महिला खबर
उदयपुर । सरकारी अस्पतालमा उपचारका लागि आएकी एक विरामीलाई आफ्नो नीजि अस्पतालमा लगेर मोटो रकम असुल्ने जिल्ला अस्पताल उदयपुरमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. धनिकलाल यादवले आईतबार रकम फिर्ता गरेका छन् । जिल्ला अस्पताल उदयपुरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. यादवले शुक्रबार जिल्ला अस्पतालमा उपचारका लागि आएकी जाल्पा चिलाउनेकी २६ वर्षीया विष्णुमाया तामाङलाई आफ्नै प्राईभेट अस्पतालमा आउन बाध्य पारेर मोटो रकम असुलेका थिए ।
विष्णुमायाका श्रीमान् पदमबहादुर तामाङका अनुसार पाँच महिनाकी गर्भवती श्रीमतीको अत्यधिक रक्तश्राव भई पेट दुखेपछि गत असार १५ गते जिल्ला अस्पताल उदयपुरमा जाँच गरिएको थियो ।
अस्पतालमा डा. यादवले जाँच र भिडियो एक्सरे गरेर बच्चा मरेको भन्दै पेटको बच्चा फाल्न आफूले काम गर्ने निजी त्रियुगा अस्पताल वा बाहिर नै लैजानुपर्ने बताएपछि खर्च अभावले तामाङ दम्पत्ति गाउँ फर्केका थिए ।
विरामीलाई झन्झन् च्यापेपछि ऋण खोजेर डा. यादवलाई भेट्न सरकारी अस्पताल पुगेका थिए । विहानै अस्पताल पुगेका तामाङ दम्पत्तिलाई दिनभरी कुराएर आफ्नै उनले आफनो निजी अस्पतालमा लगेर गर्भपतन गराई २२ हजार रकम असुलेको पदम बहादुर तामाङले बताउनुभयो ।
उक्त समाचार सार्वजनिक भएर डाक्टर यादवको गलत कामको चौतर्फी विरोध भएपछि अधिकारकर्मी र पत्रकारको रोहबरमा विरामीलाई रकम फिर्ता गरेको महिला अधिकारकर्मी माया भण्डारीले जानकारी दिनुभयो । डा. यादव यसअघि जिल्ला अस्पतालमा ढिलासुस्ति र लापरवाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्ने प्रकरणमा छानविनको दायरामा रहेका डाक्टर हुन् । उनी जिल्ला अस्पताल उदयपुरमा युनिसेफबाट तलब बुझ्नेगरी करारमा नियुक्त डाक्टर हुन् ।
Comment Here!