महिला खबर
काठमाडौं। व्यवस्थापिका संसदको महिला बालबालिका तथा समाजकल्याण समितिले महिलाले प्रयोग गर्ने गुणस्तरयुक्त परिवार नियोजनको साधन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई समितिमा बोलाइ उक्त निर्देशन दिइएको हो।
डिपो प्रोभेरालगायत महिलाले प्रयोग गर्दै आएका अन्य अस्थाइ परिवार नियोजनका साधन गुणस्तरयुक्त नभएको उजुरी नागरिक समाजका महिलाले समितिमा दिएपछि सरकारलाई उक्त निर्देशन दिइएको समितिकी सभापति रन्जु कुमारी झाले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो ‘विश्वस्वास्थ्य संगठनले तोकेको प्रीक्वालीफाइड मापदण्ड अनुसारका डिपो प्रोभेरालगायतका सम्पुर्ण अस्थाई साधन गुणस्तरयुक्त उपलब्ध गराउन स्वास्थ्य मन्त्रीलाईलाई निर्देशन दिएका छौं।’
उहाँले गुणस्तरीय गर्भ निरोधक साधन उपलब्ध नहुँदा महिलाको स्वास्थ्यमा गम्भीर असर हुनसक्ने भएकाले यस्तो निर्देशन दिइएको बताउनुभयो। बैठकमा उपस्थित स्वास्थ्यमन्त्री चौधरीले आफू यो विषयमा गम्भीर भएको र यसका लागि आजैदेखि पहल गर्ने वचन दिनुभएको थियो।
Comment Here!