महिला खबर
लामो समयदेखि महिला अधिकारको आन्दोलनमा सक्रिय अधिकारकर्मी बन्दना राणा महिलामाथि हुने सवै प्रकारका भेदभाव अन्त्य गर्ने संयुक्त राष्ट्रसंघीय समिति सीडको सदस्यमा निर्वाचित हुनुभएको छ । यो समितिको सदस्य पदमा निर्वाचित हुने राणा पहिलो नेपाली हुनुहन्छ । महिला खबर डट कमले समितिमा निर्वाचित भएपछि हुने उपलब्धिका बारेमा राणासँग कुराकानी गरेको छ ।
सीड समिति भनेको के हो ?
सीड भनेको संयुक्त राष्ट्र संघले महिलामाथि हुने सवै प्रकारका भेदभाव अन्त्य गर्न पारित गरेको महासन्धिलाई अनुमोदन गरेका राष्ट्रहरुले कसरी कार्यान्वयन गरिरहेका छन् भनेर यसको अवस्थाको अनुगमन र समीक्षा गर्ने समिति हो । सामान्य अर्थमा महिलाले महिला भएकै कारणले कुनै पनि किसिमको भेदभाव हुनुहुदैन भन्ने कुरा सीड महासन्धिले गर्छ र समितिले महिलाको क्षेत्रमा महिला अधिकारको लागि के काम भइरहेको छ भनेर हेर्छ ।
महासन्धि अनुमोदन गरेका राष्ट्रले यो समितिमा रिपोर्ट पठाउँछन् । महिलाको विषयमा नयाँ नयाँ कुराहरू आईरहेको छ, त्यस विषयमा हरेक क्षेत्रबाट आएका रिर्पोट हेर्ने र त्यसअनुसार सुक्ष्म रुपमा समिक्षा गरेर थप परिमार्जिनमा काम गर्ने यो समितिको काम हो । महिलामाथि भइरहेको विभेदको अध्ययन गर्ने र रोकथामका लागि ती राष्ट्रलाई सुझाव दिने गर्ने यसको मुख्य काम हो । महासन्धिमा परिमार्जित गर्नुपर्ने बुँदाहरुमा पनि काम हुन्छ ।
तपाइ सीड समितिमा निर्वाचित हुनुभयो । यसले नेपाली महिलालाई के फरक पार्छ ?
नेपाल एउटा सानो विकासोन्मुख देश हो । हामीलाई कतिपय देशले राजपरिवारको हत्या भएको देश भनेर चिन्छन् । अर्को दश वर्षसम्म भएको द्वन्द्वले चिन्छन् । म नेपालको प्रतिनिधि भएपछि यसमा संलग्न देशले त नेपालको महिलाले सीड समितिमा जितेर आएको भनेर आश्चर्य माने । यसमा म आएपछि नेपालका महिला पनि अन्र्तराष्ट्रिय क्षेत्रमा आउने सक्ने क्षमता राख्छन् भन्ने सकारात्मक सन्देश जान्छ भन्ने लागेको छ । म त्यहाँ नेपालको वास्तविक चित्रण दिन पाउँछु । गाउँस्तरको महिलाले भोग्नु परेका हिंसा मेरो आफ्नै अनुभवमा त्यहाँ प्रस्तुत गर्ने छु । त्यसले ग्रामीणस्तरको महिलाको हिंसा कम गर्न महत्वपूर्ण भूमिका रहन्छ भन्ने लागेको छ ।
नेपाल जस्तो देशबाट यस्तो शक्तिशाली समितीको सदस्य हुन कसरी सम्भव भयो ?
यो मेरो एक्लैको प्रयासले सफल भएको होइन । मेरो कामप्रति राष्ट्रले विश्वास गर्यो । चुनाव एकदमै प्रतिस्पर्धात्मक थियो । यस्तो अवस्थामा नेपाल जस्तो सानो राष्ट्रले लबिङका लागि पुँजी लगानी गर्न सक्ने अवस्था पनि छैन । त्यसमाथि नेपालमा पनि विज्ञहरू छन् भन्ने कमैलाई थाह छ । नेपाललाई चिन्नेले धेरै नकारात्मक पक्षबाट चिन्छन् । मेरो ग्रामीण क्षेत्रको महिलाको विषयमा गरेको अध्ययन, गरेको काम र युएनसँगको सहकार्यले पनि मलाई यो समितिमा निर्वाचित हुन सहयोग पुग्यो । महिलाको क्षेत्रमा काम गर्ने मेरो लगावले पनि उनीहरूको नजरमा पर्न सफल भएँ । यो मेरोमात्र नभएर महिलाको सामूहिक प्रयास र जित हो ।
यसमा सहभागी अन्य देशका प्रतिनिधिहरू बिच नेपालको बारेमा चिनाउन कत्तिको सहज छ ?
मैले भोट माग्ने क्रममा संयुक्त राष्ट्रसंघका एकसय उनानब्बे राष्ट्रमध्ये लगभग एक सय पचास राष्ट्रका प्रतिनिधिसँग भेटेँ । तीमध्ये उनान्सय प्रतिशतले मेरो कामप्रतिको लगाव देखेर अचम्म माने । चुनावको समयमा पनि तिमी एउटा दह्रो उम्मेद्वार हौ भनेर सबैले प्रोत्साहित गर्थे । मेरो काम देखेर जमाइकाका प्रतिनिधीले त मेरो प्रचार प्रसार समेत गरेकी थिइन् । उम्मेद्वार मध्ये फ्रान्सकी प्रतिनिधि पनि शक्तिशाली उम्मेद्वार थिइन् । उनले मेरो बारेमा अरुबाट सुनेर मलाई खोजी खोजी भेटिन् र मेरो काम गराईको लगावले तिमी नेपालको शक्तिशाली हौ भनेर शुभकामना दिइन् । त्यसैले मलाई लाग्छ नेपालमा महिलामाथि हुने हिंसा न्यूनिकरण गर्न सक्नु नै नेपाललाईचिनाउने बलियो पक्ष र यो मेरो लागि चूनौति पनि हो ।
नेपालबाट अन्य महिला अधिकारकर्मीहरूको प्रतिकृया कस्तो पाईरहनु भएको छ समितिमा निर्वाचित भएपछि ?
यो जितमा सबै खुशी हुनुभएको अनुभव गर्दैछु । किनभने यो जित मेरोमात्र नभएर हामी महिलाको जित हो भनेर प्रशंसा गरिरहनुभएको छ । संचारमाध्यामले सकारात्मक प्रतिकृया दिइरहनुभएको छ ।
Comment Here!