महिला खबर
काठमाडौं । श्रीमतीलाई आगो लगाई हत्या गरेर फरार रहेका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०५६ पुस १६ गते कोटेश्वरस्थित आफ्नै घरमा श्रीमती रिना श्रेष्ठको शरीरमा मट्टीतेल खन्याई आगो लगाएर हत्या गरेका नवराज श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार १० गते पक्राउ गरेको हो ।
जलेर घाइते भएकी रिनाको ०५६ पुस १८ गते उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भएका श्रेष्ठलाई ललितपुरको इमाडोलबाट पक्राउ गरिएको हो । उनलाई डिल्लीबजार कारागार पठाइएको ब्युरोले जनाएको छ ।
मृतककी आमा शान्ति श्रेष्ठको जाहेरीमा ले वादी नेपाल सरकार प्रतिवादी श्रेष्ठ भएको कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतले श्रेष्ठलाई सफाइ हुने गरी गरेको विसं २०५८ असार ७ गतेको फैसलालाई पुनरावेदन अदालत पाटनको २०६२ कात्तिक ६ गते सर्वस्वसहित जन्म कैदको सजाय हुने गरी फैसला सुनाएको थियो ।
फैसलापछि फरार रहेका श्रेष्ठ २०६३ सालमा वैदेशिक रोजगारको लागि मलेसिया गई २०६६ सालमा नेपाल फर्केर अर्को विवाह गरी बालकुमारीमा बस्दै आएका थिए ।
Comment Here!