निरज सापकोटा
रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित शैलुङ्ग नुम्बुर नेपाली कागज कारखानामा २५ जना काम गर्छन् । जसमध्ये २३ जना महिला छन् । उनीहरू त्यहाँ काम मात्र गर्दैनन् त्यस कारखानामा उनीहरूको शेयर पनि छ । उनीहरूले भूकम्पपछिको जीविकोपार्जनमा द्रुत सुधार परियोजना अन्र्तगत सहयोग पाएपछि नेपाली कागज कारखानाबाट धेरै उत्पादन गर्न गालेका हुन् ।
सुरुमा मन्थलीमा बसोबास गर्ने जिल्ला भित्रका २० जना अगुवाले सो उद्योग स्थापना गरेका थिए । जेनतेन उद्योग चल्दै थियो । अर्गेली र लोक्ता पेल्दै, कागज बनाउँदै थिए । गतसाल विनाशकारी भूकम्प आयो, यसले उनीहरूको जीवनमा बहार ल्याइदियो । उक्त कारखानामा काम गर्ने २५ जना मजदुर मालिक बन्ने सौभाग्य पाए । अहिले उद्योग सञ्चालकहरू पनि खुसी छन् । “उद्योग दिगो हुने भयो” उद्योग सञ्चालक मध्येका एक भरत श्रेष्ठ भन्छन् । “अहिलेका मजदुरको माग पनि यही नै हो, जहाँ मजदुरले काम गर्छन् त्यहाँ उनीहरूको पनि केही हिस्सा हुनुपर्छ, अहिले मजदुर पनि मालिक भएका छन् ।”
सो कारखानामा काम गर्ने महिलाका अनुसार उनीहरू दिनको ५० वटा कागज बनाउँछन्, एउटा कागज बनाएबापत एक रुपैयाँ पाउँछन् ।
घाम लागेको दिनमा ५ सय वटासम्म कागज बनाउन भ्याउने उनीहरू बताउँछन् । यस उद्योगमा नेपाली कागज लोक्ता र अर्गेलीबाट बनाइन्छ ।
Comment Here!