सर्मिला बुढाथोकी
दोलखा । होचो कद, आर्कषक पहिरन, मधुर बोली र प्रफुल्लित मुहार । गायिका एवं कोरियोग्राफर दिलु थापा मगरको पहिचान हो यो । तर यतिमामात्र उनको पहिचान सकिँदैन, उनी भित्रको बहुआयामिक व्यक्तित्वले वास्तविक पहिचान खुलाउँछ ।
कला, साहित्य र सङ्गीतको वातावरण त दोलखा सदरमुकाम चरिकोटमा दशकौ अघिदेखि बनेको थियो । तर कला र सङ्गीतको व्यवस्थित वातावरण भने दुईवर्ष अघिबाट मात्र सुरु भयो, जतिबेला दिलु थापा मगर विवाह गरेर दोलखा प्रवेश गरिन् । पाँचवर्षअघि अन्तरजातिय विवाह गरेकी दिलुले आफूभित्र रहेको नृत्य, सङ्गीत र गायन प्रतिभा अरुसँगपनि बाँडेपछि अहिले सदरमुकाम चरिकोटमा हुने हरेक कार्यक्रम सङ्गीतमय हुने गरेको छ । दुईवर्षको अवधिमा उनले उत्पादन गरेका एक हजार भन्दा बढी नृत्य तथा सङ्गीतकर्मीले जिल्लाको हरेक कार्यक्रमलाई उत्साहित बनाउने गरेका छन् ।

उनले कोरियोग्राफी गरेको नृत्य प्रस्तुत गर्दै कलाकार
कार्यक्रममा के राजनीतिज्ञ, के कार्यालय प्रमुख, के व्यवसायी सबैलाई नयाँ उत्साह र खुशी दिने गरेका छन् । जेठ २० देखि २६ गतेसम्म दोलखा सदरमुकाम चरिकोटमा आयोजना भएको राष्ट्रिय नाटक महोत्सवमा देशका विभिन्न भागबाट ल्याईएको नाटकसँगै जिल्लाको सांस्कृतिक पहिचान झल्कने नाटक प्रस्तुत गरेर दिलुले आफ्नो अभियानमा परिपक्वताको परिचय समेत दिएकी छन् ।
दिलुको जन्म २४ वर्ष अघि हङ्कङमा भएको हो, जतिबेला उनको वुवा बेलायती सैनिक थिए । हङ्कङ हुँदै पुर्खेली घर सुर्खेत पुगेकी उनले त्यहीबाटै औपचारीक शिक्षा लिएकी हुन् ।
‘बाल्यकालमा मैले वकिल या पत्रकार बन्ने सपना बुनेकी थिएँ’ दिलुले भनिन् । तर आमाबाबुको कलाकार बनाउने चाहनाले समुन्द्रको छालले जसरी मलाइ कला र सङ्गीतको दुनियामा हुत्याईदियो । यही क्षेत्रमा लागेका उनका साथी सङ्गी भेटिँदै छुट्दै गर्ने क्रम चलिरह्यो,तर उनी गीतसङ्गीतमा टिकेर बसिन् । चरिकोटमा नेपाल फाइन आर्टस् नामको साङ्गीतिक संस्था स्थापना गरेकी उनलार्ई अहिले असारको पन्ध्र जस्तै भ्याई नभ्याई छ ।
समय र माग अनुसार आईटम सङ्गीत र नृत्य दिनुपर्छ – दिलु भन्छिन् । तर आईटम नृत्यको पहिरन्ले उनलाई कहिलेकाहीँ विवादित पनि बनाउने गरेको छ । पाश्चात्य शैलीको नृत्य र भड्किलो पहिरन भनेर समाजले कुरा काट्दा उनलाई दुःखी पनि बनाउने गरेको छ । हामी आफू भड्किलो बन्नु हुँदैन, तर गीत सङ्गीत त समय र समाजको माग अनुसार पस्किनै पर्छ नी ! मन्द मुस्कानसहित उनले प्रष्ट्याईन् ।
नेपाल सङ्गीत विद्यालयबाट तीनवर्षे साङ्गीतिक अध्ययन पुरा गरेकी दिलुले विद्यालयस्तरबाटै नृत्यमा कहिल्यै दोस्रो बन्नु परेको छैन रे । ‘ नेपाल सङ्गीत विद्यालयमा पढ्दै गर्दा सहायक कोरियोग्राफर बन्ने सौभाग्य मिलेपछि त झन कला र सङ्गीतको भोकले मलाई कहिल्यै छोडेन’ उनले भनिन् ।
भोकल र किर्वोडमा समेत विशेष दख्खल राख्ने दिलु सङ्गीतलाई संस्कृतिको जर्गेना गर्ने कुरामा उत्प्रेरित गर्नुपर्ने र सङ्गीतकै माध्यमबाट आफ्नो गाँउ ठाँउको पहिचान दिन सक्नुपर्ने बताउँछिन् । सुरुमा दोलखा जिल्लामा तामाङ सेलोको बढी बाहुल्य रहेको अनुभव सङ्गालेकी दिलुले अहिले झ्याउरे, देउडा, टपाजस्ता पश्चिमेली भाकाको सङ्गीत पनि दर्शकले मन पराएकोमा खुशी व्यक्त गरिन् । ‘सङ्गीत सभ्यताको पहिचान हो, यसले हाम्रो समाज र राष्ट्रको गरिमा वढाउने काम गर्छ’ दिलुले भनिन् ।
Comment Here!