चन्द्र बानियाँ
काठमाडौं । व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरूले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा एक अपांगता भएकी महिलामाथि भएको सामूहिक बलात्कारमा संलग्न दोषीहरूलाई छिटो कार्वाही गर्न माग गरेका छन् ।
बैठकको विशेष समयमा सांसद सुशिला नेपालले घटनाको दोषीमाथि कार्वाही गर्ने सम्बन्धमा हाल भइरहेको अनुसन्धान प्रक्रियावारे सदनलाई तत्काल जानकारी गराउन समेत माग गर्नु भयो ।
घर छेउमै भैंसी चराउन जाँदा महिलामाथि बलात्कार भएको यत्रो समय वितिसक्दा पनि दोषीलाई कार्वाही भएको भन्ने सुन्न नपाइएको भन्दै सांसद नेपालले बलात्कारीले कहिले सजाय पाउँछन् भनी सदनमा प्रश्न गर्नुभयो ।
सात वर्षीया बालिकादेखि ७० नाघेका वृद्धा पनि बलात्कारको घटनामा पर्दा नेपाली महिलाले सुरक्षाको अनुभूति गर्न नसकेको भन्दै सांसद नेपालले सबै महिलाले सुरक्षाको अनुभुति हुने गरी त्यो घटनामा संलग्न दोषीलाई छिटो कार्वाही गरिएकोवारेमा जानकारी दिन सरकारसँग माग गर्नुभयो ।
कपिलबस्तुको शिवराज नगरपालिका नौडिहवामा गत जेठ ३० गते साँझ भैंसी चराउन गएकी ३५ वर्षीया अपांगता भएकी बहिरा महिलामाथि सामूहिक बलात्कार भएको थियो । बलात्कार घटनामा शसस्त्र प्रहरीका केही सुरक्षाकर्मी संलग्न भएको आरोप लाग्दै आएको छ ।
Comment Here!