रुपा गतराज
नेपालगञ्ज । हिरमिनियाकी मोतीसरा थापालाई परिवारको गुजारा चलाउन धौ—धौ थियो । हातमा सीप थिएन , श्रीमान बेरोजगार, खेती गर्ने जग्गा पनि पर्याप्त थिएन । त्यही जग्गामा आफूलाई खान पुग्ने गरी थोरैतिनो तरकारी फलाउँथिन् ।
यो कामलाई व्यावसायिक बनाउने सोच उनमा पलायो । गाउँका दिदी बहिनी सँगै मिलेर तरकारी खेती गर्ने योजना बनाए ।
आफनो बिगत खोेतल्दै मोतिसरा भन्छिन् – ‘२५ जना महिला मिलेर हिरमिनिया महिला कृषक समूह गठन गर्यो, कुनै कामको सुरुवात एक्लै भन्दा समूहमा गर्दा फाइदा हुने भन्दै समूह बनाएका हौं ।’ उनले अहिले ३ कट्ठा जमिनमा भिन्डी, करेला, खुर्सानी फलाएकी छन् । जस बाट बार्षिक रुपमा २ लाख रुपैयाँ बचत हुँदै आएको उनले बताइन ।
तरकारी व्यवसायबाट उनको घर व्यवहारमात्र होइन सामाजिक जीवनमा पनि परिवर्तन आएको छ । गाउँमा हुने सानाठुला कायक्रममा उनको उपस्थिति बढ्दो छ । उनी भन्छिन् –‘पहिला करैले तरकारी खेती गरियो । अहिले दायरा बढेको छ । तालिम, कार्यक्रममा सहभागी हुँदा पेसामा चाहिने प्राविधिक कुराको ज्ञान पनि बढ्दैछ ।’
सानो पँुजीमा काम गर्नेलाई तरकारी खेती लाभदायी हुने उनको तर्क छ । भन्छिन् –‘मेहेनेत गर्न सकियो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।’ हिजोसम्म सरकारी स्कुलमा पढने उनका छोराछोरीलाई उनले अहिले बोर्डिङ्गमा हालेकी छन् । छोरी उच्च शिक्षाका लागि नेपालगन्जमा पढदै छन् । कच्ची घर थियो, १० लाख रुपैयाँ लगानी गरेर चिटिक्क पारेकी छन् । घर छेउमै उनले किराना पसल समेत संचालन गर्दै आएकी छन् । घर खर्च टार्न श्रीमानलाई वैैदेशिक रोजगारमा पठाउने योजना थियो उनको, तर अहिले उनले यो विचार बदलेकी छन् । उनी भन्छिन –‘यहीँ भ्याइनभ्याइ छ, त्यसैले उहाँलाई विदेश नजानू भनेँ ।’
श्रीमान र परिवारका अरु सदस्यले उनलाई तरकारी खेती गर्न सहयोग गर्दै आएका छन् । हिरमिनियाकै पुष्पा थापाले पनि व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेकी छन् । उनले भनिन–‘तरकारी बेचेर एक सिजनमा एकदेखि डेढ लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भएकी छु ।’ यो व्यवसायमा लागेपछि गैह्रसरकारी संस्थाको जागिर समेत छाडिन् । उनले अहिले चार कट्ठा जग्गामा करेला, खुर्सानी, काँक्रा लगाएकी छन् । थापाले यो सिजनमा सवा लाख बढी आम्दानी गरेको बताइन । उनले भनिन् –‘अरुको अधिनमा बसेर जागिर खानु भन्दा आफ्नो मिहिनेतमा रमाउनुको मज्जै बेग्लै हुँदोरहेछ ।’ महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थामा ५ वर्ष जागिरे पुष्पालाई तरकारी खेतीको आकर्षणले जागिर छुटायो ।
दैकिक ८ घण्टा भन्दा बढी उनको समय खेतमै बित्ने गर्छ । तरकारी बजारमा पुर्याउन पनि दुःख छैन । घरमै तरकारी किन्न आईपुग्छन् । ३ दिन बिराएर तरकारी ब्रिक्री गर्ने गरेको उनले बताइन् ।
आफूले लगाएको तरकारी बारीमा पुग्दा उनलाई निकै आत्मसन्तुष्टि मिल्छ । भन्छिन् ‘बिहानै उठेर खेतमा जाँदा आउने आनन्द शब्दमा भन्नै सक्दिनँ ।’ जाँगर चलाएमा कसैले पनि पैसाका लागि रुनु नपर्ने र अरुको मुख ताक्नु नपर्ने निष्कर्ष उनको छ ।
हिरमिनियामा मधेशी समुदायको पनि बाक्लो बस्ती छ । यो वस्तीका मधेशी समुदायका महिला पनि अहिले व्यायवसायिक तरकारी खेती प्रति आर्कषित छन् । यही वस्तीकी रीता यादवले आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएकी छन् । लौका ,फर्सी, भिन्डी, करेलाबाट उनले राम्रो आम्दानी गरिरहेको बताइन् । भनिन्–‘खाद्यान्न बाली भन्दा चौगुणा नाफा व्यावसायिक तरकारी खेती गर्दा हुँदो रहेछ ।’
घर बाहिरको वातावरणमा कम रमाउने यहाँका मधेशी समुदायका महिला अहिले कृषक पाठशाला, बिउ मलका लागि कृषि कार्यालयसम्म पुग्ने गर्छन् । आफूहरूलाई अहिले समाजले हेर्ने दृष्टिकोण बदलिएको उनको अनुभव छ ।
हिरमिनियालाई तरकारी खेती हुने गाउँका रुपमा चिनाउन महिलाहरू व्यावसायिक तरकारी खेतीमा होमिएका हुन् । २०७१ सालमा गठन गरिएको हिरमिनिया महिला कृषक समूह लाई गतसाल साना तथा मझौला कृषक आयस्तर वृद्घि आयोजनाले अनुदान स्वरुप ४१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । अहिले पहिलो किस्ता स्वरुप १६ लाख ९१ हजार रपैयाँ समूहले पाइसकेको छ । यो समूहका २५ जना महिलाले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । समूहमार्फत उनीहरूले मासिक रुपमा सय रुपैयाँ बचत समेत गर्दै आएका छन ।
Comment Here!