भाडाको जग्गामा लगाएको तरकारीले उकासियो सुकुम्बासी महिलाको जीवनस्तर
यमुना खनाल
सिराह । सुमिन्द्रा देवी पासवानलाई अहिले आफूले भोगेका पुराना दिन सम्झँदा कहाली लागेर आउँछ । उनका श्रीमान घर नजिकैको साहुको घरमा हरुवा बस्थे ।

खेतमा गोडमेल गर्दै सोना देवी राम
उनीपनि श्रीमानसँगै साहुके घरमा काम गर्न जान्थिन् । साहुको सय बिघा खेत थियो । हरुवाले साहुको सबै खेतीपाती उतार्नु पथ्र्यो । साहुको खेतमा बिहान आठ बजेदेखि राती आठ बजेसम्म दुबै जनाले काम गरेपनि तलव श्रीमान्कोमात्रै आउँथ्यो । तलववापत उनीहरूले मासिक ४० किलो धान पाउँथे ।
छोराछोरी साना साना थिए । श्रीमान साहुको घरमै बस्ने हुँदा घरमा बाल बच्चाको लालनपालन र घर व्यवहार सम्हाल्नुपर्ने जिम्मा समुन्द्रा देवीकै एक्लो काँधमा थियो ।
महिनामा ४० किलो धान भनेको १५ किलो चामल हो । उनी भन्छिन् ‘श्रीमानको यो कमाईले एक हप्ता पनि खान पुग्दैनथ्यो । आफू पनि अरु ठाउँमा काम गर्न जान पाउँदिनथे । काखमा नानी बोकेर साहुकै खेतमा आफूपनि काम गर्न जान्थें । छोराछोरी रोएमा फुल्याउन समेत पाईंदैनथ्यो । बच्चा फुल्याउन जाँदा समेत साहुले गाली गर्थे । ’

सामुहिक खेती गरेर फलाएको खुर्सानी बिक्रीका लागि टिप्दै ।
‘धेरै दुःखले जिन्दगी गुजारा गरियो । कहिल्यै पनि पेटभरी खान पाइएन । छोराछोरीलाई पनि आधा पेट खुवाएरै हुर्काएँ । आधा उमेर त यसरी नै बित्यो’ समुन्द्राले स्मरण गरिन् ।
अहिले समुन्द्रासँगै गाँउका सबै महिलाको जीवन फेरिन थालेको छ । उनीहरू हरुवा चरुवा बस्न छोडेर आफ्नै काम गर्न थालेपछि यस्तो परिवर्तन आएको हो ।
उनीसहित गाउँका महिला मिलेर समूह गठन गरेका छन् । समूह मार्फत उनीहरूले बिभिन्न काम गर्दै आएका छन् । भूमिहिन सुकुम्बासी महिलाले समूहमार्फत मासिक सय रुपैयाँ बचत गर्ने , सामूहिक खेती गर्ने काम गरेका छन् । पुर्व हरुवाचरुवा १२ जना महिला मिलेर २१ कठ्ठा जमिन भाडामा लिएका छन् । भाडावापत बार्षिक ३० किलो अन्न खेत धनीलाई बुझाउनु पर्छ ।
बाखैरकी निलम देवी पासवानले पनि सामूहिक खेती गर्छिन् । दुईछोरा छोरी सहित चार जनाको परिवार छ उनको । श्रीमान् कल गाड्ने मिस्त्रीको काम गर्छन् ।
अरुकै घर र खेतबारीमा काम गरेर खाने उनीहरूले यति दुःख आफ्नैलागि गरेदेखि सुख पाइन्छ भन्ने कुरा धेरैपछि थाहा पाए । अनि अहिले तरकारी खेती सुरु गरेका छन् । ‘थोरैबाट शुरुवात गरेका छौं, तर अब यसलाई व्यावसायिक रुपले नै अगाडी लाने सोच छ’ निलम देवी भन्छिन् ।
यो साल उनले दुई कठ्ठा खेतमा तरकारी खेती लगाइन् । यसबाट राम्रो आम्दानी भयो । आफूलाई खाने तरकारी पनि किन्नु परेन । घर खर्चको लागि पनि लसुन प्याज , साग सब्जी बेचेर गुजारा गरेको उनले बताईन् । एक टुक्रा पनि आफ्नो नभएका उनीहरूको आफ्नै मेहेनतले पाएको आम्दानीले हौसला बढेको छ । यो व्यवसायलाई बढाउनुपर्छ भन्ने मनोबल बढेको निलमले बताईन् ।

समूहमा खेतमा काम गर्दै महिला
सिरहाको बाखैरका महिला जस्तै शिशबनी बर्छवाको राम टोलका १२ जना महिलाले पनि २१ कठ्ठा जमिन भाडामा लिएर सामूहिक खेती शुरु गरेका छन् । बार्षिक प्रति कठ्ठा ४० किलो अन्न खेत धनीलाई बुझाए पुग्छ । उनीहरूले बर्छवामा यसैवर्षदेखि सामूहिक खेती गर्न थालेको हुन् ।
समूह गठन गरेर सामूहकि खेती थालेका उनीहरूलाई खेतबारीमा काम गर्न अहिले भ्याई–नभ्याई छ । समूहकी अध्यक्ष मनकी रामले खेतबाट प्याज निकालिन् । अहिले खुर्सानी, बोडी भिन्डीलगायतका तरकारी फलिसकेका छन् । मनकीका श्रीमान राज राम मिस्त्रीको काम गर्छन् । तीन जना छोराछोरी सामुदायिक स्कुलमा पढ्छन् ।
मनकी रामले उत्पादन गरेको आलु प्याज भण्डारण गरेर राख्ने सोचमा छन् । आफूलाई गाह्रो साह्रो पर्दा बेच्ने उनको योजना छ । यसले गर्दा साहुलाई चर्कोब्याज तिरेर ऋण लिन नपर्ने उनले बताइन् । ‘छोराछोरीलाई किताब कापीकलम किन्न समेत अरुको घरमा बनी गर्न जानुपथ्र्याे, तर त्यो अवस्था अहिले टरेको छ’ उनले भनिन् ।
राम टोलकै सोना देवीलाई समूहमा बसेर खेतीपाती गर्दा सजिलो भएको छ । एउटा खाट अटाउने सानो फुसको घर बाहेक शौचालय बनाउने जमिन पनि उनीसँग थिएन । ‘हामी हरुवाचरुवाहरू खाएर चुठ्दा अरुकै जमिनमा चुठ्नु पर्छ । तर आज भाडाको जमिनमा भएपनि उत्पादन गरेर खाने र घरको गर्जो टार्न आफ्नो उत्पादन बेच्न पाएकोमा खुशीको सीमै छैन’ आँखा चम्काउँदै सोनादेवीले भनिन् ।
भूमिहिन भएकाले आफूहरूलाई कसैले ऋणका लागि नपत्याउने गरेको उनी सम्झिन्छिन् । ‘आयश्रोत छैन , जग्गा जमिन छैन, कसरी तिर्छौ भनेर कसैले ऋणसम्म पत्याउँदैनथे, कसैगरि ऋण दिएपनि १० वटा कागज गरेर सय कडा पाँच रुपैयाँ ब्याजमा ऋण दिन्थे । ब्याज तिर्दा तिर्दै कमाएको सबै जान्थ्यो’ उनले भनिन् । तर, अहिले आफैँ समूहमा बचत गर्ने र समूह भित्रै लगानी गर्दा ब्याज पनि कम परेको छ । कसैलाई धितो पनि दिनु नपर्ने उनले बताइन् ।
सिरहाको बर्छवाको टोलका ४० घर राम परिवार र धनगढीको बाखैरका ४० घर पासवान समुदाय भूमिहिन सुकुम्बासी हुन् । साहुको घरमा हरुवा चरुवा बसेकाले अरुले नै दिएको सानो टुक्रा जमिनमा उनीहरू बसोबास गर्दै आएका छन् ।
उनीहरूलाई संगठित रुपमा सामूहिक खेती गर्न गैरसरकारी संस्था मुक्ति नेपाल र दलित संरक्षण मन्चले सहयोग गरेका छन् । यी संस्थाले एक वर्षको जमिनको भाडा तिरी दिने, मल खाद, बिउ बिजन , सिंचाईका लागि खेतमा बोरिङ गाड्ने, कृिष तालिम र अन्य सीपमुलक कामका लागि उनीहरूलाई सघाईरहेको दलित संरक्षण अभियान मंन्चका जिल्ला संयोजक सूर्य नारयण रामले जानकारी दिनुभयो ।
Comment Here!