सर्मिला बुढाथोकी
दोलखा । दोलखाका भूकम्प प्रभावित पाँच वर्ष मुनिका बालबालिकालाई जिल्ला विकास समिति मार्फत युनिसेफले आर्थिक सहयोग गरेको छ । एक परिवारका बढीमा दुई जना बालबालिकालाई नगद चार हजार रुपैयाँको दरले आर्थिक सहयोग गरिएको जिल्ला विकास समिति दोलखाका सामाजिक विकास अधिकृत नारायण सेढाईले बताउनुभयो ।

तस्बिरः भीमेश्वर नगरपालिकाको कार्यालयमा आफ्ना छोरछोरीलाई दिन लागिएको आर्थिक सहयोग लिन आएका महिला
राहत वाँड्नुअघि युनिसेफले जिल्ला भरीको तथ्याङ्क सङ्कलन गरेको र सोही तथ्याङ्कको आधारमा जिल्लाका झण्डै २० हजार बालबालिकालाई चार हजार रुपैयाँका दरले नगद वितरण गर्न सुरु गरिएको सेढाईले बताउनुभयो । यो तथ्याङ्कका आधारमा युनिसेफले ९ करोड रुपैयाँ जिल्ला विकास समिमति दोलखालाई उपलब्ध गराएको र त्यसमा व्यवस्थापकीय खर्च कटाएर झण्डै २० हजार बालबालिकालाई नगद वितरण गरिने जनाईएको छ ।
जिल्लाका ४८ गाविस र २ नगरपालिकामा असार २५ गतेभित्र नगद वितरण गरिसकिने जिल्ला विकास समिति दोलखाले जनाएको छ । अन्य जिल्लाबाट आएर ६ महिना भन्दा बढी समयदेखि दोलखामा बसोबास गर्ने परिवारका बालबालिकालाई पनि जन्मदर्ताको अधारमा नगद वितरण गरिने सामाजिक विकास अधिकृत सेढाईले जानकारी दिनुभयो ।
Comment Here!