भिम सिजापति
दैलेख । सदरमुकाममा थुप्रै बेरोजगार युवायुवती भेटिन्छन् । कोही कामको खोजीमा गैरसरकारी संघ संस्था धाउँछन् त कोही रोजगारीको सिलसिलामा विदेश जानको लागि पासपोर्ट बनाउँन जिल्ला प्रशासन कार्यालय धाइरहेका भेटिन्छन् ।
हातमा सीप नहुँदा यसरी अरुले कामका दिन्छन् की भनेर धाउनुपर्ने बाध्यता हो । तर सुखी र खुसी जीवन विताउन लागि त सीप पो चाहिन्छ । गरे के हुन्न भन्ने एक उदाहरण बनेकी छन् दैलेखकी प्रकृति थापामगर ।
उनले अहिले सिलाई कटाईको काम गरेर दैनिक ४/५ सय त कहिले काहीँ एक हजार रुपैयाँसम्म आम्दानी गर्छिन् पाँचवर्ष अघि सिलाई कटाई तालिम लिएकी उनले अहिले यही व्यवसायबाट राम्रो आम्दानी गरिरहेकी छन् ।
सदरमुकाममा सानो भाडाको कोठामाले उनले तीनवटा लुगा सिलाउने मेशिन राखेकी छन् । उनले महिला र पुरुष दुवैका लुगा सिलाउँछिन् । प्रकृतिले २ वर्षअघि आफ्नै सानो लगानीमा यो व्यवसाय सुरु गरेकी हुन् । ‘सुरुकै दिनदेखि कामको खाँचो छैन’ उनी भन्छिन् ।
श्रीमान् पत्रकारिता गर्छन्, श्रीमानको नाम राम्रो छ, तर दाम छैन’ उनले भनिन् ।श्रीमानको कमाईबाट हातमुख जोर्न र कोठा भाडा तिर्न मुश्लिक पर्ने उनको भनाइ छ ।
दश जोड दुई पास गरेकी उनले सिलाई कटाई सम्वन्धि तालिम लिएपछि जिविकोपार्जनमा सहज भएको बताइन् । पसलको सबै खर्च कटाउँदा महिनामा सरदर पन्ध्र/ वीस हजार रुपैयाँ कमाई हुन्छ । ‘घर बसेर त्यसै बित्ने समय काम गरेर भएको आम्दानीले भनेको बेला सुखले मिठो मसिनो खान पाइएको छ’ उनले भनिन् । अहिले त चाहिएको ठाउँमा खर्च गर्ने पैसा अरुसँग माग्न नपर्दा खुशी लागेको उनी बताउँछिन् । उनको पसलमा आज भोली कामको चाप पनि बढेको छ त्यसैले उनले अरु सहयोगी पनि राख्ने योजना बनाएकी छन् ।
उनीसँग तालिम लिने धेरैले अहिले यही व्यवसायमार्फत स्वरोजगार बनेको प्रकृित बताउँछिन् । तालिम लिएकामध्ये सबैजसोले आफैंले पसल खोलेका छन् । थोरै लगानीबाट पनि व्यवसाय गर्न सकिने हुँदा अरुकोमा काम खोज्नु भन्दा आफ्नै व्यवसाय गर्न फाइदा हुने हुनाले सिलाइकटाइ तिर धेरै महिला आकर्षित हुन थालेको उनको अनुभव छ ।
Comment Here!