सुमित्रा के सी
रुकुम । घेत्माका महिला जलवायु परिवर्तन अनुकुलनमा जुट्न थालेका छन् । पानीको मुहान सुकेर समस्या हुन थालेपछि स्थानीय महिला अनुकुलनमा जुटेको बताउँछन् ।
दुई घण्टाको बाटो हिँडेर ल्याएको पानीले नुहाउन, कपडा धुन, भाँडा माझ्न र गाई वस्तुलाई खुवाउन निकै समस्या थियो । भेरी नदीको पानी पिउँदा विभिन्न खाले रोग तथा महामारी फैलिने गरेको थियो ।
उनीहरू अहिले खानेपानीको मुहान संरक्षण गर्ने र धारा बनाउने काममा व्यस्त छन् । पानीको अभावमा महिलालाई बढी समस्या पर्ने गरेको थियो । पानीको मुहान संरक्षण गर्दा महिलालाई राहत पुगेको पानीको मुहान संरक्षण उपभोक्ता समितिकी अध्यक्ष अमृता पुनले बताइन् । ९ जना सदस्य रहेको खाने पानीको मुहान संरक्षण समितिमा ५ जना महिला छन् ।
स्थानिय महिलाको पहलमा जिल्ला विकास समिति रुकुम, जलवायु परिवर्तन सहयोेग कार्यक्रमको २ लाख रुपैयाँ सहयोग र ३९ हजार ९ सय ९१ जनश्रमदान गरी जम्मा २ लाख ४० हजार रुपैयाँको लागतमा धारा बनाएका छन् ।
त्यस्तै गरी चाईनाबगरका महिलाले सानी भेरी नदि छेउमा रहेको खेतमा २ लाख सहयोग तथा ५२ हजार ७ सय रुपैयाँ बराबरको जनश्रमदान गरी जम्मा २ लाख ५२ हजार रुपैयाँको लागतमा २३ मिटर लामो पक्की बाँध बनाएका छन् । नदी छेउका खेतमा बाली लगाउँदा बाढी आएर नष्ट गर्ने गरेको थियो । पक्की बाँध निर्माण गरेपछि यस वर्षदेखि किसानले अहिले धान रोप्ने तयारी गरी रहेका छन् ।
जलवायु परिवर्तनले खानेपानीका मुहानहरू सुक्दै गईरहेको अवस्थामा खानेपानीको मुहान संरक्षण गर्नाले जलवायु परिवर्तन अनुकलनमा महत्वपुर्ण टेवा पुगेको जिल्ला विकास समिति रुकुम, जलवायु परिवर्तन सहयोेग कार्यक्रमका जिल्ला संयोजक भक्त भण्डारीले बताए ।
हाल रुकुम जिल्लाका पुर्तिमकाँडा, दुली, घेत्मा, मग्मा, चौखाबाङ, रुकुमकोट, चुनबाङ अर्मालगायतका ८ वटा गाविसमा जलवायु परिवर्तन सहयोग कार्यक्रमले महिलामैत्री जलवायु परिवर्तन अनुकुलनका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
Comment Here!