लीलाराज भट्टराई
मोरङ । उर्लावारीकी मीना वरालले चालिस जना बालबालिकालाई स्याहार्छिन् । जन्म दिएका वावुआमा गुमाएर अनाथ वनेका वालवालिकाको भरपर्दो सहारा वनेकी वराल चालिस जना वालवालिकालाई कर्म दिने आमा बनेकी छन् । उनलाई सवै वालवालिकाले मीना आमा भनेर वोलाउँछन् । उनको हात समाएर टुकुर टुकुर हिँडन पाउँदा औधी खुशी हुन्छन् । मीना आमा कतै गइन् भने वालवालिका उनी आउने वाटो कुरेर वस्छन् ।
फरक फरक आमा वुवा ,फरक ठाँउ,फरक संस्कृति, तर नियतिले सवैलाई एकै ठाँउ भेला गरायो । अहिले सवैकी एकै जना आमा छन् । उर्लावारीस्थित महिला विकास तथा वालवालिका चेतना केन्द्रमा मीना आमाको न्यानो काख पाएर २३ जना वालिका र १७ जना वालक आफ्नो सुन्दर भविष्यको सपना देखेको छन् । वालवालिका चेतना केन्द्र उर्लावारीमा ताप्लेजुडदेखि मुगुसम्मका विभिन्न जातजाती, भाषाभाषी र समूदायका वालवालिकाले आश्रय पाएका छन् ।
आफ्नो १० वर्षकै उमेरमा विवाह भएपनि दाम्पत्य जीवन सुखद हुन नसकेर मीना एक्लै थिइन् । आफ्नो कोखवाट जायजन्म भएन । तैपनि उनले अहिले चालिस जना वालवच्चालाई मातृत्व दिइरहेकी छन् । ‘वालवच्चासँग हुँदा असिम आनन्द हुन्छ’ उनले भनिन् । यीनैको लालन पालन र शिक्षा दीक्षामै आफ्नो जीवन समर्पित गरेको उनले बताइन् । मीनाले आफ्नो भएभरको सम्पतिसमेत वालगृहलाई नै सुम्पिएकी छन् । मोरङको उर्लावारी वजारमा रहेको उनको घरसहित एक करोड वढीको जमिन वालगृहकै नाममा पास गरेको उनले बताइन् ।
उर्लावारीमा १६ वर्षअघि एउटा सानो जस्तापाताले छाएको छाप्रोमा सुरु गरिएको थियो वाल गृह । मीना वराल र अन्य समाजसेवीको संयुक्त प्रयासमा सुरु भएको यो वालगृह अहिले दुइतले पक्की भवनमा छ । २०५९ सालमा सात महिना चौध दिनकी अनाथ वालिका नमूनाले त्यो भवन शिलान्यास गरेकी थिइन् । उनैको नामवाट वालगृहको नाम नमूना वालगृह राखिएको हो । जन्मेको दिन देखिनै मीनाले पालनपोषण गरेकी नमूना अहिले सात कक्षामा पढ्छिन् ।
नमूना वालगृहमा रहेका वालवालिका सवै स्कुल जान्छन् । वालगृह भित्रैपनि नमूना शिक्षा सदन प्रावि सन्चालित छ । त्यहाँ अहिले दुई कक्षासम्म पढाइ हुन्छ । त्यो भन्दामाथि पढ्न अन्य विद्यालय पठाइन्छ । यो वर्षको एसएलसी परीक्षामा वालगृहका तीन जना विमला वस्नेत,गंगा घिमाल र नवराज वस्नेत उर्तीण भए । गतसाल एसएलसी पास गरेका हेमन्त तामाङ पढाइमा अब्बल रहेको मीना बताउँछिन् । एघारको रिजल्ट कुरेर वसेका हेमन्त अहिलेसम्म दोश्रो भएका छैनन् ।
चालिस जना वालवालिकाको पालन,पोषण र शिक्षा दीक्षा कम चूनौतिपूर्ण छैन । महिना दिनमै कम्तिमा डेढलाख रुपैयाँ खर्च हुन्छ । यो खर्च जुटाउन रातदिन नखटि धान्न समस्या छ । उनी तिहारमा देउसी खेल्दै घर घर पुगेर वालगृहको खर्चको जोहो गर्छिन्, अनि मंसीरमा बोरा वोकेर आश्रमका पदाधिकारी धान उठाउन घरघरै र खेतमा पुग्छन् ।
वालगृह चलाउन गाइ पालिएको छ । एउटा एम्वुलेन्स समेत सन्चालनमा छ । सरकारी गैरसरकारी संस्थाले अहिलेसम्म गतिलो सहयोग नगरेको उनी बताउँछिन् । गैरसरकारी संस्थावाट त सहयोग आएकै छैन, सरकारवाट पनि सहयोग नपाएको मीना बताउँछिन् । तर, अनाथ वालवालिकाको सेवामा सर्मपित भएको भन्दै उनलाई गतसाल सरकारले सामाजिक सेवा पुरस्कारवाट सम्मान गरेको थियो ।
Comment Here!