अव्यवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र


प्रकाशित मिति :2016-06-23 13:16:30

लैंगिक हिंसापीडितलाई एकै ठाउँबाट सवै सेवा उपलब्ध गराउने अवधारणासहित एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना भएका हुन् । तर यस अनुसार संचालन हुन नसक्दा  केन्द्र नाममात्रका छन्  ।

निरज सापकोटा
रामेछाप । जिल्लामा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रको व्यापक प्रचार प्रसार नहुँदा सेवाग्राहीले भनेजति सेवा लिन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने गरी लैङ्गिक तथा घरेलु हिंसाबाट पीडित महिला, वालवालिका तथा पुरुष समेतका लागि स्वास्थ्य सेवा, कानुनी सेवा, सुरक्षा सेवा तथा सेल्टर सेवा समेतको व्यवस्थासहित पीडितलाई न्याय दिलाउन सहयोग गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो  ।

OCMC

लैङ्गिक हिंसा सम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पतालमा स्थापना गरी हिंसा प्रभावितहरूलाई स्वास्थ्य उपचारलगायत कानुनी, मनोपरामर्श न्यायिकलगायतका उपचार र  सेवाहरु एकीकृत रुपमा उपलब्ध गराउने व्यवस्था मिलाई लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पुर्‍याउनु यस केन्द्रको प्रमुख उद्देश्य रहेको अस्पतालमा आधारित  लैंङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन निर्देशिका, २०६७  मा उल्लेख छ ।

यो कार्यक्रम महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालयबाट संचालित सुरक्षित आवास गृह  (Safe shelter) रहेका मुलुकका १७ वटा जिल्लाका जिल्लास्थित अस्पताल एवं परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल काठमाडौंमा  सञ्चालनमा छ ।

रामेछापमा गतवर्ष असोज ४ गते  रामेछापमा यो केन्द्र  स्थापना भएको हो ।  तरपनि यस केन्द्रले के–के काम गर्दछ र कसलाई कसरी सेवा दिन्छ भन्ने कुरा आम जनतालाई थाहा छैन ।

‘सेवाग्राहीलाई जति सूचना हुनुपर्ने हो त्यति छैन’ प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीकी डा. प्रतिक्षा खतिवडा भन्छिन् । महिलाले अझैपनि आफूमाथि भएको हिंसा  खुलस्त भन्न सक्ने अवस्था छैन । यस्ता केस आएपछि पीडित महिला घरमै पनि सुरक्षित  हुँदैनन्, केन्द्रमा आएका केसलाई गोप्य राखेर पीडितलाई अन्य  सेवाका लागि संयोजन गरि पुर्नस्थापनाका लागि सहयोग गरिन्छ भन्ने थाहा नपाएर पनि सेवाग्राही यहाँसम्म नआइपुगेका हुनसक्छन् ’ – खतिवडाले भनिन् ।

केन्द्र स्थापना भए यता प्रचार नै नभएको कुरा भन्न नमिल्ने जिल्ला स्वास्थ्य कार्यालयका एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन केशवराज फुयाँलले दाबी गरे  । उनले भने ‘केन्द्र स्थापना भएदेखि हालसम्म ७ जनाले यस केन्द्रबाट सेवा लिइसकेका छन् । यो सेवा भर्खरै सुरु भएको तथा धेरै वटा कार्यालय यसका सदस्य हुने हुनाले यसको खास प्रचार प्रसार कसले गर्ने भन्ने अन्यौल हुनाले पनि हुनुपर्ने जति प्रचार नभएको हो’  उनले भने ।

आएका पीडितलाई सकेसम्मको सेवा दिइरहेको बताउँछिन् प्राथमिक स्वास्थ्य केन्द्रमा फोकल पर्सनको रुपमा काम गरिरहेकी स्वास्थ्यकर्मी कमला श्रेष्ठ । केन्द्रमा ठाउँको अभाव भएको उनको भनाइ छ ।  ‘केन्द्रका लागि जम्मा एउटा कोठा छुट्याईएको छ ।  अस्पतालमा विरामीको चाप भयो भने त्यही कोठाको प्रयोग गरिन्छ’ उनले भनिन् ।  पीडितको सुरक्षाका लागि केन्द्र गोेप्य  ठाउँमा हुनुपर्ने भएपनि त्यस्तो नभएको उनले बताइन् ।

 ‘केन्द्रमा आउने पीडितलाई राख्न सुरक्षित आवास गृह आवश्यक पर्छ, केस किनारा नलागुन्जेल उनीहरूलाई आवाशिय सेवा दिनुपर्ने हुन्छ, यो कुरा निर्देशिकामा पनि उल्लेख छ । तर केन्द्र स्थापना भएपनि यसको व्यवस्था हुन सकेको छैन’ उनले थपिन् ।   पीडितलाई उजुरवाजुर, मुद्दा मामिलो गर्न लगाएर फेरी  पीडककै घरमा फर्काउनुपर्ने बाध्यताका कारण केन्द्रले  भनेजस्तो सेवा दिन नसकेको  उनले बताइन् ।

निर्देशिकामा भनिएको छ ‘संकट व्यवस्थापन केन्द्रले  हिंसा प्रभावितको स्वास्थ्य सम्बन्धी विवरण संकलन, परीक्षण, उपचार अभिलेखिकरण गर्ने, शारीरिक चोट पटकको उपचार तथा चिकित्साजन्य जाँच गर्ने, कानुनी प्रमाणका लागि विधि विज्ञान तथा चिकित्सा सम्वन्धी कानुनी  परीक्षण गराउने, कानुनी प्रमाणका लागि आवश्यक पर्ने नमूनाको संकलन एवं संरक्षण गर्ने ।’

यसैगरि  गर्भ परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा उपलव्ध गराउने,  यौनजन्य संक्रमणको उपचार गर्ने, एच.आइ.भी जाँच तथा परामर्श सेवा उपलव्ध गराउने, हेपाटाइटिस बिबाट वचावट गर्ने, सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने, मानसिक स्वास्थ्य उपचार तथा मनोसामाजिक विमर्श सेवा प्रदान गर्ने, लैङ्गिक हिंसा प्रभावितको पहिचान तथा उपचारका लागि क्लिनिकल प्रोटोकल तयार गरी लागु गर्ने कुरा पनि निर्देशिकामा समेटिएको छ ।

 यसका साथै  मनोसामाजिक परामर्श अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरु मार्फत् लैंङ्गिक हिंसा प्रभावितलाई मनोसामाजिक परामर्श सेवा उपलव्ध गराउने, आवश्यकताका आधारमा पीडकलाई समेत मनोसामाजिक विमर्श/ परामर्श सेवा उपलब्ध गराउने, महिला तथा वालवालिका सेवा एकाइ (महिला प्रहरी सेल), सेवा केन्द्र तथा संकट व्यवस्थापन केन्द्रबाट  सेवा प्रवाहमा संलग्न हुने सेवा प्रदायक कर्मचारीहरुका लागि मनोसामाजिक परामर्श सम्वन्धी ज्ञान, सीप र अन्य क्षमता विकासका तालिमहरु संचालन गर्ने  कुरा पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

कानुनी परामर्श र उपचारका लागि आवश्यकता अनुसार जिल्ला न्यायाधिवक्ता तथा कानूनी सहायता केन्द्र/कानुनी परामर्शदाताको सहयोगबाट लैङ्गिक हिंसा प्रभावितका लागि कानुनी उपचारका लागि आवश्यक प्रकृयामा सहयोग पुर्‍याउनुपर्ने  तथा पीडितलाई पुनस्र्थापनाका लागि उपचारपछि थप परामर्श र अन्य सेवाका लागि अल्पकालिन आवास तथा खानपानको व्यवस्थासहित सेवा केन्द्रमा रहने व्यवस्था मिलाउनेलगायतका  कुरा निर्देशिकामा समेटिएको छ ।

निर्देशिकामा परिवारमा पुनस्र्थापना सम्भव नभएका महिलालाई आत्मनिर्भर भई समाजमा पुनस्र्थापित हुन सेवा केन्द्रले पहल गर्नुपर्ने भनिएको छ ।

राज्यले जनताका लागि व्यवस्था गरेका यस्ता खाले सेवा तथा सुविधा आम रुपमा जनमानसमा लानसके जे–जे उद्देश्यका लागि कार्यक्रम आएका छन् ती सबै सफल हुने स्थानीय बासुदेव भण्डारी बताउँछन् । उनी भन्छन्  ‘राज्यबाट प्रवाह भएको सेवा जनताले सहजै पाए हरेक ठाउँमा राज्यको उपस्थिति रहेको अनुभूति जनतालाई हुन्थ्यो ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: