इन्द्रकला राई
‘मेरा बाल्यकालका रमाइला र सम्झन योग्य क्षण सायदै होलान् । बुझ्ने भएदेखि नै परिवारमा दुःख पीडामात्रै देखें । सात दिदी बहिनी हामी । बाबुविनाका टुहुरा थियौं । छोरा नभएको परिवालाई समाजले गर्ने व्यवहार सहिसक्नु थिएन । सामाजिक तिरस्कारका बिच बाल्यकाल गुज्र्यो । यो पित्तृसत्ताको भुमरीले घेरिरहेको सामाजिक जालोलाई तोड्न फरक क्षेत्रबाट पाइला अगाडि बढाइरहेकी छु, सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यसहित आत्मविश्वासी मेरा पाइला रोकिएका छैनन् ।
सोलुखुम्बुको काँकु गाविसमा बुबा पुर्वा छिरी र आमा कविर माया राइकी छैठौ सन्तान हुँ म । जे थियो त्यसैमा परिवारको खुशी थियो । विहान बेलुकाको छाक टार्दै जीवन चल्दै थियो । तर, बाबुको मृत्युले हाम्रो परिवारमा दुःखको भूमरी बोकेर आयो । मेरी एक्ली आमामाथि सात छोरीको जिम्मेवारी थपियो ।
छोरा नपाएकोमा समाजको हेय दृष्टि दमन र अन्याय पनि प्रत्यक्ष परोक्ष थपिँदै गयो । सन्तानको आँखामा सुखद भविष्यको परिकल्पना गरिरहेकी मेरी आमाले हार खाएको मैले थाहा पाइनँ । हामी छोरीहरूको लालनपालनका लागि उनले दिनरात गरेका दुःखले हामीलाई यहासम्म ल्याइपु¥याएको हो । बुवाको मृत्युपछि छोरा नभएको भन्दै मेरा काका ठुला वुवाले जग्गामा किचलो निकाल्न थाले । अन्नतः जग्गाको विषय अदालतसम्म पुग्यो ।
एकदिनको घटना मलाई अझैपनि ताजै छ । दुई वर्षकी बहिनीलाई मेरो साथ छोडेर आमा सवेरै सल्लेरीमा मुद्दाको तारिख लिन जानुभयो । म त्यस्तै पाँच वर्षकी थिएँ होला । आमा हिँडेको अलिबेरपछिबाटै बहिनी भोकाएर रुन थाली, खान दिने केही थिएन, म पनि आत्तिएर बहिनीसँगै रुन थालें । रुँदा रुँदा हामी पिँढीमै निदाएछौ । साँझ ६ बजे आमा आएर हामीलाई उठाएर खाना खुवाउनु भयो ।’ यो क्षण मेरो जिन्दगीभरी पीडादायी क्षण हो । हामी यसरी रुँदा पनि किन रोए भनेर सोध्न कोही आएनन् ।
पीडादायी कथा व्यथाका पाना पल्टाउदै गर्दा अहिलेपनि मेरा आँखा भरिएर आउँछन् । गला रोकिन्छ । घरदेखि एक घण्टा पैदल हिँड्नुपर्ने काँकु निमावि थियो । त्यहीबाट मेरो पढाइ सुरु भयो । दिदीहरू खेतबारी र घरधन्दामा आमालाई सघाउँथे, कोही मेलापात जान्थे, म पनि जे सक्थें त्यहि गर्थें । आफ्नो पढाइ खर्च जुटाउन मेलापात गर्न थालें, खसी बोका पालेर बेच्न थालें, विदाका दिनमा सल्लेरी बजारमा सुन्तला बेच्न जान्थें, स्कुलमै पनि चकलेट बेचेर पढ्ने खर्च जुटाउँथें । पढ्ने कसरी भन्दा पनि पढाइ खर्च जुटाउने कसरी भन्ने चिन्ताले मलाई रातदिन सताउँथ्यो । कापी कलमको समस्या टार्न कहिलेकाहीँ साथीहरूलाई चित्र बनाइदिन्थें । म चित्र बनाउँथे साथीभाइ त्यसको बदलामा मलाई कापी कलम दिने गर्थे ।’ यसैगरी २०६३ सालमा एस.एल.सी पास भएँ । सल्लेरी बहुमुखी क्याम्पसमा प्लस टु पनि निकै दुः गरेर पढें ।
संघर्ष झन जटिल र कठिन हुँदै थिए । दिदीको विहे भयो । उहाँहरू हाम्रै घरमा बस्दा समाजले घर ज्वाइँ बसेको भनेर निकृष्ट व्यवहार गथ्र्यो । हामीप्रति समाजले गर्ने व्यवहारले धेरै कुरा सिकाएको थियो भने सँगसँगै विद्रोही पनि बनाएको थियो । सिधै प्रतिकार गर्न नसके पनि विद्रोहको ज्वारभाटा भने छुटेर आउँथ्यो ।
सामाजिक विभेदले जन्माएको विद्रोहले उदाहरणीय काम गर्छु भन्ने अठोट म मा जन्म्यो । त्यतिबेला सशस्त्र प्रहरीमा भर्ना खुलेको थियो । प्रहरीमा भर्ती हुने अभिलासा बोकेर पोखरा आइपुगें । तर, मेरो उचाइले धोका दियो । छनौटमा परिनँ । निराश भएँ, तर हरेश खाइनँ । सशस्त्र प्रहरीमा भर्ती भएर छोराछोरी बीचमा देखिएको विभेदको रेखा मेट्ने मेरो सपना त्यतिबेला तुहियो, तरपनि आत्मविश्वास र ऊर्जा मर्न दिइनँ ।
घरको आर्थिक अवस्थाले गर्दा विदेश जाउँ जस्तो नभएको पनि होइन । तर विदेशमा महिलामाथि शोषणका समाचारले आँट आएन । यसै शिलशिलामा सातवर्ष अघि आफ्नै दिदी निर्मला राइसँग म पोखरा आएँ । दिदी थ्रि सिस्र्टसमा पहिलदेखि नै ट्रेकिङ गाइड गर्नु हुन्थ्यो । दिदीबाट धेरै कुरा बुझेपछि म पनि ट्रेकिङ्ग गाइडको तालिममा सहभागी भएँ । एक महिने तालिममा यो पेसाका बारेमा धेरै कुरा थाहा पाएँ । सबैभन्दा ठूलो कुरा तालिमले निर्भिक र निडर हुन सिकायो । गरे सकिन्छ, गर्नुपर्छ भन्ने आत्मविश्वास जगायो । त्यसयता विदेशीको भरिया हुँदै पथ प्रदर्शक ( ट्रेकिङ गाइड) को रुपमा कार्यरत छु ।
महिला पर्यटकका लागि महिला गाइड र पुरुषका लागि पुरुष गाइड नै हुन्छन् । ट्रेकिङ गाइडका धेरै नियम छन् । त्यसभित्र रहेर पर्यटकको घुमाइलाई अर्थपूर्ण र रमाइलो बनाउन हामी लागिरहेका हुन्छौ । उनीहरूको नेपाल घुम्ने चाहान बढाउन नै हामी अभ्यासरत हुन्छौं । हेर्दा हामीले व्यक्तिगत र संस्थागत रुपमा काम गरेजस्तो देखिएपनि समग्र राष्ट्रको प्रवद्र्धनमा हाम्रो प्रत्यक्ष र परोक्ष भूमिका रही आएको छ । हामीले दिने सेवाले पर्यटक खुशी भएर फेरी फेरी नेपाल घुम्न आइरहेका छन् । यो नेपालको पर्यटन व्यवसायका लागि राम्रो हो ।
कुनै समय पर्यटक घुमाउने काम पुरुषको मात्रै हुन्थ्यो । महिलाले यस्तो काम गर्न सक्छन् भनेर कल्पना पनि गर्न सकिदैँनथ्यो । आज साहसिक पदयात्रामा गाइड बनेर विभिन्न देशका पर्यटकलाई हामीले नेपाल घुमाइरहेका छौं ।
यो पेसाले मानसिक रुपमा पनि हामीलाई स्वस्थ राख्न निकै मद्दत गरेको छ । प्रकृतिको अनुपम सुन्दरतालाइ नजिकैबाट स्पर्श गर्दै आफ्नै देशका पाखा पखेरा, चुचुरा र फेदमा पुग्दाको आनन्द शब्दमा म कसरी भनुँ । जुन अवसर कमैले मात्रै पाउँछन् । भिन्न देशका नागरिकको भाषा संस्कृतिसँगको समिश्रण पनि लोभलाग्दो अर्को पाटो हो ।’
जीवनमा मैले र मेरो परिवारले भोगेको दुःखले धेरै संघर्ष गर्न सिकायो अनि हरेक परिस्थितिसँग सामना गर्ने शक्ति पनि त्यही दुःखले प्रदान गरेको छ ।
काँडा पन्छाएर हिँडियो, कति काँडा कुल्चिएर रक्ताम्य पाइला बनाएर पनि हिँडियो । यात्रा जारी छ । काँडा पुर्ण रुपमा हटिसकेको छैन । अबको यो यात्रालाई सगरमाथाको चुचुरोमा पुगेर सोलुकी छोरीको आत्मविश्वासको झण्डा फहराउनु मेरो एकमात्र सपना हो । रक क्लाइम्बिङको प्रशिक्षक भएको नाताले पनि सगरमाथाको चुचुरोलाई चुम्ने आत्मविश्वास जागेको छ । आउँदो महिना अमेरीकामा हुने अनुभव आदान प्रदान कार्यक्रममा सहभागी हुने अवसरले मनलाई उत्साहित बनाएको छ ।
फरक परिवेश र फरक संस्कृतिका साथीहरूको जमघट र उनीहरूको अनुभवले जीवनको नयाँ अध्याय शुरु हुन्छ भन्ने आशमात्रै होइन विश्वास जगाएको छ । यो समय यो विश्वास र यो अठोटका लागि थ्रि सिस्टर्स लक्कि, निक्कि, डिक्कि प्रति आभारी छु ।
Comment Here!