझैपनि सकिएको छैन। संगीता आफ्नो श्रीमानको भारतमा गर्दा लागेको उपचार खर्च र अहिले उपचार गर्दा लाग्ने खर्च सरकारले दिए हुन्थ्यो भन्ने चाहन्छिन्।

वायाँ अन्जना र दयाँ स‌ंगीता शान्ति समिति रुकुममा

बायाँ अन्जना र दायाँ स‌ंगीता शान्ति समिति रुकुममा

शसस्त्र द्वन्द्वको उद्गम थलो रुकुमको शान्ति समितिमा दैनिक डेढसयको हारहारीमा यस्तै गुनासो लिएर उजुरी दिन आउने छन्। समितिको कार्यालयमा विहानैदेखि उजुरी लेखिदिन कर्मचारीलाई भ्याइनभ्याइ हुन्छ। गतहप्ता ४ दिनमा ५ सय उजुरी परेको समितिका कार्यालय सचिव राजु लामिछानेले जानकारी दिए। यी मध्ये ५० प्रतिशत महिलासँग सम्बन्धित छन्। १५ वटा उजुरी यौन हिंसाका पनि आएका छन्। यी मध्ये खाराबाट धेरै आएको सचिव लामिछाने बताउँछन्। पीपल गाविसबाट १० वटा यौन हिंसाका उजुरी आउने तयारीमा रहेको शान्ति समितिका पुर्व संयोजक देवीलाल गौतम बताउँछन्।

सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी आव्हान गरेयता १५ सय उजुरी रुकुमको शान्ति समितिमा परेका छन्। ५ दिनभन्दा बढी हिँडेर आउनुपर्ने गाविसहरूबाट अझै उजुरी नआएको उनले बताए। म्याद थपिएकाले टाढाबाट उजुरी दिनेहरुलाई राहत भएको उनको ठम्याइ छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग बन्नुअघि नै शान्ति समिति रुकुममा ८ हजार भन्दा बढी उजुरी परेका छन्। यसमध्ये ३२ वटा मारिएको र १२ वटा वेपत्ता पारिएको उजुरी रहेको छ।

पहिला नै उजुरी दिइसकेकाहरू फेरी उजुरी दिन नआएको सचिव लामिछानेको भनाइ छ। उनी भन्छन् ‘पहिला दिएको उजुरीको सुनुवाइ भएन भने फेरी दिएर के काम भन्नेहरू बढी छन्। त्यसैले आयोग गठनपछि उजुरी दिनेको संख्या ह्वात्तै घटेको छ।’

शान्ति समितिका कार्यालय सचिव राजु लामिछाने

शान्ति समितिका कार्यालय सचिव राजु लामिछाने

आयोग गठन हुनुअघि परेका उजुरीलाई पनि मान्यता दिनुपर्ने पुर्व संयोजक गौतम र कार्यालय सचिव लामिछानेको भनाइ छ। उनीहरूको एउटै भनाइ थियो, ‘आयोग गठन हुनु अघिपनि सवै प्रक्रिया पुर्‍याएर उजुरी लिएका छौं, यी उजुरीलाई पनि आयोगले लिइदिनुपर्‍यो।’

तर, शान्ति मन्त्रालयले यसअघि लिएका उजुरी तत्कालको राहतका लागिमात्रै भएकोले आयोगलाई आवश्यक पर्ने जानकारीहरू ती उजुरीमा नभएको सत्यनिरुपण तथा मेलमिलाप आयोगकी आयुक्त माधवी भट्ट बताउँछिन्। उनी भन्छिन् ‘ती उजुरी द्वन्द्व पीडितलाई तत्कालको राहतका लागि हो, आयोगले लिने उजुरी उनीहरूको न्याय निरुपणदेखि भविष्यसम्मको जीवन सहज बनाउने भएकाले ती उजुरीमा उल्लेख गरिएका जानकारी आयोगका लागि यथेष्ट हुँदैनन्।’

उजुरी भरिदसन व्यस्त कर्मचारी

उजुरी लिन व्यस्त कर्मचारी

सत्य निरुपणका लागि आयोगले अहिले लिएको उजुरी प्रारम्भिक मात्रै हो। यसपछि मेलमिलाप र परिपुरणका लागि अझै निवेदन दिनुपर्ने उनको भनाइ छ। ‘आयोगले गम्भीर खालका मानव अधिकार उल्लंघन भएका घटनामा कार्वाहीको समेत शिफारिस गर्नुपर्ने हुन्छ। यसका लागि सूचना पर्याप्त हुनुपर्छ जुन सूचना अघिका उजुरीबाट पाउन सकिँदैन’ आयुक्त भट्टले भनिन्।

सत्यतथ्य अनुसन्धान गर्न ती उजुरीले सहयोग नगरेपनि ती उजुरीलाई सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्न शान्ति तथा पुर्ननिर्माण मन्त्रालयसँग तथ्याङ्क मागिरहेको जानकारी उनले दिइन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: