सर्मिला बुढाथोकी
दोलखा । पछिल्लो समयमा निजामती सेवामा महिलाको आकर्षण निकै बढेको छ । नीजि कम्पनीमा रोजगारीको सुरक्षा ग्यारेन्टी नहुने भएकोले महिलाहरू निजामती सेवामा बढी आकर्षित भएको निजामती सेवामा सक्रिय महिलाको भनाई छ ।
महिला तथा बालबालिका कार्यालय दोलखाकी महिला विकास अधिकृत लक्ष्मी ढकाललाई सानैदेखि निजामती सेवामा काम गर्ने रुची थियो । ‘विद्यालयमै पढ्दा सरकारी कर्मचारी कुर्सीमा बसेको देखेर मलाई पनि त्यस्तै काम गर्न मन लागेको थियो, त्यसैले लोकसेवाको लागि मेहेनत गरेर नाम निकालें, अहिले मेरो त्यो सपना पुरा भएको छ’ महिला विकास अधिकृत ढकालले भनिन् ।
अधिकृत ढकाल अहिले सरकारले निजामती सेवामा प्रवेश गर्न चाहने महिलाका लागि धेरै अवसर दिएकाले केही सहज भएको बताउँछिन् । महिला तथा बालबालिका कार्यालयले निजामती सेवामा प्रवेश गर्न चाहने महिलाका लागि आवश्यकता र मागको आधारमा लोकसेवाको कक्षा सञ्चालन गर्ने गरेको र त्यसले पनि महिलालाई सेवा प्रवेशमा निकै सहज भएको ढकालको भनाई छ ।
जिल्ला निर्वाचन कार्यालय दोलखको प्रमुख देवी पाण्डे खत्री आर्थिक रुपमा आफँै आत्म निर्भर हुनुपर्छ भन्ने मान्यताका कारण काम गर्ने निर्णयमा पुगेका बताउँछिन् । जागिरको राम्रो सुरक्षा हुने भएकाले आफ्नो कामको रोजाई निजामती सेवा भएको उनको भनाइ छ ।
निजामती सेवामा प्रवेश गर्न श्रीमानले पनि सघाएको पाण्डे बताउँछिन् । आत्मविश्वास र लगनशीलता भयो भने लोकसेवाको परिक्षा उर्तिण गरी सजिलै निजामती सेवामा प्रवेश गर्न सकिने उनको अनुभव छ ।
दोलखा जिल्लामा अहिले महिला तथा बालबालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला न्यायधिवक्ता (सरकारी वकिल) को कार्यालयमा गरी तीन वटा कार्यालयका प्रमुख रहेका छन् भने बोच, मागापौवा, लादुक र लामिडाँडा गाविस गरी ४ जना गाविस सचिव महिला रहेका छन् । त्यसैगरी अन्य विभिन्न तहका कर्मचारी गरी करिब ५० जना महिला निजामती सेवामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले जानकारी दिए ।
कालिञ्चोक सामुदायिक रेडियोले सञ्चालन गरेको वहस कार्यक्रममा सहभागी महिला कर्मचारीले सरकारले महिलाका लागि सुत्केरी भत्ता, सुत्केरी विदा, अध्ययन विदा, महिलामैत्री कार्यालय जस्ता कुरालाई प्राथमिकता दिने र निजामती सेवामा प्रवेश गर्न चाहने महिलाले आपसमा सहयोगी भावना विकास गर्ने हो भने महिला कर्मचारीको संख्या अझै बढ्ने बताएका थिए ।
गाविस सचिव मञ्जु पोखरेलले आफू जनतासँग सम्पर्क बढाउन र सेवा गर्न निजामती सेवामा प्रवेश गरेको बताइन् । लोकसेवाको तयारी गर्ने क्रममा पुरुषको पनि सहयोग हुने र सरकारले पाएक पर्ने स्थानमा लोक सेवा कक्षाको व्यवस्था गर्ने, सिशु स्याहार केन्द्रको व्यवस्थापन गर्ने, अध्ययन केन्द्रमा महिला अनुकूल वातावरण निर्माण गर्ने हो भने महिला सहभागिता अझ बढ्ने उनको विश्वास छ । निजामती सेवामा प्रवेश गरेर महिलाले पुरुषले भन्दा पनि उत्कृष्ट काम गर्न सक्ने दावी गर्दै उनले त्यसका लागि घर परिवारदेखि सबैको सहयोग हुनुपर्ने समेत बताइन् ।
Comment Here!