पार्वती पाण्डे
कपिलवस्तु। जिल्लाको सौराहा गाविसमा पुरुषले मदिरा सेवन गरि महिलालाई दुःख दिन थालेपछि पुरुषहरू नै लैंगिक हिंसा न्यूनिकरणका लागि अघि सरेको छन् । सौराहा गाविसलाई महिलाहिंसा मुक्त बनाइ शान्ति र सम्वृद्ध गाउँ बनाउन पुरुष सहयात्री समूह नै गठन गरेका छन् । आफूहरूको बैचारिक आस्थामा फरक भएपनि हिंसाविरुद्धको विचारमा एक भएको उनीहरूले बताए ।
समूहमा आवद्ध सौराहा पिपरहवाका मोहम्मद रफी धुनियाले भन्नुभयो, हाम्रा विचार फरक हुन सक्छन्, हामी सवालमा एक छौं, हाम्रो गाउँ समाजलाई हिंसामुक्त बनाइ सम्वृद्ध बनाउन हामी पुरुष अगुवाई गर्छौं ।’
महिलामाथि कुनैपनि हिंसा नगर्ने, उनीहरूलाई सम्मान गर्ने र परिवर्तनको शुरुवात आफैँबाट गर्ने उहाँले बताउनुभयो । सौराह कै जितेन्द्र मिश्र पनि गाविसमा महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा कम्मर कस्नु भएको छ । गाउँ समाजमा अनियन्त्रित रुपमा हुने मदिरा विक्री वितरण रोक्ने, महिलालाई काममा सघाउने जस्ता काम आफूले गरिरहेको उहाँले बताउनुभयो । समूह गठन गरि सुरु गरेको कामले परिणाम समेत दिन थालेको उहाँले बताउनुभयो ।
गाउँघरमा हुने झैझगडा र मिल्न सक्ने घट्नालाई गाउँमै मिलाउने र मिल्न नसक्ने अपराधिक घट्नालाई जिल्लास्तरमा पु¥याउने गरेको उहाँले जानकारी दिनुभयो ।
लैंगिक हिंसा न्युनिकरणको तामिलले साँच्चिकै आफूमा धैरै परिवर्तन आएको उहाँको भनाइ थियो । गाउँमा हल्ला गर्ने , अनियन्त्रित रुपमा मदिरा सेवन गर्ने ४ जनालाई सुधार गरिसकेको उहाँले बताउनुभयो ।
सौराहाका विक्रान्त मिश्रलाई पनि पुरुष सहयात्री समूहमा आवद्ध भई लैंगिक हिंसा न्युनिकरणमा लागेकोमा गौरव महशुस भएको छ । उहाँले आफूले आफ्नो परिवारमा परिवर्तन ल्याई सामाजिक रुपान्तरणमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । महिला तथा वालवालिकाको क्षेत्रमा जिल्लामा काम गर्दै आएको साथी संस्थाले उक्त गाविसमा लैंगिक हिंसा न्युनिकरण गर्न पुरुष सहयात्री समूह गठन गरेको हो ।
गाविसस्तरमा क्रियाशिल सवै राजनैतिक दल, समाजसेवी, वुद्धिजिवी, युवा सवैको सहभागितामा पुरुष सहयात्री समूह गठन गरिएको हो । समूहमा आवद्ध सवैले आफूहरूले पनि कुनै हिंसा नगर्ने र अरुलाई पनि हिंसा गर्न पनि नदिने भन्दै सामूहिक रुपमा प्रतिवद्धता जनाएका छन् । समूहमा ७५ जना पुरुष आवद्ध छन् ।
Comment Here!